काठमाडौं । चीनले विश्वकै ठूलो कृत्रिम टापु विमानस्थल निर्माण गरिरहेको छ। यो विमानस्थल समुद्रमा कृत्रिम टापुमा बनाइनेछ।
चीनले क्षेत्रीय यातायात प्रणालीका रुपमा डालियानको स्थितिलाई बलियो बनाउने लक्ष्य राखेको छ। लिओनिङ प्रान्तीय सरकारको वेबसाइटका अनुसार डालियान जिन्झाउवान अन्तर्राष्ट्रिय विमानस्थलले २० वर्गकिलोमिटर (७.७२ वर्ग माइल) क्षेत्रफल भएको टापुलाई कभर गर्नेछ। यो १२.४८ वर्गकिलोमिटरको हङकङ अन्तर्राष्ट्रिय विमानस्थल र जापानको ओसाका नजिकैको १०.५ वर्गकिलोमिटर कन्साई एयरपोर्टभन्दा ठूलो हुनेछ। जुन दुवै कृत्रिम टापुमा अवस्थित छन्।
‘डालियनका मानिसले यो सबैभन्दा ठूलो हो भन्छन्, यो वास्तवमै त्यस्तै हो’, उड्डययन परामर्शदाताका संस्थापक ली हानमिङले भने। निर्माणाधीन यो विमानस्थलले बन्दरगाह सहर डालियानका जनतालाई हवाई सेवा प्रदान गर्नेछ। यस बन्दरगाह सहरबाट जापान र दक्षिण कोरियासँग ठूलो मात्रामा व्यापार हुन्छ।
६० लाखभन्दा बढी जनसंख्या भएको यो सहर बोहाई स्ट्रेटको उत्तरी छेउमा रहेको प्रायद्वीपमा अवस्थित छ। डालियान तेल रिफाइनरी, ढुवानी तथा रसद सेवा र तटीय पर्यटनका लागि एउटा हबका रुपमा विकास गरिँदैछ।
प्रान्तीय सरकारको वेबसाइटका अनुसार यो मुख्य भूमि चीनको पहिलो एयरपोर्ट हो, जुन अपतटीय कृत्रिम टापुमा निर्माण गरिँदैछ। डालियानमा निर्माण हुन लागेको विमानस्थलमा ४ रनवे र ९ लाख स्क्वायर मिटरको टर्मिनल हुनेछ। यो विमानस्थललाई सुधारिएको भौगोलिक स्थानसँगै ‘क्षेत्रीय हवाई यातायात हब’ बनाउने चीनको योजना छ।
यसको टर्मिनल भवनको प्रारम्भिक क्षमता वार्षिक ४ करोड ३० लाख यात्रु हुनेछ। यो हालको डालियान विमानस्थलको आकारभन्दा दोब्बर हुनेछ। यो टर्मिनल भवनले पछि ८ करोड यात्रु ह्यान्डल गर्न सक्षम हुनेछ। पूर्वविकासपछि विमानस्थलले वार्षिक १० लाख टन कार्गो ढुवानी गर्न सक्ने बताइएको छ।
जिन्झाउवान विमानस्थलमा ४.३ अर्ब अमेरिकी डलर खर्च हुने र सन् २०३५ मा सम्पन्न गर्नुपर्ने चिनियाँ सदस्यता रहेको वैश्विक उद्योग समूह एयरपोर्ट काउन्सिल इन्टरनेसनलले जनाएको छ।
प्रान्तीय सरकारको वेबसाइटले यस वर्षको अगस्टसम्म ७७ हजार वर्गमिटरको पुनर्निर्माण क्षेत्रको आधारशिलाको काम सकिएको जनाएको छ। जग्गा पुनःप्राप्ति र टर्मिनल भवनको शिलान्यासको काम पनि सोही महिनामा गरिएको थियो।
हालको डालियान झोसुइजी एयरपोर्ट पहिलो पटक लगभग एक शताब्दी अघि खोलिएको थियो। त्यतिबेला यो सहर जापानको कब्जामा थियो। –एजेन्सी