काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आइपीओको बाँडफाँड भोलि माघ १२ गते हुने भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा ९ बजे आइपीओ बाँडफाँड हुने जनाएको छ ।
अन्तिम दिनसम्म आइपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबर आवेदन परेको छ । यो मागभन्दा ३.८६ गुणा बढी आवेदन हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २ करोड कित्ता आइपीओ निष्कासनको अनुमति पाएको छ। यसमध्ये आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० लाख कित्ता बाँडिएको छ। बाँकी ९० लाख कित्तामध्ये ५ लाख सामूहिक लगानी कोषका लागि, ३ लाख कर्मचारीका लागि सुरक्षित गरी बाँकी ८२ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो।
आइपीओ बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकले १० कित्ता शेयर पाउने हुँदा ८ लाख २० हजार जनाले मात्रै शेयर पाउने छन् भने बाँकी १७ लाख ४० हजार ४ सय २२ जनाको हात खाली हुनेछ ।












