काठमाडौं । जमुना कँडेल बीमा बजारका साथै मेडिकल क्षेत्रमा पनि एक परिचित नाम हो । जमुना आफू व्यस्त हुने दैनिकीभन्दा केही फरक खालको नयाँ दैनिकी गर्दै आइरहेकी छिन् । जुन हो, अभिकर्ता पेसा । जमुना सिटिजन लाइफको बालाजु शाखाकी सिनियर एजेन्सी म्यानेजर हुन् । आफ्नै औषधि पसल अर्थात् फार्मेसी भएकी जमुना अहिले बीमा अभिकर्ता बनेर बीमा शिक्षा बाँड्ने काम पनि गर्छिन् । जमुना आफ्नो फार्मेसी व्यवसायसँगै बीमा अभिकर्ता पेसालाई अँगालेर सहरदेखि गाउँसम्म बीमा ज्ञान बाँड्न व्यस्त हुन्छिन् । २०४३ सालमा बागलुङको ढोरपाटन नगरपालिका–२ मा जन्मिएकी जमुनाको बाल्यकाल गाउँमै बित्यो ।
जमुना एसएलसीसम्मको अध्ययन गाउँमै सकाएर सुनौलो भविष्यको खोजीमा काठमाडौं आइन् । पढाइसँगै केही काम पनि गर्छु भन्ने सोच बनाएर काठमाडौं आएकी जमुना आफ्नो दिदीसँग बस्न थालिन् । जमुनाले प्लस टु काठमाडौंमा गर्दैगर्दा धेरै बाधा आएको विगत सम्झिँदै भनिन्, ‘पढ्ने समयमा धेरै अप्ठ्यारा चुनौतीहरु झेल्नुपर्यो । प्लस टु पढ्दा–पढ्दै आफ्नै दिदीको फार्मेसी पसलमा काम गर्न थालेँ ।’ यसरी काम गर्दै जमुनाका दिनहरु बित्दै थिए । प्लस टुको अध्ययन सकाएर जमुनाले डिप्लोमा फार्मेसी पढेर आफ्नै फार्मेसी खोलिन् । विकट ठाउँमा जन्मिएर यो प्रगति गर्नु उनको र परिवारका लागि सानोतिनो सफलता भने पक्कै होइन ।
यसरी जोडिन पुगिन् अभिकर्ता पेसामा
विगत १८ वर्षदेखि फार्मेसी पसल चलाउँदै आएकी जमुना आफ्नै व्यवसायमा व्यस्त थिइन् । जमुनालाई नाताले भिनाजु पर्ने नरेन्द्र पुन सिटिजन लाइफका सिनियर एजेन्सी म्यानेजर थिए । उनले बीमा अभिकर्ता बन्नका लागि जमुनालाई अफर गरिरहेका थिए । जमुनाले भने फार्मेसीमा आफ्नो पनि राम्रो व्यापार हुने र समय दिन नपाउने भएकाले नरेन्द्रको प्रस्ताव स्वीकार गरेकी थिइनन् । फेरि पनि ती भिनाजुले ‘जसरी पनि अभिकर्ता बन, राम्रो हुन्छ, आम्दानीको हिसाबले पनि, तिम्रो राम्रो लिंक पनि छ’ भनेपछि प्रस्ताव स्वीकार गरिन् । त्यसपछि जमुनाले सिटिजन लाइफबाट लाइसेन्स लिई काम गर्न थालिन् । उनी अभिकर्ता पेसामा लागेको ३ वर्ष भइसकेको छ । जमुना अभिकर्ता पेसाप्रति धेरै सन्तुष्टि रहेको बताउँछिन् । पहिलो बीमा उनले आफ्नो र आफ्ना परिवारको गराइन् । जमुनाले पहिला नै साविक प्राइम लाइफबाट आफ्नी छोरीको बीमा गराइसकेकी थिइन् । तर, जमुनाले त्यतिबेला बीमा बुझेकी थिइनन् । अहिले उनले बीमा धेरै बुझेको बताउँछिन् ।
अभिकर्ता पेसामा लागेपछि जमुनाको जीवनमा धेरै परिवर्तन आए । जीवन बीमा अभिकर्ता पेसामा आबद्ध भएपछि कारमा चढेर हिँड्ने भएकी छिन् । जीवन बीमा अभिकर्ता पेसामा गरेको मेहनतकै कारण उनको जीवनशैली नै परिवर्तन भयो । सबै तह र तप्काका मान्छेसँग भेट्ने अवसर मिल्यो । यस व्यवसायले आफूलाई अथाह सफलता दिलाएको उनको अनुभव छ । बीमा व्यवसायमा लागेकाहरुका लागि सफल उदाहरणसमेत बन्न सफल भइन्, उनी । ३ वर्षे बीमा अभिकर्ता पेसाको अवधिमा जमुनाले कार चढ्ने हैसियतमा अपग्रेड मात्रै भइनन् आर्थिक रुपमा सबल र सक्षमसमेत भइन् । यस पेसाबाटै जमुनाले घर पनि जोडेकी छिन् ।
यो सबै सफताको देन भनेको सिटिजन लाइफ कै रहेको उनले बताइन् । सिटिजन लाइफमा उनलाई सबैले सहयोग गरे बीमा नबुझदा बीमा बुझाएर सँगै डोर्याए । यो जमुनाका लागि अधिक सफलता हो । अहिले आफ्नो फार्मेसीको पसल बन्द गरेर बीमा गराउन हिँड्ने गरेको बताउँछिन् । बागलुङको अत्यन्तै विकट गाउँमा हुर्केकी जमुना छोटो समयमै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध एजेन्सीहरुलाई उछिन्दै सफल भएकी छिन् ।
विदेशी मुलुकहरुमा मानिस जन्मनेबित्तिकै सरकारले नै जीवन बीमा गरिदिएको हुन्छ भन्ने बुझेकी जमुना भन्छिन्, ‘आम नेपालीमा जीवन बीमाको आवश्यकता धेरै रहेको तर पनि थोरै मानिसमात्र जीवन बीमाका बारेमा जानकार रहेका छन्। बीमा गराउन जाँदा दलाल पेसाको संज्ञा दिने गर्दछन् । तर, उनीहरुले बुझेका छैनन् कि हाम्रो भनिष्य र जोखिम कभरेजका लागि आएका हुन् ।’
अभिकर्ता बीमा व्यवसायका मेरुदण्ड हुन् । जमुना भन्छिन्, ‘बीमा कम्पनी र बीमितबीचमा विश्वासिलो अर्थात् दरिलो पात्रका रुपमा काम गर्ने व्यक्ति अभिकर्ता हुन् । अभिकर्ताले बीमा कम्पनी र बीमितबीच पुलको काम गरेबापत बीमा कम्पनीबाट निश्चित कमिसन पाउने गर्दछन् । तर भनिष्य सुरक्षित त जसको बीमा गराउँछौँ, उसकै पो हुन्छ ।’
धैर्यता र आत्मविश्वासलाई साथमा लिएर हिँड्ने जोकोही पनि अभिकर्ता पेसामा सफल हुन सक्ने अनुभव जमुनासँग छ । बीमा व्यवसायमा आबद्ध भएका अभिकर्तामा धैर्यता, इमान्दारिता, बोलीमा मीठासपन, समयको ख्याल गर्ने साथै काममा निरन्तरता दिन सक्ने गुण हुनुपर्ने जमुनाको बुझाइ छ । बीमा बजारमा अभिकर्ता भएर काम गर्न चाहनेलाई स्वागत गर्दै उनले पूर्ण रुपमा बीमासम्बन्धी ज्ञान लिएरमात्र यो क्षेत्रमा आउन सुझाव दिइन्।
आफ्नो सफलताको पछाडि परिवारको सहयोगलाई सम्झिँदै जमुनाले भनिन्, ‘सायद मलाई परिवारले साथ र सहयोग नदिएको भए म यो अवस्थामा आउने थिइनँ होला । मलाई मेरा श्रीमानले धेरै सपोर्ट गर्नुभएको छ । उहाँकै कारण अहिले फार्मेसीसँगै बीमा क्षेत्रमा सक्रिय भएर लाग्न पाएकी छु।’
जमुना बीमा अभिकर्ता पेसाप्रति आफ्नो जहिले सम्मान रहने बताउँछिन् । ‘यस पेसाले मलाई सबैथोक दिएको छ’, उनले भनिन्, ‘यस पेसामा आबद्ध भएपछि मैले देश–विदेश घुम्न पाएँ ।’
जमुनाले सिटिजन लाइफबाट आफ्नो टार्गेट मिट गरी विभिन्न अवार्ड पाएकी छिन् । उनले अभिकर्ता पेसामा लागेको छोटो समयमै गोल्ड क्लब हासिल गरेकी थिइन् । उनीले २ पटक डाइमण्ड क्लबको टार्गेट मिट गरिन् भने २ पटक गोल्ड क्लबको टार्गेट मिट गर्न सफल भइन् । जमुना २ पटक एमडीआरटीसमेत भइसकेकी छिन् । उनी २०२४ का लागि एमडीआरटीमा क्वालिफाइड भएर क्यानाडा जाने योजनामा छिन् ।
‘बीमा अनिवार्य बचत, सर्वोत्तम बचत, भरपर्दो लगानीको क्षेत्र हो । बीमा अभिकर्ता पेसा समयमा नै सफल हुने पेसा भने होइन । यो पेसामा लागेका व्यक्तिहरुमा आत्मविश्वाका साथै धैर्यता र काम प्रति निरन्तरता दिन सक्ने खुबी जरुरी हुन्छ’, जमुना भन्छिन्, ‘अभिकर्ताहरु सहर केन्द्रितमात्रै हुनुहुँदैन।’
अभिकर्तालाई सामाजिक पेसाका रुपमा जमुना लिन्छिन्। ‘यस पेसामा लागेपछि सबै कुरा पाइन्छ’, उनी भन्छिन्, ‘आर्थिक रुपमा सक्षम हुनुका साथै इज्जत, मान, प्रतिष्ठा, पब्लिक रिलेसनलगायत सामाजिक कार्य गर्न पाइन्छ।’