काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को सात महिना (साउन–माघ)सम्म बीमा कम्पनीहरुले करिब पौने ४१ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघसम्म कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। जसमा जीवन बीमा कम्पनीहरुबाट २४ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ भुक्तानी भएको छ। यो भुक्तानी १ लाख २३ हजार ९२ वटा दाबीको हो।
अघिल्लो वर्ष जीवन बीमकहरुले १ लाख २४ हजार ७१० वटा दाबीको २४ अर्ब ५९ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको दाबी भुक्तानी संख्या १.३१ प्रतिशतले घट्दा दाबी भुक्तानी रकम १.२१ प्रतिशतले बढेको छ।
यसैगरी चालु आर्थिक वर्षको माघसम्म निर्जीवन बीमकहरुले ८३ हजार ८१९ वटा दाबीको १५ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमकहरुले ७६ हजार ९३७ वटा दाबीको ११ अर्ब ९५ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको दाबी संख्या र रकम क्रमशः ८.९४ प्रतिशत र ३२.३० प्रतिशतले बढेको छ।
गत भदौको जेनजी आन्दोलन र असोजको बाढीपहिरोले ठूलो भौतिक क्षति पुर्याएका कारण निर्जीवन बीमकहरुको दाबी भुक्तानी रकम बढेको हो।
अझै रु. ५६.३५ अर्बको दाबी भुक्तानी बाँकी
चालु आर्थिक वर्षको माघसम्मको तथ्यांक हेर्दा जीवन र निर्जीवन बीमकहरुले अझै ५५ अर्ब ६० करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ। जसमा जीवन बीमकहरुले ६० हजार ४५१ वटा दाबीको ५ अर्ब ४५ करोड १८ लाख रुपैयाँ र निर्जीवन बीमकहरुले १ लाख १६ हजार ४२१८ वटा दाबीको ५० अर्ब १४ करोड ९६ लाख रुपैयाँ रहेको छ।












