काठमाडौं । ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको बैंकले जनाएको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस शेयर वितरण पश्चात कायम हुने पूँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।
ग्लोबल आइएमई बैंक “ग्लोबल फाइनान्स”को “बेष्ट बैंक अवार्ड २०२४” र “युरो मनी अवार्ड फर एक्सलेन्स २०२४” अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ ।
बैंकले अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट समेत विशेष सम्मान प्राप्त गरेको छ । ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।