काठमाडौं । आर्थिक समृद्धि र सामाजिक हित अभिवृद्धिमा लघु, साना तथा मझौला उद्योगहरु (एमएसएमईएस) को भूमिका महत्वपूर्ण रहेको छ। यस्ता उद्योगहरुले रोजगारी सिर्जना, मूल्य अभिवृद्धि, नवप्रवर्तन र सशक्तीकरणका माध्यमबाट आर्थिक तथा सामाजिक लक्ष्य प्राप्तिमा योगदान पुर्याउँछन्।
नेपालको सन्दर्भमा (एमएसएमईज)ले औद्योगिक प्रतिष्ठानहरुको ९९.८ प्रतिशत (९ लाख २३ हजार ३५६ कुल प्रतिष्ठान), संलग्न जनशक्तिको ८४.७ प्रतिशत (३२ लाख २८ हजार ४५७ कुल जना), वार्षिक बिक्रीको ६२.२ प्रतिशत (रु. २९१५.६ अर्ब कूल बिक्री) र महिला व्यवस्थापकद्वारा सञ्चालित प्रतिष्ठानहरुको ९९.९६ प्रतिशत (२ लाख ७३ हजार४३६ प्रतिष्ठान महिला सञ्चालक) हिस्सा लघु, साना तथा मझौला उद्योगको रहेको छ।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लघु, साना तथा मझौला उद्योगहरुको स्थापना र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यद्यपि, यस्ता कार्यक्रमहरुको प्रभावकारिता मापन गर्ने कार्य पर्याप्त र नियमित हुन सकेको छैन।
नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयले विशेष अध्ययन कार्यक्रमअन्तर्गत चितवन र मकवानपुर जिल्लाका ३२१ वटा उद्योगबाट तथ्यांक संकलन गरेको छ। बहुचरणीय स्तरीकृत नमुना छनोट विधिमार्फत छानिएका ती उद्योगबाट प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट प्रश्नावली भराई तथ्यांक संकलन गरिएको थियो। अध्ययनमा वर्णनात्मक तथ्यांक, रेखाचित्र र विश्लेषणात्मक विधिहरुको प्रयोग गरी उद्योगको कार्यसम्पादनलाई प्रभाव पार्ने कारकहरुको परीक्षण गरिएको छ।
यसका मुख्य निष्कर्षहरु निम्नबमोजिम छन्ः
- कारोबारको आधारमा कार्यसम्पादन अवधारणा सर्वेक्षण ५२.७ प्रतिशत उद्योगहरुको कार्यसम्पादन स्थिति खस्कँदो (२३.७ प्रतिशत सामान्य र २९ प्रतिशत उच्च गिरावट) देखिएको छ भने २०.३ प्रतिशतको स्थिति स्थिर र २७.१ प्रतिशतको स्थिति सुधारोन्मुख रहेको पाइएको छ।
- लगानीमा औसत प्रतिफल ११.७ प्रतिशत, औसत क्षमता उपयोग ५०.७ प्रतिशत, वार्षिक औसत सञ्चालन ११.४ महिना र दैनिक औसत सञ्चालन ११.३ घन्टा रहेको पाइएको छ। त्यस्तै, वार्षिक बिक्रीको मध्यक करिब रु. ४० लाख, चुक्ता पुँजी रु. २५ लाख र कुल स्थिर पुँजी रु. ५० लाख रहेको देखिएको छ।
- समग्र प्रशासनिक प्रक्रियाहरुको अवधारणा बारेमा १५.७ प्रतिशतले ’खराब’ र १६.४ प्रतिशतले ‘अति खराब’ भनी आलोचना गरेका छन्।
- उद्योगको स्थान प्राप्त अवस्थितिलाई ४५.९ प्रतिशतले औसत, २९ प्रतिशतले खराब देखि अति खराब र २५ प्रतिशतले राम्रोदेखि अति राम्रो मानेका छन्।
- समग्र श्रम वातावरणलाई ५५.५ प्रतिशत उद्योगीले खराबदेखि अति खराब र ३५.६ प्रतिशतले औसत भनी मूल्यांकन गरेका छन्।
- कच्चा पदार्थको अवस्थालाई ४६.३ प्रतिशतले औसत र ३२ प्रतिशतले खराब देखि अति खराब श्रेणीमा राखेका छन्।
- सर्वेक्षण गरिएका ५१.९ प्रतिशत उद्योगले समग्र पूर्वाधारको अवस्था राम्रो रहेको बताएका छन् भने २८.४ प्रतिशतले यसलाई औसत मानेका छन्।
- कुल ३९.० प्रतिशत लघु, साना तथा मझौला उद्योगहरुले समग्र कर्जा वित्तको अवस्थालाई ‘औसत’ मानेका छन् भने ४४.६ प्रतिशतले यसलाई ‘खराब’ देखि ‘अति खराब’ श्रेणीमा राखेका छन्। लगानीको प्रमुख वित्तीय स्रोतका रुपमा व्यक्तिगत बचत रहेको पाइएको छ भने दोस्रोमा बैंक तथा वित्तीय संस्थाबाट लिइने कर्जा रहेको छ।
- समग्र कर प्रणालीप्रति ४३.१ प्रतिशत उद्योगीहरुले असन्तुष्टि व्यक्त गरेका छन् भने ३६.२ प्रतिशतले यसलाई औसत मानेका छन्।
- ४७.६ प्रतिशत उद्योगहरुले समग्र बजार वातावरणलाई ’औसत’ मूल्याङ्कन गरेका छन् भने ४३.० प्रतिशतले यसलाई ‘खराब’ देखि ‘अति खराब’ श्रेणीमा राखेका छन्। यसले बजारको अवस्थाप्रति सामान्य असन्तुष्टि रहेको संकेत गर्दछ।
- प्रविधि अवलम्बनको सन्दर्भमा ४५.५ प्रतिशतले औसत र ३६.८ प्रतिशतले कमजोर अवस्था रहेको बताएका छन्।
- नेतृत्व क्षमताको मूल्यांकनमा ४९.७ प्रतिशतले औसत र ३४.४ प्रतिशतले खराबदेखि अति खराब श्रेणीमा राखेका छन्।
- समष्टिगत आर्थिक वातावरणको नकारात्मक प्रभावको सन्दर्भमा ४०.८ प्रतिशतले न्यून र २५.१ प्रतिशतले उच्च नकारात्मक असर महसुस गरेका छन्।
- बहुसंख्यक उद्योगहरु (३७.८ प्रतिशत) ले उद्योग–सम्बद्ध तालिमलाई ‘औसत’ मानेका छन् भने ३५.९ प्रतिशतले यसलाई ‘खराब’ देखि ‘अति खराब’ र ३.८ प्रतिशतले ’खराब’ भनी रेटिङ गरेका छन्। तुलनात्मक रुपमा थोरै हिस्सा (२६.२ प्रतिशत) उद्योगहरुले मात्र औद्योगिक तालिमलाई ‘राम्रो’ देखि ‘अति राम्रो’ मानेका छन्।
- ८२.१ प्रतिशत उद्योगीले सरकार र नेपाल राष्ट्र बैंकका प्रोत्साहन र सहायता कार्यक्रमहरुको पर्याप्ततालाई खराबदेखि अति खराब श्रेणीमा राखेका छन। यसले विद्यमान प्रोत्साहन र सहायता कार्यक्रमको पर्याप्तता प्रति धेरैजसोमा असन्तुष्टि रहेको देखिन्छ।
- अर्डर्ड लगइट मोडलअनुसार सरकार तथा केन्द्रीय बैंकको प्रोत्साहन र प्रविधि अवलम्बनले उद्योगको कार्यसम्पादनमा सकारात्मक प्रभाव पारेको देखिएको छ। कच्चा पदार्थ र श्रमको अवस्थाले सकारात्मक प्रभाव पारेको छ भने पुरुष व्यवस्थापकको तुलनामा महिला व्यवस्थापक भएका उद्योगहरुको कार्यसम्पादन उच्च पाइएको छ। आर्थिक र राजनीतिक अस्थिरता कार्यसम्पादन घटाउने प्रमुख नकारात्मक कारकका रुपमा देखिएका छन् भने प्रशासनिक जटिलता र बजारको प्रभाव पनि नकारात्मक देखिए तापनि ती तथ्यांकीय रुपमा अनिर्णायक रहेका छन्।
प्राप्त निष्कर्षका आधारमा यस अध्ययनले विभिन्न सुधार तथा परिमार्जनका उपायहरु सुझाव गरेको छः
- डिजिटलाइजेसन, प्रक्रियागत सरलीकरण र गुणस्तरीय नियमन मार्फत व्यावसायिक वातावरण सुधार गर्नुपर्ने देखिन्छ।
- नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले वित्तीय र मौद्रिक प्रणालीमा स्थिरता एवं दिगोपना कायम गर्न विशेष ध्यान दिनुपर्दछ। राजनीतिक स्थिरता उद्योगहरुको असल कार्यसम्पादन लागि अपरिहार्य रहेको छ।
- ज्ञान आदानप्रदान आधारित कार्यक्रम, नेतृत्व विकास र महिला सशक्तीकरणका माध्यमबाट उद्योगहरुको कार्यसम्पादन अभिवृद्धि गर्नुपर्दछ। साथै, सडक तथा सूचना प्रविधिको पूर्वाधार सुधार गर्दै सरकारी र नेपाल राष्ट्र बैंकका पहलहरुबारे थप जनचेतना फैलाउनुपर्ने देखिन्छ।
- वित्तीय पहुँच बढाउन नवीन वित्तीय सेवाहरुको डिजाइन र उपभोक्ता संरक्षण थप सबल बनाउँदै लानुपर्ने देखिएको छ। आधुनिक सूचना प्रविधिको प्रयोग गरी क्रेडिट मूल्यांकन पद्धतिको नवीनतम र वैकल्पिक उपायहरु अवलम्बन आत्मसाथ गर्नुपर्ने देखिन्छ।
- विभिन्न निकाय र कार्यक्रमहरुबीच प्रभावकारी समन्वय गरी दोहोरोपन हटाउँदै सकारात्मक प्रभावलाई अधिकतम र नकारात्मक प्रभावलाई न्यूनीकरण गर्नुपर्ने देखिन्छ।












