IME Life New

हिमालयन हाइड्रो एक्स्पो वैशाख दोस्रो साता, बाह्य बजार र लगानी विस्तारमा टेवा पुग्ने अपेक्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी वैशाख दोस्रो साता राजधानीको भृकुटीमण्डपमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नाराका साथ आगामी बैशाख १२ देखि १४ गतेसम्म तदनुसार अप्रिल २४ देखि २६ तारिखसम्म हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुन लागेको हो।

राजधानीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले ऊर्जामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो। सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा विकास मार्गचित्र तयार गरेको सन्दर्भमा ऊर्जा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए। ‘भारतमा १० हजार मेगावाट, बंगलादेशमा ५ हजार मेगावाट र १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक रुपमा खपत गर्ने योजना सरकारले अघि सारेको छ’, इप्पान अध्यक्ष कार्कीले भने, ‘नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता पनि भर्खरै भएको छ। यस्तो अवस्थामा जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको हो।’

Esewa
Crest

हाल २९ सय १ मेगावाट जडित क्षमता रहेकोमा निजी क्षेत्रबाट मात्र सोलारसहित १७१ आयोजना सम्पन्न भई २२ सय १४ मेगावाट ऊर्जा उत्पादन भैसकेको छ। यसैगरी ३३ सय ९७ मेगावाट बराबरका १३१ आयोजना निर्माणाधीन अवस्थामा छन् भने ३६ सय १५ मेगावाट बराबरका १३८ आयोजना विद्युत खरिद सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको चरणमा छन्। यसैगरी करिब १९ हजार ६२३ मेगावाटबराबरका २५८ आयोजना निजी क्षेत्रबाट अनुमतिपत्र लिएर निर्माणको विभिन्न चरणमा भए पनि नतिजाउन्मुख अवस्था नभएको इप्पनका उपाध्यक्ष आशीष गर्गले बताए। ‘तथ्यांक एकातिर छ, वास्तविकता अर्कैतिर भएको अवस्थामा सरकारको ऊर्जा उत्पादनको लक्ष्य पुरा गर्न ठुलो लगानी आवश्यक छ, यसलाई सघाउन पनि इप्पानले एक्स्पो आयोजना गर्न लागेको हो’, उनले भने।

नेपालका साथै विभिन्न मुलुकका ऊर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्परिक सहकार्यमा समेत एक्स्पोले सहजता ल्याउने इप्पानका महासचिव बलराम खतिवाडाको विश्वास छ। जलविद्युतको बजार विस्तारका साथै बाह्य लगानीमा सहकार्यको अवसर पनि एक्स्पोले उजागर गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ। सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत एक्स्पोमा सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने इप्पानको योजना रहेको खतिवडाले बताए।

नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ। एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकतालगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिनेछ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डन्डीलगायतका २०० स्टल रहने र तीमध्ये झन्डै ५० प्रतिशत विदेशी स्टल हुने इप्पानको भनाइ छ। इभेन्ट सोलुसन प्रालिले व्यवस्थापन गर्ने एक्स्पोको स्टल बुकिङ बुधबारदेखि नै खुला गरिएको एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए। स्टलका साथै एक्स्पोका सम्बन्धमा जानकारी लिन चाहने प्रदर्शकहरुलाई इप्पान तथा इभेन्ट सोलुसन प्रालिमा सम्पर्क गर्न पनि प्रधानले आग्रह गरेका छन्।

एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरु सहभागी हुनेछन्। हाइड्रोपावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रोपावरसम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिस्पर्धा एक्स्पोको आकर्षण बन्नेछ।

जलविद्युतका लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो राख्ने सबैका लागि जानकारीको केन्द्र बन्ने एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। एक्स्पोबाट २५ अर्ब रुपैयाँभन्दा बढीको वित्तीय व्यवस्थापन, निर्माण उपकरण तथा प्रविधिको आदान प्रदान हुने इप्पानको अपेक्षा छ।

यसअघि सन् २०१७, २०१८ र २०२२ मा एक्स्पोको तीनवटा संस्करण सफलतापुर्वक आयोजना भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS