काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज चैत २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले निष्काशन अवधि २०८३ बैशाख ७ गतेसम्म लम्ब्याएको भएपनि मागभन्दा बढी आवेदन परेका कारण आज बैंकिङ्ग समयपश्चात निष्काशन बन्द गर्न लागेको हो।
कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये २८ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमूल्य १८ लाख ५२ हजार ५०० कित्ता शेयर अति प्रभावित क्षेत्र सुदूरपश्चिमत प्रदेश, बझाङ जिल्ला अन्तर्गतका बुंगल नगरपालिका वडा नं १, २ र ४ का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ भने बाँकी रहेको ९ लाख ९७ हजार ५०० कित्ता बुंगल नगरपालिकाको वडा नं ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ।
सो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
स्थानिय बासिन्दाले लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै पावर हाउस विरावगर, बुंगलबाट पनि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।












