काठमाडौं । प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आइपिओ निष्कासन गरेको रिलायन्स स्पिनिङ्ग मिल्सको दोश्रो बजारमा पहिलो कारोबारको मूल्य रेञ्ज १०० रुपैयाँ देखि ३०० रुपैयाँसम्म तोकिएपछि शेयर बजारमा ठूलो बहस सिर्जना भएको छ । आईपीओ भर्ने लगानीकर्ताले सुरुमा नै घाटा खाने अवस्था सिर्जना भएसँगै केही लगानीकर्ता आक्रोशित पनि भएका छन् ।
प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ निस्काशन गरेको कम्पनीको लगानी उठ्नको लागि निरन्तर ११ दिन सर्किट लाग्नु पर्ने भएको छ । निरन्तर ११ दिनको माथिल्लो सर्किट पश्चात् मात्र कम्पनीको बजार मूल्य र आईपीओ निष्कासन भएको मूल्य बराबर हुने भएको छ ।
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँसम्म मूल्य रेञ्ज दिएको छ । यसको अर्थ यदि स्पेसल प्री ओपनिंग सेशनमा कम्पनीको ३०० रुपैयाँमा कारोबार भएमा कम्पनीको बजार मूल्य त्यो दिन १० प्रतिशत वृद्धि भएर ३३० रुपैयाँसम्म कारोबार हुने छ । यदी निरन्तर ११ दिनको कारोबारमा प्रत्यक दिन १० प्रतिशत मूल्य बढेमा मात्र कम्पनीको बजार मूल्य र आइपिओ निष्कासन मूल्य एउटै हुने छ ।
माथिको अवस्था लाई हेर्दा ११ दिनको कारोबारले आईपीओ हालेका लगानीकर्ताको लगानी उठ्ने भए पनि त्यो अवधिमा कसले शेयर बेचेर कारोबार गर्ने भन्ने प्रश्न उठेको छ । यस्ले गर्दा कारोबारमा केही अन्योलता आउन सक्ने सम्भावना पनि छ।













