IME Life New

जापानको बीमामा ३४ वर्षदेखिको घोटाला बाहिरियो, नेपालको बीमा कम्पनीका लागि पाठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानको प्रुडेन्सियल लाइफ इन्स्योरेन्समा भएको ३४ वर्ष लामो वित्तीय घोटाला र करिब ३.१ अर्ब येनको ठगी प्रकरणले विश्वभरको बीमा क्षेत्रमा तरंग ल्याएको छ। नेपालको जीवन बीमा बजार तीव्र गतिमा विस्तार भइरहेको र विभिन्न कम्पनी आपसमा गाभिएर ठूलो आकार लिएको अहिलेको अवस्थामा यो घटनाले नेपाली बीमा क्षेत्रका लागि पनि गम्भीर पाठहरु सिकाएको छ।

जापानको यो घटना कुनै आकस्मिक दुर्घटना नभएर संस्थागत सुशासनको कमजोरी र गलत कार्यशैलीको उपज हो। नेपालका बीमा कम्पनीको सञ्चालक समिति र उच्च व्यवस्थापनले यो प्रकरणबाट सिक्नुपर्ने केही पाठ यस्ता छन्ः

Esewa
Crest

बिक्री केन्द्रित मोडेलको जोखिम र कमिसनको दबाब

जापानमा ठगी हुनुको एउटा मुख्य कारण प्रथम बीमाशुल्क बिक्रीमा आधारित कमिसन थियो। नेपालमा पनि अभिकर्तालाई नयाँ व्यवसाय ल्याउन ठूलो दबाब र प्रलोभन दिइन्छ।

नेपाल बीमा प्राधिकरणले हालै जारी गरेको जोखिममा आधारित पुँजी निर्देशिका २०८२ अनुसार कम्पनीहरुले केवल व्यापार बढाउने मात्र नभई व्यवसायको गुणस्तरमा ध्यान दिनुपर्छ। प्राधिकरणले परिपत्रमार्फत जीवन बीमकलाई नवीकरण बीमाशुल्कलाई पनि प्राथमिकतामा राख्न निर्देशन नै दिएको छ। बीमा अभिकर्तालाई नयाँ बीमालेख बेच्नमात्र प्रोत्साहित गर्दा उनीहरुले ग्राहकलाई झुक्याउने वा नक्कली स्किम देखाउने जोखिम रहन्छ।

चर्चित अभिकर्ता र अपारदर्शी कार्यशैली

प्रुडेन्सियल जापानमा धेरै व्यापार गर्ने अभिकर्ताहरुलाई भगवानसरह मान्ने र उनीहरुका गल्तीलाई नजरअन्दाज गर्ने संस्कृति थियो। नेपालमा पनि एमडीआरटी र टीओटीजस्ता उपाधि प्राप्त गर्ने अभिकर्ताको पहुँच र प्रभाव कम्पनीको नीतिभन्दा माथि हुने गरेको देखिन्छ। उच्च व्यवस्थापनले उनीहरुलाई व्यापार भित्र्याउन सहजीकरण गर्ने नाममा अस्वाभाविक नीतिगत सहयोग गरिदिएका हुन्छन्।

कुनै पनि उच्च कार्य सम्पादन गर्ने अभिकर्ता वा कर्मचारीलाई संस्थाको नियम र अनुपालनभन्दा माथि राख्नु हुँदैन। कम्पनीका उच्च नेतृत्वले ठूला अभिकर्ताहरुको गतिविधिलाई निरन्तर निगरानी गर्नुपर्छ।

डिजिटल भुक्तानी र ग्राहकसँगको प्रत्यक्ष सम्पर्क

जापानमा कर्मचारीहरुले ग्राहकबाट व्यक्तिगत रुपमा बीमाशुल्क संकलन गर्ने वा कम्पनीको नाममा आफैँले पैसा बुझ्ने गरेको पाइयो। नेपालमा अझै पनि धेरैजसो बीमा शुल्क अभिकर्तामार्फत नगदै बुझाउने चलन छ। जसलाई प्रिमियम ल्याप्सिङ भनिन्छ।

डिजिटल बीमालेख निर्देशिका २०८१ लाई पूर्ण पालना गर्दै ग्राहकलाई डिजिटल वालेट वा सीधै बैंकमार्फत भुक्तानी गर्न प्रोत्साहित गर्नुपर्छ। ग्राहकले पैसा बुझाउनेबित्तिकै बीमकको प्रधान कार्यालयबाट पुष्टि सन्देश एसएमएस जाने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ।

सञ्चालक समितिको भूमिका र सुशासन

जापानको घटनामा सञ्चालक समितिले सम्भावित जोखिमका बारेमा पर्याप्त बहस नगरेको देखियो। नेपालका बीमा कम्पनीहरुमा पनि बोर्ड बैठकहरु प्रायः मुनाफा र मर्जरका कुरामा मात्र केन्द्रित हुने गरेका छन्।

कम्पनीको बोर्डले सञ्चालन जोखिमलाई अजेन्डा बनाउनुपर्छ। ठगी र आचरणसम्बन्धी उजुरी सुन्नका लागि एउटा स्वतन्त्र खबरदारी संयन्त्र बनाउन आवश्यक छ। जहाँ कर्मचारी वा ग्राहकले डराउनु नपर्ने वातावरण होस्। यस्तो संयन्त्र सम्बन्धमा बीमकको संस्थागत सुशासन निर्देशिकामा समेत व्यवस्था गरिएको छ।

कर्मचारी अवकाशपछिको जोखिम व्यवस्थापन

प्रुडेन्सियल जापानमा करिब आधा ठगी कर्मचारीले जागिर छोडेपछि गरेको देखियो। नेपालमा अभिकर्ता वा कर्मचारीले कम्पनी छोडेको कुरा ग्राहकलाई थाहै हुँदैन र उनीहरुले पुरानै सम्बन्धका आधारमा पैसा बुझाइरहेका हुन्छन्। कुनै अभिकर्ता वा कर्मचारीले संस्था छोडेमा उसले हेरिरहेका ग्राहकहरुलाई तुरुन्तै एसएमएस वा पत्रमार्फत जानकारी दिने प्रणाली विकास गर्नुपर्छ।

नेपालको जीवन बीमा क्षेत्रमा अहिले सञ्चालन जोखिम एउटा ठूलो बेलुन जस्तै फुलिरहेको छ। जसलाई नेतृत्वले कार्पेटमुनि लुकाइरहेको आरोप लाग्ने गरेको छ। जापानको यो घटनाले चेतावनी दिएको छ कि यदि नैतिकता र प्रविधिलाई सँगै लगिएन भने दशकौँसम्म लुकेको ठगीले अन्ततः कम्पनी नै धराशायी बनाउन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS