काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक पदमा नियुक्त डा. कृष्ण प्रसाद पौडेलले बुधबार पदभार ग्रहण गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्वविहीन अवस्थामा रहेको बोर्डलाई गति दिन मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखका रूपमा कार्यरत डा. पौडेललाई ‘निमित्त’ कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।
राजनीतिक हस्तक्षेपका कारण बोर्डका कार्यकारी निर्देशकहरूमध्ये अधिकांशले निर्वाधरूपमा पूर्ण कार्यकाल काम गर्न पाएका छैनन् ।

यसअघिका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले स्वास्थ्य मन्त्रीसँगको मतभेदका कारण कार्यकाल पुरा नहुँदै गत आइतबार राजीनामा दिएर बाहिरिएपछि यो पद रिक्त रहेको थियो। काफ्लेलाई तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पाैडेलको सिफारिशमा मन्त्री परिषदले २०८१ फागुन २७ गते कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो।












