काठमाडौं । देशको वर्तमान आर्थिक स्थिति सुधारान्मुख देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो।
तथ्यांकअनुसार देशको मुद्रास्फीति ४ प्रतिशतभन्दा तल झरेको छ भने रेमिट्यान्स १५ प्रतिशतभन्दा बढीले बढेको छ।
यस्तो छ देशको वर्तमान आर्थिक स्थिति
- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ।
- आयात १.१ प्रतिशतलेबढेकोर निर्यात ५.१ प्रतिशतले घटेको छ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढेको छ।
- शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको छ।
- कुल विदेशी विनिमय सञ्चिति रु.२१५२ अर्ब ५३ करोड र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको छ।
- नेपाल सरकारको खर्च रु.१३७ अर्ब ५५ करोड र राजस्व परिचालन रु.१६६ अर्ब ३९ करोड रहेको छ।
- विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेकोछ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको छ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ।