काठमाडौं । जीवन बीमा कम्पनीहरुले यो चैत महिनामा भोलि २७ गतेसम्म मात्र बीमा प्रस्ताव पाउने भएका छन्।
नेपाल बीमा प्राधिकरण जारी गरेको निर्देशनबमोजिम जीवन बीमा कम्पनीहरुले भोलि २७ गतेसम्म बीमा प्रस्ताव स्वीकार गर्न पाउने भएका हुन्। प्राधिकरणले २०८१ साउन ३१ गते एउटा निर्देशन जारी गर्दै प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै पनि बीमा प्रस्ताव स्वीकार गर्न नपाउने व्यवस्था गरेको छ।
चैत मसान्तपछि तेस्रो त्रैमासिक सकिन्छ। प्राधिकरणको यो प्रावधानले अब जीवन बीमकले यो महिना २७ गतेसम्म मात्रै बीमा प्रस्ताव स्वीकार गर्न पाउनेछन्। किनकि शनिबार २८ गते र आइतबार २९ गते परेको छ। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आउँदो सोमबार चैत ३० गते बीमा कम्पनीहरुले कुनै पनि बीमा प्रस्ताव स्वीकार गर्न पाउने छैनन्। तर, अघिल्लो दिन अर्थात कारोबार दिन २७ गतेसम्म स्वीकृत प्रस्तावहरुका लागि भने कम्पनीहरुले बीमालेख जारी गर्न पाउनेछ।
त्यसो त सोही निर्देशनमा प्राधिकरणले जीवन बीमा अभिकर्ताहरुका लागि बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा तथा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पूरा गरिसक्नुपर्ने र २८ गतेपश्चात गरिने बीमालाई सोही महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश नगरी अर्को महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश गर्नुपर्ने प्रावधान ल्याएको थियो। तर, पछि २०८२ असार २४ फेरि अर्को सूचना जारी गर्दै यो प्रावधान झन्झटिलो भएको भन्दै प्राधिकरणले हटाएको थियो।












