IME Life New

युद्धका कारण हतियार बनाउने कम्पनीको आम्दानीमा उछाल, १ वर्षमै ६३२ अर्ब डलरको व्यापार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। रुस–युक्रेन युद्ध होस् वा इजरायल–प्यालेस्टाइन युद्ध होस् वा इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो तनाव। यी कारणले विश्व आतंकित भए पनि हतियार उत्पादन गर्ने कम्पनीहरु भने सुरक्षित भएका छन्।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को नयाँ प्रतिवेदनमा प्रस्तुत तथ्यांकले युद्ध र तनावका कारण हतियारको बिक्री तीव्र गतिमा भएको देखाएको छ। जसका कारण हतियार उत्पादन गर्ने कम्पनीहरुको आम्दानीमा ठूलो उछाल भएको छ। रिपोर्टका अनुसार यी द्वन्द्वका बीचमा कम्पनीहरुले सन् २०२३ मा मात्रै ६३२ अर्ब डलरको हतियार बेचेका छन्।

Crest

एसआईपीआरआईले विश्वका शीर्ष १०० हतियार उत्पादन गर्ने कम्पनीको नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ। यसमा दिइएको तथ्यांकअनुसार सन् २०२३ मा विश्वव्यापी हतियार कम्पनीहरुको राजस्व वार्षिक आधारमा ४.२ प्रतिशतले बढेर ६३२ अर्ब डलर पुगेको छ। विशेषगरी यो वृद्धिले रुस–युक्रेन युद्ध र इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो तनावलगायत अन्य द्वन्द्वबीचको बलियो हतियार बिक्रीलाई प्रतिविम्बित गर्दछ।

प्रतिवेदनले प्रमुख विश्वव्यापी खेलाडीहरु विशेषगरी संयुक्त राज्य अमेरिका, चीन र भारत बीचको रक्षा उत्पादन र खर्चलाई पनि उजागर गरेको छ। अमेरिकाले हतियार उत्पादनमा विश्वको लिडरका रुपमा आफ्नो स्थान कायम राखेको छ र यहाँका शीर्ष १०० कम्पनीहरुमध्ये ४१ ले ३१७ अर्ब डलर योगदान गरेका छन्। जुन हतियार कम्पनीहरुको कुल विश्वव्यापी राजस्वको ५० प्रतिशत हो। सन् २०२२ को तुलनामा यसमा २.५ प्रतिशतले वृद्धि देखिएको छ।

युक्रेनलाई हतियारको आपूर्ति होस् वा नाटोका सहयोगीहरुले सैन्य खर्चमा वृद्धि गरे पनि अमेरिकी हतियार उत्पादकहरुले यसबाट फाइदा उठाएका छन्। लकहिड मार्टिन, रेथियोन र नर्थरोप ग्रुम्यानजस्ता अमेरिकी कम्पनीहरु मिसाइल, ड्रोन र वायु रक्षा प्रणालीजस्ता उन्नत हतियार आपूर्तिमा अग्रपंक्तिमा छन्।

विश्व हतियार राजस्वमा चीन दोस्रो ठूलो योगदानकर्ता हो। देशका शीर्ष १०० मा रहेका ९ कम्पनीले १०३ अर्ब डलर राजस्व थपेका छन्। यद्यपि, चीनमा हतियार उत्पादन र बिक्रीको गति वार्षिक आधारमा ०.७ प्रतिशतले घटेको छ र यो सन् २०१९ यताकै न्यून हो। यसको कारण सुस्त अर्थतन्त्र र अन्य चुनौतीहरु रहेको बताइएको छ। समग्रमा आर्थिक चुनौतीहरुको बाबजुद चीनको रक्षा व्यवसाय यसको रणनीतिक महत्वाकांक्षाको अभिन्न अंग रहेको छ।

प्रतिवेदनले भारतको हतियार आम्दानी २०२३ मा ६.७ अर्ब डलर पुगेको उल्लेख गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ५.८ प्रतिशतले बढी हो। एसआईपीआरआई शीर्ष १०० मा ३ भारतीय कम्पनीहरु हिन्दुस्तान एरोनटिक्स, भारत इलेक्ट्रोनिक्स र भारत डायनामिक्स छन्। हतियार उत्पादनबाट आम्दानीमा भएको यो वृद्धिको श्रेय भारतको मेक इन इन्डिया पहललाई जान्छ। आयातमाथिको निर्भरता कम गर्न भारत सरकारले लडाकु विमान, क्षेप्यास्त्र र नौसैनिक जहाजजस्ता हतियार प्रणालीको स्वदेशीकरणमा ध्यान दिएको छ।

सन् २०२३ मा आधारित यो प्रतिवेदनले रुस–युक्रेन युद्ध विश्वव्यापी हतियार उत्पादन बढाउनमा ठूलो कारक साबित भएको जनाएको छ। युरोप, अमेरिका र टर्कीका रक्षा फर्महरुले बढ्दो माग पूरा गर्न आफ्नो उत्पादनमा उल्लेखनीय वृद्धि गरेका छन्। प्रतिवेदनमा केही विशिष्ट कम्पनी र देशहरुको तथ्यांक प्रस्तुत गरिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS