काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा १७ लाख ८७ हजार बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आज विहान १० बजेसम्मको अन्तिम तथ्याङक अनुसार एफपीओमा १७ लाख ८७ हजार ३९१ जना आवेदकबाट २ अर्ब ४९ करोड ३ लाख ६१ हजार रुपैयाँ बराबरको २ करोड ४९ लाख ३ हजार ६१० कित्ताका लागि आवेदन दिएका हुन् ।
उक्त एफपीओमा ५२ गुणा बढी आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको एफपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ । यो एफपीओ ४७ हजार ५४४ जना आवेदकले १० कित्ताका दरले पाउनेछन् भने तिनै भाग्यमानी मध्ये ९ जनाले थप एक एक कित्ताका दरले शेयर पाउनेछन् ।
कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ पुस ५ गतेदेखि जारी गरेको हो । धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ४९० रुपैयाँ कायम छ । कम्पनीले सर्वसाधारणतर्फको शेयर स्वामित्व ३० प्रतिशत कायम गर्नका लागि प्रतिशेयर १०० रुपैयाँमा नै एफपीओ निष्कासन गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी भने ३२ करोड २३ लाख ७८ हजार रहेको छ । एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ कायम हुनेछ ।