काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ हुन्, ‘पोषकराज पौडेल’। उनी सिटिजन लाइफमा दोस्रो कार्यकालका लागि सीईओको भूमिका निर्वाह गरिरहेका छन्। उनी जीवन बीमक संघका अध्यक्ष पनि हुन्। पौडेलले अमेरिकामा जीवन बीमाका बारेमा अध्ययन गरेका छन्। उनले त्यही व्यावसायिक मोडेल अपनाएको मेटलाइफ नेपालमा पनि लामो समय काम गरे। उनै पौडेलसँग नेपालमा जीवन बीमाको महत्व, यसको पछिल्लो अवस्था र व्यापारका विषयमा केन्द्रित रहेर इन्स्योरेन्स टकमा गरिएको कुराकानीको सारसंक्षेपः
मान्छेले जीवन बीमा किन गर्ने ? सुरक्षाका लागि गर्ने कि बचतका लागि गर्ने वा लगानीका लागि गर्ने ? अथवा यिनीहरुको समिश्रण के हुन्छ ?
व्यक्तिको आफ्नो प्राथमिकताका आधारमा फरक–फरक हुन्छ। यो प्रडक्टले सबै बेनिफिट दिन्छ। हामीले बुझ्दा कसैलाई सुरक्षा आवश्यक होला। कसैलाई लगानी गर्न आवश्यक होला वा कसैलाई बचत होला। यसमा सामाजिक आर्थिक परिवेशले पनि थुप्रै निर्धारण गर्छ। विशेषगरी दक्षिण एसियामा बचत र लगानीलाई लक्षित गरेको र बीमालेख पनि त्यही बनेको हुन्छ। त्यहीअनुसार काम भएको पनि भेटिन्छ। समाज विकास हुँदै जान्छ। समाजको संरचना पनि परिवर्तन हुँदै जान्छ। पहिले हाम्रो संयुक्त परिवार हुन्थ्यो। अहिले एकल हुन थालेको छ। पहिले समाजले हेथ्र्यो। अहिले आफैँले हेर्नुपर्ने अवस्था छ। यसरी संरचना परिवर्तन हुँदै जाँदा (मान्छे) सुरक्षाका लागि अगाडि बढेको छ र संसारभरि नै यो (जीवन बीमाको) विकास भएको हो। तपाइँको आवश्यकता के छ ? त्योअनुसारको यो बीमा गर्ने हो। सबै दिने भएकोले यो जीवन बीमा महत्वपूर्ण छ।
अमेरिका र युरोपमा मान्छेले जे कारणले जीवन बीमाका पोलिसी खरिद गर्छन्, हाम्रो समाजमा फरक छ ?
फरक छ। हामीले आफ्नो पालामा के प्राथमिकतामा छ भन्नका लागि मेरो आवश्यकता पूरा गर्न अझै पनि बीमा गर्ने भन्दा पनि मलाई केही पर्दाखेर मेरो बचत र मेरो घरघडेरी छ र मेरो बाउबाजेले आर्जन गरेको सम्पत्ति छ भन्नेमा अझै पनि समुदायको ठूलो हिस्साले टेकेको देखिन्छ। त्योमात्रै होइन मैले आफूले आर्जन गरेको र मेरा लागि मैले गर्नुपर्छ भन्ने मानसिकता छ। विकसित देशको तपाइँले भन्नुभयो अघि, म १८ वर्ष पुगेपछि आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ भनेर तन्नेरीहरु परिवारबाट छुट्टै बसेर आफ्ना लागि आफैँले गर्ने समाज चाहिँ पश्चिमी समाज हो। अनि हामी चाहिँ लामो समयदेखि बा–आमाको नजिक बसेर सँगै खर्चहरु शेअर गरेर बा–आमाको खर्चसँग पनि हामी आफैँ जोडिएर लामो समय जाँदाखेरी के भयो भने मलाई पर्दा बा–आमा छन् भन्ने मानसिकता पनि हामीसँग जोडिएर आएको छ। त्यो कारणले पनि के भयो भने पश्चिमा र हाम्रो आवश्यकता फरक भएकोले हामीकहाँ एउटै प्रडक्टले सबैतिर सम्बोधन गर्दैन। हामीकहाँ बचतवाला अथवा लगानीवाला बीमा सबैभन्दा बढी रुचाइसकेको बीमा हो।
बचत र लगानीको कुरा गर्ने हो भने त यहाँभन्दा बैंकमा बचत गर्दा अलि बढी प्रफिट आउँछ। अहिले त इन्भेस्टमेन्टका अरु टुल्सहरु पनि थुप्रै छन्। किन बीमा पोलिसी किन्ने ? भन्ने प्रश्न पनि आउला नि ?
बचतका लागि त्यो प्रश्न आउँदैन। अनिवार्य बचतले तपाइँलाई जोगाउन सहयोग गर्छ। बचतका थुप्रै उपकरणहरुमध्ये जस्तै– सञ्चय कोष। नियमित रुपमा एउटा कम्पनीले कर्मचारीबाट नियमित रुपमा नकाटिदिँदा उसले खर्च गरेर सकिन सक्छ। एउटा अनिवार्य बचतको माध्यम पनि हो यो। लगानीमा प्रतिफलका लागि बचतमात्रै होइन तपाइँले बैंकमा जम्मा गर्ने एकमुष्ठ सुरुमै जम्मा गर्नुपर्छ र ब्याज आउँछ। बीमामा त तपाइँले त १ लाखका लागि १ लाखै तिर्नुपर्दैन नि। विस्तारै–विस्तारै जम्मा गर्दै जाने हो। सुरुमा १ लाख वा १ करोडको इन्स्योरेन्स गर्नुभाछ भने त्यो १ करोडका आधारमा बोनस दिइन्छ तर तपाइँले बैंकमा जस्तो १ करोडको ब्याजका लागि पूरै रकम जम्मा गर्नुपर्दैन। बीमा त विशेष प्रडक्ट हो। त्यो कारणले पनि हामी के भन्छौँ भने सबै लगानी क्षेत्रलाई एउटै थैलीमा नराख्नका लागि पनि यो एउटा लगानीको फरक थैली हो।
मान्छे कुन उमेर पुगेपछि वा आम्दानीको कुन हैसियतमा पुगेपछि ऊ तपाइँहरुको प्राथमिकतामा पर्छ ?
जब उसले आम्दानी गर्न थाल्छ तब आफूमात्रै होइन आफ्नो परिवारलाई पनि हेर्नुपर्ने अवस्था आउँछ। ऊ अगाडि बढ्दै जाँदा जिम्मेवारबोध पनि गर्दै जान्छ नि। जब ऊ त्यो बिन्दुमा पुग्छ तब हामीले उसलाई बीमा लिनुपर्छ भन्ने लाइनमा अभिमुखीकरण गर्छौं। सुरुमा त आम्दानी गर्न थालेपछि। हाम्रो समुदायमा के छ भने इन्स्योरेन्स केका लागि ? भनेर बुझाउन चाहिँ आफ्ना लागि वा आफूभन्दा पछिको वा आफू नहुँदाका लागि भन्ने बढी गफ गरिन्छ। हामीकहाँ दुईवटा फाइदाको कुरा गर्छौं। एउटा जीवित लाभ र अर्को मृत्यु लाभ। हामी कहाँ मृत्यु लाभको कुरा बढी हुन्छ। मृत्यु भएपछि यो लाभ पाइन्छ भन्ने कुरामा बढी छलफल हुन्छ। पश्चिमाहरु जीवितै रहँदाको अवस्थामा पाइने लाभमा आइसके। हामी चाहिँ अझै मृत्यु लाभको छलफल गर्छौं। मलाई तलमाथि हुँदा म आफैँलाई उपचार खर्च, म हिँड्दाहिँड्दै पनि म अशक्त हुँदा पनि मेरो परिवारलाई असर भयो भने त मलाई पनि आर्थिक भरथेग चाहियो। त्यो बेलामा भरथेग गर्ने बीमाबारे वा जीवितै रहँदा पाइने लाभ दिने बीमाको बजार तयार पार्ने र यो एउटा आवश्यकता पनि हो। र, जीवित लाभ चाहिँ पहिलो तलब पाउन थाल्दादेखि उसलाई चाहियो नि त। आजभोलि हामीकहाँ एउटा भर्खर उमेरका मान्छे किड्नी फेल भई दिएको, ३०–४० वर्षमै हर्टअट्याक भएका थुप्रै घटना आउँछन्। हो, अब उमेर समूह भन्ने भएन। जुनसुकै उमेरमा हुने भएकोले मैले पहिलो तलब बुझेँ र मलाई चाहिँ यो–यो चिज चाहिन्छ। मलाई जीवितै रहँदाको अवस्थामा प्राप्त गर्न सकिने लाभ चाहिन्छ। मलाई केही हुँदाखेर मेरो सामाजिक दायित्वहरु र आर्थिक दायित्वहरु आउँछ। त्यसका लागि पैसा चाहिन्छ। र, अन्य हिसाबले म बूढो हुँदा पनि चाहिन्छ किनकि हामी कहाँ सामाजिक सुरक्षा छैन। मैले आफ्नो पालामा जम्मा गरिन भने मलाई त्यो बेलामा के हुन्छ ? पेन्सनजस्ता प्रडक्टहरु चाहिन्छ। हो, त्यो सबै कुराले गर्दा (लक्का जवान) उमेरमै आफूले सुरुमै गर्ने हो।
यसलाई यसरी भनौँ। एउटा मान्छे अहिले जुन जीवनस्तरमा बाँचिरहेको छ, कथमकदाचित घट्ने घटनाहरुका कारणले त्योभन्दा तल्लो स्तरको जीवनशैली जीउनुपर्ने बाध्यतात्मक परिस्थितिबाट इन्स्योरेन्सले जोगाउँछ ?
उसको वित्तीय बल अर्थात् वित्तीय आवश्यकता हुन्छ नि। जुन अहिलेको अवस्थाभन्दा वित्तीय रुपमा कमजोर नहोस् भन्नका लागि बीमाले ब्याकअप दिन्छ।
तर, हुन चाहिँ पैसा हुनेहरुका लागि रहेछ ?
पैसा नहुनेका लागि पनि हो।
कसरी ?
पैसा सबैसँग नहुने हुँदैन। थोरै हुने र धेरै हुनेमात्र हो। सबैसँग पैसा हुन्छ। र, उसले थोरै हुन्छ भने त्यही थोरै पैसाले नै पुग्छ। एउटा दैनिक ज्यालादारी गर्ने मान्छेले पनि आजभोलि औसतमा १५ सय वा २ हजार रुपैयाँ ज्याला लगभग पुगेको सुनिन्छ। १५ सय वा २ हजार रुपैयाँ मासिक बीमा अर्थात् १ दिनको पैसामात्रै जोगायो भने पनि उसले राम्रै इन्स्योरेन्स गर्न सक्छ। १–२ लाखको विभिन्न अवधिअनुसार इन्स्योरेन्स गरेर आफूलाई गाह्रो पर्दा त्यही एकमुष्ठ रकमले पनि उसलाई सहयोग गर्छ। त्यो कारणले गर्नै नसक्ने पनि होइन। उसले व्यवस्थापन चाहिँ गर्न सक्नुपर्यो। उसले आफूले गर्ने केही बानीहरु, केही अन्य अनावश्यक खर्चहरुमा हेरेर केही कुरा जोगाउन सक्यो भने त्यहीबाट पनि हुन्छ। हामीकहाँ थोरै र धेरै भएको त हुन्छ नै पैसा तर हुँदै नहुने चाहिँ हुँदैन।
जस्तो तपाइँ भन्दै हुनुहुन्थ्यो, हाम्रा अभिकर्ता साथीहरु घर–घर पुग्छन्। यहाँ त फलानोकी श्रीमती गर्भवती छिन् भनेपछि त्यहाँ अभिकर्ताहरु गएर कन्भिन्स गराउन आरम्भ गरिसकेका घटनाक्रमहरु हामी दैनिकजसो देखिरहेका हुन्छौँ। तर, उहाँहरुको सेलिङ मेथड चाहिँ अलि बढी फोर्सफुल देखियो। भोलि ए भन्ने मान्छे तिमी खत्रक्क परेर गयो भने तिम्रा सन्तानलाई पैसा दिन्छौँ भन्ने टाइपको अलि बढी रहेछ। यसले चाहिँ इन्स्योरेन्सका एजेन्टहरु आउँछन् भन्ने भएपछि यिनले चाहिँ अल्टरसल्टर नचाहिने कुरा गर्छन् भन्नेखालको म्यासेज पनि लगिरहेको छ है बजारमा ?
यस्तो हो, अभिकर्ताले मान्छेले नबुझेको कुरा बुझाउनलाई गाह्रो हुन्छ र सत्यको बाटो अजिरै हुन्छ। राम्रो बाटो असजिलो हुन्छ। मैले पटक–पटक भन्ने गरेको छु र यहाँ पनि दोहोर्याउँछु। दूध बिक्री गाह्रो हुन्छ तर रक्सी बिक्री गर्न सजिलो हुन्छ। राम्रो चिज बिक्री गर्न गाह्रै हुन्छ क्या। त्यसैले अभिकर्ताले पनि राम्रो कुरा बुझाउनका लागि कर गर्नुपरेको हो।
तपाइँहरु यो इन्स्योरेन्सका लागि एजेन्ट खटाउनुहुन्छ, पैसा उठाउनका लागि। क्लेम सेटलमेन्टमा पनि त्यति नै मेहनत गर्नुहुन्छ ? सजिलै गर्दैनन् भन्ने बजारमा छाप परेको छ नि ?
त्यो सबैतिर छ। मतिर फर्किंदा इन्स्योरेन्स कम्पनीले गरेन भन्ने छ। तपाइँतिर फर्किंदा एकाधले नगरेको कुरा पनि भेट्याउँला। अर्कोले गर्दा अर्कोको पनि भेटिएला। त्यो एकाध कुरा जहाँ पनि हुन्छ। तर, आजको मितिमा ५–१० अघिभन्दा उसको एक्सेस विभिन्न विषयमा, त्यो क्लेम पाउनका लागि उसले गर्ने प्रोसेस, कम्पनीले गर्ने प्रोसेस, कम्पनीका ब्रान्चहरु, अभिकर्तासँगको एक्सेस, सोसल मिडियामा कम्पनीहरुसँग एक्सेस, उसलाई चाहिने डाटा हेर्न कागज हुर्नुपथ्र्यो अहिले अनलाइनमा तुरुन्तै हेर्न सक्छ। भएन भने प्राधिकरणमा सूचनामूलक जानकारीहरु लिन सक्छ। कसरी क्लेम लिने भन्ने कुरा विभिन्न तपाइँहरुजस्ता मिडियाहरुले शेअर गर्नुभाछ। त्यो कारणले र हरेक लेभलमा एउटा मान्छे अलि जागरुक पनि छ, पहिलाको हरीकन। मैले पाउन हकअधिकारलाई म कहाँ जानुपर्छ र कसरी मैले पाउनुपर्छ भन्ने राइट कुराका लागि उसले पनि पहल गर्छ। त्यो कारणले क्लेम दिनका लागि कम्पनीले पनि ढिलाइ गर्दैन। किनकि यो मार्केटिङ टुल पनि हो। त्यो कारणले पनि के छ भने पहिलेजस्तो क्लेममा ढिलाइ गर्न कम्पनीहरु पछि पर्दैनन्। क्लेम पनि दिइरहेका छन्। र, प्रोसेसको कुरालाई उसले फलो गर्नुपर्छ। अहिले डिजिटल्ली अनलाइन अप्लाईदेखि लिएर क्लेम चाँडो तिर्यो भने मार्केटिङ हुन्छ भने बिजनेसलाई सपोर्ट गर्छ भन्ने कुरो कम्पनी पनि मनन गरेका छन्।
तर, क्लेममा त मृत्यु दर्ता प्रमाणपत्र पनि भौतिक रुपमै पेस गर्नुपर्छ। फेरि मृत्युको प्रतिवेदन बुझाउनुपर्यो। वडाको सिफारिस चाहियो। त्यो चिज जम्मा गर्दा थप झन्झट व्यहोर्नुपर्ने अवस्था छ नि ?
तपाइँले ठीक कुरा गर्नुभयो। हामी डिजिटलाइजेसन भन्छौँ तर प्रोसेस डिजिटलाइजेसनका कुरा, जुन इकोसिस्टम बनाउने कुरामा हामीले काम गरिरहेका छैनौँ। म सिटिजन लाइफ कम्पनीमा चाहिँ डिजिटलाइजेसनमा काम गरिरहेको छु, तर होल इकोसिस्टममा आउने चिजहरु चाहिँ डिजिटलाइज्ड भइरहेको छ कि छैन भन्ने कुरा चाहिँ हामी नियामक निकायसँग, सरकारका निकायसँग अथवा अन्य सरोकारावालामाथि निर्भर हुनुपर्ने र उनीहरुका लागि सबल गर्नुपर्ने र सक्षम गर्नुपर्ने र उनीहरुलाई यो सञ्जालमा ल्याउनुपर्ने आवश्यकता छ। वडा तहबाट दिइने जन्मदर्ता वा मृत्युदर्ता, अस्पताल वा प्रहरीले उपलब्ध गराउने कागजात अहिले डिजिटलाइज्ड हुन थालेको छ। अब हामीले यी सबैलाई केन्द्रीकृत गर्न सक्यौँ भने केहीबेरमै दाबी दिन सक्छौँ। यसले कागजको प्रयोग पनि घट्छ। किनकि कहिलेकाहीँ, वडा, अस्पताल र प्रहरीबाट आउने कागजातमा फरक–फरक मिति आउँदा दाबी दिन समस्या हुन्छ। अनि फेरि कागजको पुष्टीकरण गर्दा प्रक्रिया लम्बिन्छ। यिनै कारणले सेवाग्राहीले दुःख पाउँछन्। यसलाई न्यूनीकरण डिजिटलाइजमा जानैपर्छ। विदेशमा सबै कुरा डिजिटलाइज्ड भएकै कारण दाबी भुक्तानी चाँडो हुन्छ। इन्स्योरेन्स कम्पनीले सबै कुरा एकैठाउँमा पाए भने त भोलिपल्टै दाबी दिन सक्छन्। बीमित वा लाभग्राहीलाई यो ल्याउनु वा त्यो ल्याउनु भन्नै पर्दैन नि। कम्पनीले १५ दिनभित्र दाबी नदिएर कुनै लाभ त प्राप्त गर्दैन। किनकि कम्पनीले ग्राहकको विश्वास गुमाउन चाहँदैनन् नि। त्यसैले एउटै प्रमाणपत्र बीमा कम्पनीमा बुझाउनुपर्ला, बैंकमा बुझाउनुपर्ला वा अन्य कुनै निकायमा बुझाउनुपर्ला। सबैतिर एउटै कागजात लिएर हिँड्दा ग्राहकलाई झन्झट भइरहेको छ। त्यसैले केन्द्रीकृत गरेर सेवाग्राहीलाई यस्ता झन्झटबाट मुक्त गर्नुपर्छ।
तपाइँहरु धेरै ठाउँमा पुलको अभ्यास गर्नुहुन्छ। यस्ता सूचना संकलनमा त्यो पुल टाइपको एकीकृत संरचना बनाउन तपाइँहरुले पहल गर्ने हो कि ?
हामीले मात्रै बनाएर हुँदैन। स्थानीय सरकार वा सबैको केन्द्रीकृत गर्न सक्न संरचना नै अलमलिएको देख्छु।
समन्वय गर्ने भन्ने छ तर कस्तो समन्वय अझै प्रस्ट छैन।
स्थानीय सरकार आफैँमा स्वायत्त भएर काम गरेको पनि देखिन्छ। अब यहाँ थुप्रै कुराहरु छन् क्या। हामी यो कुराले गर्दा यो चिजमा पहल गर्यो भने चाहिँ हामी एउटा विशेष फड्को मार्छौं।
संसारमा इन्स्योरेन्स कम्पनीहरु अर्थतन्त्रको ब्याकबोन हुन् यो देशका लागि भनिन्छ। तिनले ठूला–ठूला संस्थाहरु चलाउँछन्, ठूला–ठूला बैंक चलाउँछन्, ठूला परियोजना सञ्चालन गर्छन् भन्ने लगानीको पाटोबाट। नेपालमा चाहिँ त्यतातिर धेरै ध्यान दिएको जस्तो देखिँदैन।
यस्तो हुन्छ, लगानीको पाटोमा विदेशतिर कस्तो हुन्छ भने ठूला–ठूला पूर्वाधारका लागि ऋणपत्र आउँछन्। हामीकहाँ पूर्वाधार ऋणपत्रको अवधारणा अझै सरकारले ल्याएको छैन। अब हामीकहाँ भर्खरै स्थानीय तह जुन संरचना आयो, हामीले पालिका ऋणपत्रहरु ल्याउने कुरा गर्छन्। त्यसमा पालिका ऋणपत्रहरु नगरपालिका वा महानगरपालिका ल्याउने हुन्। जुन संरचनाहरुमा सहभागिता बढाउने अभ्यासको विकास हुन्छ। भारतमा पनि भेटिन्छ। हामीकहाँ त्यो स्तरको ऋणपत्रको अवधारणा र ऋणपत्रमा सहभागी हुने अवधारणा चाहिँ अझै पनि विकास हुन सकेको छैन। हामी त्यो बजार र तपाइँले भनेका विकसित मुलुकहरुको हेरीकन हाम्रो यहाँ चाहिँ लगानीको प्रवृत्ति चाहिँ उल्टो प्रवृत्ति छ। केमा भने बाहिरतिरको ऋणपत्रको ब्याजदर चाहिँ मुद्दति निक्षेपभन्दा २ प्रतिशत जति बढी हुन्छ र इन्स्योरेन्स कम्पनीहरु सबैजसो त्यसमा जान चाहन्छन्। जस्तै हाम्रो सिटिजन लाइफको कुरा गर्ने हो भने औसत बीमा दायित्वको अवधि १५ वर्षको लाइनमा छ। सिटिजन लाइफले बीमितबाट लिएको पैसा १५ वर्षसम्म लगानी गर्न चाहन्छ। तर, पाइरहेको छैन। त्यसैले हामी के चाहन्छौँ भने त्यस्ता ऋणपत्रहरु आओस् र त्यस्तोमा लगानी गर्न पाइयोस् र त्यो हाम्रा छिमेकी देशहरुको जस्तै लगानीको माहौल भयो भने लगानीका क्षेत्रमा हामी पनि अझै राम्रो सेवा दिन सक्छौँ।
भनेको तपाइँहरु सोसाइटीमा डेभलप गरिएका टुल्सहरुलाई फलो गर्ने ठाउँमा हो वा केही चाहिँ इनिसियट नै गरिदिने प्रोजेक्टहरु वा लगानीका क्षेत्रहरु ?
हामी आफैँले पनि केही गर्ने हो। हामीले पनि इनिसियट गरिदिने हो। तर, लार्जली हामी दायित्वमा एक्सपर्ट हो। रिस्क लिन एक्सपर्ट हो। रिस्कको हामीसँग एपटाइट बढी हुन्छ। रिक्समा हामीसँग जुन खेल्न सक्ने र हामीले जोखिम लिन सक्ने कुराहरुमा हामीले रिइन्स्योरेन्सहरुसँग एरेन्जमेन्ट गरेर केही कुराहरु गर्छौं। एसेस्टमा चाहिँ हामीले क्वालिटी एसेस्ट र रिजनेबल र लिक्विड एसेस्टहरुमा बढी फोकस गर्ने र संसारभरिको प्राक्टिसलाई फलो गर्ने हो। हामी चाहिँ आउट अफ दि बक्सहरुमा जाने कुराहरुले चाहिँ बोथ साइडमा उभ्याउँछ।
तपाइँहरुले एउटा बीमितबाट उठाउने वा उदाहरणका लागि १०० रुपैयाँ कति ठाउँमा छर्नुहुन्छ मोटामोटी ?
लगानीका हिसाबले ?
हो। अनि जोखिम व्यवस्थापनका हिसाबले पनि ?
हामी चाहिँ जोखिम व्यवस्थापनको हिसाबले दुईवटा क्षेत्र, एउटा पुनर्बीमा गर्ने। यो जोखिम लिएबापत हामीले कतिसम्म पुनर्बीमकलाई तिर्ने, त्यसबाट जोखिम हस्तान्तरण गर्ने हो। अर्को चाहिँ हामीले बीमितलाई भविष्यमा फिर्ता दिनुपर्छ। अथवा उसलाई केही पर्दाखेर सेवाका रुपमा दाबीबापत दिनुपर्छ। यी दुईवटाका लागि राम्रो क्षेत्रमा लगानी गर्ने हो।
एउटा एजेन्टले एउटा बीमालेख बेचेपछि उसले जे प्रतिफल प्राप्त गर्छ, राष्ट्रिय वा अन्तर्राष्ट्रिय तहमा त्यसको विभाजन कसरी व्यवस्थापन हुन्छ ?
हाम्रो दक्षिण एसियाली मुलुकहरुसहित सिंगापुरसम्म जानुहोस्, पहिलो वर्षमा अभिकर्ता साथीहरुलाई हामीले नेपालमा सबैभन्दा कम २५ प्रतिशत दिन्छौँ। बंगलादेशमा पहिलो वर्ष ३५ प्रतिशत दिन्छ। भारतमा पनि ३५ प्रतिशतकै लाइनमा छ। तपाइँ मलेसिया वा त्योभन्दा उता जानुहोस्, त्योभन्दा बढी छ। युरोप वा अमेरिकामा जानुहोस् अझै माथिको भुक्तानी भन्छ। त्यहाँ अभिकर्ताहरुलाई ८० प्रतिशतसम्म कमिसन छ। मान्यता के हो भने अभिकर्ताहरुले एउटा बीमितलाई बुझाएर र उहाँहरुले खोजेको उपयुक्त बीमा योजनाबारे सुझाव दिएर उपयुक्त बीमा गराएर १५ वर्षसम्म निरन्तरता दिने सर्तमा सम्झौता गराइदिने आधारमा उहाँहरुलाई दिइएको हो। उहाँहरु एउटा पोलिसी ल्याउनका लागि कैयौँ चोटि जानुपर्छ। कैयौं चोटि पहल गर्नुपर्छ र कैयौं दिन खर्च हुन्छ। हो, त्यसबापत कम्पनीले उहाँहरुलाई दिएको सम्मान् हो।
अहिले त हेर्ने हो भने बीमा समर्पणको बाढी छ क्यार। २–३ वर्ष बीमाशुल्क तिर्ने अनि त्यसपछि स्वाट्टसँग समर्पण गरेर पैसा फिर्ता लिने।
सबैजनाको जीत हुने भए, यसको जोखिम चाहिँ कम्पनीलाई मात्र हुने रहेछ। यसलाई कसरी लिनुभएको छ ?
यस्तो हो, समर्पणको बाढीभन्दा पनि अहिले चाहिँ केही सानो अंश, साना खराब मनिस्थितिका मानिस जहाँ पनि हुन्छन्। जुनसुकै क्षेत्रमा पनि हुन्छ। अब त्यहाँ केही फाइदा लिने मनस्थिति आएका मान्छे केही होलान्। तर, ठूलो समुदाय चाहिँ इन्स्योरेन्स गर्नका लागि अभिकर्ता साथीहरुले बुझाएको र बुझाउँदाखेरी अहिले वित्तीय अवस्था, देशको समग्र आर्थिक अवस्था र आफ्नो आम्दानीको स्रोत चाहिँ कुन चाहिँ हो ? र, आफूलाई दैनिक जीवन चलाउन वा अथवा आफ्नो आवश्यक पूरा गर्नलाई चाहिँ विभिन्न स्रोतहरुबाट नभएपछि इन्स्योरेन्समा जम्मा भएको पैसा फिर्ता लिनका लागि प्रयास गरेकोमध्ये अहिले चाहिँ हामीकहाँ अलि बढी आएको हो, अरु बेलाभन्दा। किनकि अहिले विशेष संकटको अवस्था पनि हो। यो कारणले चाहिँ के भन्छु भने म अहिले विशेष अवस्था पनि हो। त्यो कारणले बीमितले समर्पणका लागि गरेका पहलहरुमध्ये जायज पहलहरु पनि उल्लेख्य संख्यामा देखिन्छ। त्यसैले सबैले त्यही सोच र त्यही स्तरको पैसै बनाउने तयारीका साथ समर्पण गर्न भ्याएको चाहिँ लाग्दैन।
जस्तै यो एकल बीमाशुल्कमा चाहिँ विकृति नै छ क्यारे ?
कुनै बेला थियो। एकल बीमाशुल्कबारे हाम्रो निर्देशिका पनि सच्चियो। जुन–जुन ठाउँमा विकृति थियो, पुरानो मितिमा जारी गर्न नपाउनेदेखि लिएर समर्पण गर्नका लागि सीमा तोकिएपछि त्यो विकृति पनि रोकियो र अहिले त्यो बिक्री पनि रोकिएको छ।
ईएफएटीएफमा बीमा प्राधिकरणबाट पनि प्रतिनिधि हुनुहुन्थ्यो। राष्ट्रको इकोनोमीसँग सम्बन्धित थुप्रै प्रतिनिधित्वहरु त्यहाँ गएर ब्रिफिङ गर्दा चाहिँ यो बीमामा, त्यसमा पनि सिंगल प्रिमियममा हामीलाई जोखिम बढायो भन्ने कुरा भएको थियो क्यारे ?
होइन, त्यो कुरा सही पनि हो। एकल बीमाशुल्क आउँदाखेरी उसले स्रोत देखाउन सकेन र एकल बीमाशुल्क तिरेर बीमालेख किन किन्न लागेको छ, एकमुष्ठ किन तिर्न लागेको छ भन्ने कुरा उसले आम्दानीको स्रोत देखाउन सकेन पनि निश्चित रुपमा अवैध मुद्रा निर्मलीकरणको विषयलाई आकर्षित गर्छ। त्यो विषय चाहिँ अनुसन्धानको विषय हो। आम्दानीको स्रोत छ, मसँग जायज स्रोत छ, मैले एकल बीमाशुल्क तिरेको छु भने मैले चिन्ता गर्नुपर्दैन।
तपाइँहरुले के–के हेर्नुहुन्छ, एउटा नागरिकलाई अभिकर्तामार्फत बीमा गराउँछु भनेर फाराम भरेर आउँदै गर्दा ? कम्पनीका तर्फबाट के–के हेरेर ओके भन्नुहुन्छ ?
सरसर्ती हेर्दा मुख्यतः दुईवटा कुरा तर प्राथमिकताका आधारमा तीनवटा कुरा हेर्छौं। एउटा चाहिँ उसले इन्स्योरेन्स गर्न जुन रकम ल्याएको छ, त्यो रकम तिर्न सक्ने क्षमता छ कि छैन ? उसलाई त्यो आर्थिक हिसाबले त्यति रकमको बीमा किन चाहिएको हो ? त्यो पक्षबाट हेर्छौं। आर्थिक हिसाबले त्यो रकम चाहिँ पुष्टि गर्छ कि गर्दैन। आम्दानीको स्रोत र त्यो रकम पनि। दोस्रो स्वास्थ्यका हिसाबले तन्दुरुस्त छ कि छैन ? उसको स्वास्थ्यसम्बन्धी विगत र उपचारको अवस्थाबारेमा र उसले खुलाएका कुराहरुले गर्दा त्यो मान्छे बीमा गर्न योग्य छ कि छैन भन्ने कुरा हुन्छ। तेस्रो चाहिँ उसको अन्य पारिवारिक पृष्ठभूमिलगायतका ग्राहक पहिचानमा उल्लेखित व्यक्तिगत जानकारी, राजनीतिक पृष्ठभूमिलगायतको छ भने त्यसमा जोखिम छ कि छैन भन्ने कुरा हेर्छौं। अन्य थप कुरा पनि हेर्छौं। ६ महिनाअघि कति रकमको बीमा गरेको छ, अहिले फेरि थप्न चाहिन्छ। के हो कारण ? उचित कारण छ कि छैन ?लगायतका कुरा हेर्छौं।
यति धेरै चिज हेर्न भ्याइन्छ ? अभिकर्ताहरु दौडादौड गरेर बीमा बेचिरहेका हुन्छन्।
उनीहरुले पूरै हेर्छन्। किनकि तपाइँको बीमा गर्न आउनुभन्दा अगाडि नै उनीहरुले तपाइँका बारेमा बुझिसकेका हुन्छन्। अभिकर्ताले हेरिसकेपछि हाम्रो अफिसको मान्छले पनि पूरै हेर्छ।
तपाइँहरु बीमा बेच्दै गर्दा जसलाई लक्षित गर्नुहुन्छ, उनीहरुका लागि धेरै विविधतायुक्त बीमा आएनन् र जो बीमा ल्याउनुहुन्छ, त्यो धेरै प्राविधिक र जटिल भयो। जो खरिदकर्ता हो, उसैले त्यो बुझेको हुन्न। त्यसले अलि बढी गलत बिक्री हुन्छ र बजारप्रति पनि अलि नकारात्मक नजर स्थापित हुँदैछ भन्ने छ। त्यसलाई सहजीकरण गर्न हाम्रो यो–यो ५ वटा सुविधा छन्, त्यो प्राविधिक रुपमा यो हो, तिमीले यसरी बुझ भन्ने खाले हुँदैन ?
अहिलेको अवस्थामा अलिकति समय दिएर बीमितले बुझ्न चाह्यो भने धेरै सजिलो छ। अहिले धेरै सामग्री पनि पाइन्छ। अब सामाजिक सञ्जालबाट सामग्रीहरु पाइन्छ। यो भनेको के हो भनेर सजिलै बुझ्न सकिन्छ र ग्राहकले पनि के गर्नुपर्छ भने आफूले लिएको बीमामा के–के सुविधा पाइन्छ र के–के छ भनेर त्यहाँ साधारणतय धेरै सुविधा हुँदैनन्। थोरै सुविधा नै हुन्छन्। ती सुविधाका बारेमा विस्तृत रुपमा बुझ्न चाहेमा सजिलै र छड्के गरेर बुझ्न सक्दैनन् र ब्रिफिङ गर्छ। यो केही प्राविधिक विषय पनि हो। संसारमा प्राविधिक विषयमध्ये स्वास्थ्य र बीमामा अरुले सुझाउनै पर्छ भनिन्छ। तपाइँले जतिसुकै जाने पनि औषधिको पुर्जा अरुले लेखिदिनुपर्छ भनेजस्तै यो पनि तपाइँले केही सीमामा जाने पनि तपाइँलाई सर्वाेत्तम सल्लाह चाहिँ वित्तीय सल्लाहकारका रुपमा अभिकर्ता साथीहरुले दिनुभयो भने उहाँहरुलाई लाभ हुन्छ। उहाँहरु त्यसैको विज्ञ हो। हामीकहाँ थरी–थरीका बीमालेख पनि छ। तपाइँले आफ्ना बालबच्चाका लागि दिने बीमा, आफ्नो सामाजिक कार्यका गर्ने बीमा, बुढेशकालको औषधिउपचारका लागि गर्ने पेन्सन बीमा छन्। सिटिजन लाइफमा ९० वर्षसम्म पेन्सन दिने ‘जीवन साथी’ प्रडक्ट छ। दीर्घरोगलगायतका विभिन्न खाले उपचार खर्च ५० लाख रुपैयाँसम्म दिने जीवन बीमा हामीसँग छ।
तर, तपाइँहरुले जे बेच्नुहुन्छ, झन्डै–झन्डै त्यस्तै बीमा योजना अरुले पनि अन्य केही नाम राखेर बेचिरहेका हुन्छन्।
होइन, बीमा योजना भनेको एउटा कम्पनीमा मात्रै हुन्छ वा त्यस्तो धेरै भिन्नता पाइन्छ भनेर आशा नगरे पनि हुन्छ। किनकि त्यति ठूलो अन्तर हुँदैन। एकले मात्रै बेचेको एउटामात्रै चिज कहाँ छ र ?
त्यसो भए त ए भन्ने कम्पनीमा जानु र बी भन्ने कम्पनीमा जानु खासै फरक भएन नि ?
त्यसमा के छ भने सेवाको कुरा हो। अहिले संसारभरि सबै चिजमा सेवा हो। मोबाइल सेवा प्रदायक होस् वा बैंकिङ सेवा प्रदायक होस्, प्रायः सबैको उस्तै–उस्तै हुन्छ नि। कति फरक हुन्छ। तर, उनीहरुले दिने सेवा चाहिँ फरक हुन्छ।
यसको अर्थ सिटिजन लाइफले अभिकर्ता बनाउँदा वा नयाँ बीमित बनाउँदा अन्य कम्पनीभन्दा हामीकहाँ आऊ, हामी राम्रो सेवा दिन्छौँ भन्ने हो ? यो एउटा अस्त्र पनि रहेछ हैन ?
हामीकहाँ दुवै कुरा। हामीकहाँ बीमा योजना पनि। हाम्रा बीमा योजनामा पनि भिन्नता छ। अनि हामी अरुभन्दा राम्रो सेवा दिन काम गरिरहेका छौँ। हाम्रो पहिलो प्राथमिकता भनेकै सेवा हो। आजको व्यस्त मान्छेले सेवा राम्रो पायो भने उसले अतिरिक्त खर्च गर्छ। त्यो हाम्रो अध्ययनको प्रतिफल पनि हो। मान्छेले राम्रो सेवाका लागि राम्रो खर्च गरेको अवस्था छ।
बीमा कम्पनीहरुको प्राथमिकतामा को कहाँ पर्छन् ? पहिलोमा त बीमितलाई राख्नैपर्यो किनकि उनीहरुबाट पैसा उठाइएको छ। दोस्रो कम्पनीका प्राइमरी इन्भेस्टरलाई राख्नुपर्यो होला। त्यसपछि कर्मचारीलाई राख्नुपर्ला ? लगानीकर्तालाई रिटर्न दिनुपर्ला र कर्मचारीहरुलाई उनीहरुको वृत्तिविकास र जीविका सुरक्षित हुने गरी तलब दिनुपर्ने होला। अनि त्यसपछि एजेन्सलाई दिनुपर्ला।
सबैको आ–आफ्नो रोल हुन्छ। हरेकको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। कसैको कमी वा कसैको बढी भन्ने होइन। अभिकर्ताले कम्पनीको प्रडक्ट राम्ररी बुझेर ग्राहकको आवश्यकताअनुसार बीमा पोलिसी बेच्ने हो। हाम्रा कर्मचारीलाई अभिकर्तालगायत विभिन्न सम्पूर्ण सेवाग्राही सेवा दिनका लागि ओरेन्टेसन गरिएको हुन्छ। त्यसैगरी लगानीकर्ताहरुलाई हामीकहाँ यो सुरक्षित कम्पनी हो, त्यसैले ढुक्क भएर लगानी गर्न र फ्युचरमा यसले दिने भ्यालु रिटर्नमा एस्योर हुन हामीलाई उहाँहरुलाई कन्भिन्स गर्ने हो र बोर्डमा त्यही लेभलमा भन्ने हो। रेगुलेटरलाई पनि यो सिस्टममा चलेको कम्पनी हो र भोलि पोलिसीहोल्डरको प्रोटेक्सन यो कम्पनीमा हुन्छ भन्ने कुरामा विश्वास गराउने हो। सरकारलाई कर तिर्ने हो। सबै स्टेकहोल्डरलाई कम्फर्टली चलाउन आआफ्नो ठाउँबाट भूमिका हुन्छ। सबैको समान भ्यालुएसन हुन्छ।
तीनै तहको सरकारले बीमा बुझिदिनुपर्यो। नियामकले बीमा कम्पनीहरुको सुशासन कायम गर्दै बजार वृद्धिका लागि भूमिका खेल्नुपर्यो र आमनागरिकले बीमाबारे यथेष्ठ जानकारी प्राप्त गरी सहभागी हुनुपर्यो भन्ने उद्देश्यका साथ कार्यक्रममा जोडिरहेका छौँ। र, अन्त्यमा तपाइँलाई अझै केही कुराहरु राखम् भन्ने छ भने राख्नुहोस्।
बीमाका लागि एक तहमा सबै बुझेको अवस्था छ। अब सरकारले पनि मनन् गर्दै गएको छ। अब सरकार र स्थानीय तहबाट गर्न सकिने केही कार्य योजना आउनुपर्छ। मेरो अन्तिम कुरा डिजिटल पेमेन्ट र डिजिटल प्रोसेसिङ गर्ने कुरामा हामीकहाँ भएको तथ्यांकमा सुरक्षित पहुँच गर्ने र त्यसलाई सहजीकरण गर्न एउटा समन्वयकारी एजेन्सीका रुपमा अथवा समन्वकारी तरिकाबाट काम गर्न सक्यौँ भने बीमा क्षेत्रमा कायापलट गर्न सक्छौँ। त्यो भयो भने इन्स्योरेन्स गर्ने र भुक्तानी गर्नेमा बेलामा राम्रो काम गर्न सकिन्छ। त्यसैले तपाइँहरुकै यो माध्यमबाट डिजिटलाइजेसनलाई चाँडोभन्दा चाँडो अगाडि बढाउनुपर्छ र यो आजको आवश्यकता पनि हो।