काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस शेयरका लागि नेको इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले शेयरमूल्य समायोजन गर्दै नेको इन्स्योरेन्सको प्रतिकित्ता ६३५.८३ रुपैयाँ कायम गरेको हो। बिहीबारको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ६५४.९० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नेको इन्स्योरेन्स शेयर कारोबारमा आउनेछ।
कम्पनीले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ यही माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो माघ २२ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य भएका छन्।
कम्पनीले आफ्नो ३० औँ वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको नक्सालस्थित रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ३ प्रतिशत बोनस शेयर र करसहित १२.७८९४ नगद लाभांश छन्।
सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै रायसुझाव वा फेरबदल गर्न निर्देशन भएमा सोहीमोजिम गर्न सञ्चालक समितिको अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष२०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।












