काठमाडौं । मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सकारात्मक नै रहेको छ। नेपाल राष्ट्र बैंकले आज जारी गरेको चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ५ महिना मंसिरसम्मको तथ्यांकले यस्तो देखाएको हो।
२०८२ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो।
चालु आर्थिक वर्ष २०८२।८३ को ५ महिनामा कुल वस्तु निर्यात ५८.२ प्रतिशतले वृद्धि भई रु. १ खर्ब १६ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १६.५ प्रतिशतले वृद्धि भएको थियो।
चालु आर्थिक वर्ष मंसिरमा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई रु. ७ खर्ब ६६ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.० प्रतिशतले वृद्धि भएको थियो।
मंसिरसम्म कुल वस्तु व्यापार घाटा १०.५ प्रतिशतले वृद्धि भई रु. ६ खर्ब ४९ अर्ब ६८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.५ प्रतिशतले वृद्धि भएकोे थियो।
यो ५ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३५.६ प्रतिशतले वृद्धि भई रु.८७० अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो। २०८२ मंसिर महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब ८३ अर्ब १८ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब १८ अर्ब ७९ करोड रहेको थियो।
समीक्षा अवधिमा चालु खाता रु. ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. १ खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ४ खर्ब २१ अर्ब ८९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको थियो।
२०८२ असार मसान्तमा रु. २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई २०८२ मंसिर मसान्तमा रु. ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मंसिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ।
आर्थिक वर्ष २०८२।८३ को ५ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।












