IME Life
GBIME

करोडौं रूपैयाँ दाबी कुम्ल्याउन बीमामा धोकाधडीका घटना बढ्दै, कसरी हुन्छ फर्जी दाबी ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । जीवन बीमा भनेको बीमित र जीवन बीमा कम्पनी बीचको कानूनी सम्झौता हो। यो सम्झौतामा, बीमक (अर्थात् जीवन बीमा कम्पनी) बीमालेखले मनोनयन गरेका लाभार्थीहरुलाई निश्चित रकम उपलब्ध गराउन सहमत हुन्छ। यो रकम बीमितको मृत्यु वा पूर्व निर्धारित अवधि पछि भुक्तानी गर्छ। बीमितले बीमा कम्पनीलाई बीमा अन्तर्गतका सुविधा र भुक्तानीहरु सुरक्षित गर्न नियमितरुपमा बीमाशुल्क भुक्तानी गर्नुपर्छ। यसरी बीमितले नियमितरुपमा बीमाशुल्क भुक्तानी गर्ने र बीमकले बीमालेख अन्तर्गतको शर्त अन्तर्गत रहेर रकम भुक्तानी गर्ने कानूनी दायीत्व बहन गरिरहेका हुन्छन् । बीमालेखका शर्तहरुको इमान्दारितापूर्वक पालना गर्नु दुबै पक्षको कर्तव्य समेत हुन्छ।

जीवन होस् वा निर्जीवन बीमा, दुबै खाले बीमा परम सदविश्वास (अटमस्ट फेथ) मा आधारित हुन्छ। अर्थात् बीमितले बीमा गरिएको विषयवस्तुको जोखिमसँग सम्बन्धित कुनै पनि विवरण ढाँटेको हुँदैन भन्ने सिद्धान्तमा बीमा अडिएको हुन्छ। बीमितले परम सदविश्वासको सिद्धान्तलाई उल‌ंघन गरेको प्रमाणित भएको अवस्थामा बीमकसँग धोकाधडी गरिएको भन्ने स्वतः पुष्टी हुन्छ र बीमकले बीमितलाई बीमालेख अन्तर्गतका कुनै पनि दाबि भुक्तानी गर्न अस्वीकृत गर्न सक्छ।

Crest

बीमामा दाबीमार्फत् गलत बाटोबाट पैसा हात पार्ने दाउँमा रहेको व्यक्ति वा समूहले योजनाबद्धरुपमा जीवन बीमाको प्रस्तावको चरण देखि नै धोकाधडीको काम शुरु गरि सकेका हुन्छन् । जीवन बीमा कम्पनीहरुले नेपाली बजारमा समेत करोड करोड रकम बीमा‌ंकको बीमालेखहरुको बिक्रीलाई प्राथमिकता दिएयता जीवन बीमा कम्पनीहरुमा फर्जी दाबी वा धोकाधडीपूर्ण दाबीका घटनाहरु बढ्दै गएका छन् ।

बाराको कलैयामा गत वर्ष भएको एक बीमित महिलाको दुर्घटना मृत्यु स्वाभाविक नभएर उनकै श्रीमानले बीमा दाबीवापतको डेढ करोड रुपैयाँ  हात पार्नका लागि नियोजितरुपमा गराएको हत्या थियो भन्ने पुष्टी भएको छ। त्यसअघि बाँकेको कोहलपुरमा सर्जन बिक नाम गरेका सुकुम्बासी यूवकको टिप्परको ठक्करबाट मृत्यु भएको घटनालाई लिएर प्रहरीले अनुसन्धान गर्दा डेढ करोड रुपैयाँ बीमा दाबीका लागि नियोजितरुपमा उनको जीवन बीमा गरिएको र पछि हत्या गरिएको समेत खुलासा भएको थियो । यस्ता घटनाले बीमाको प्रस्तावको चरण देखि नै धोकाधडीको बिउ रोप्ने काम आपराधिक मानसिकताका व्यक्तिहरुले शुरु गरिसकेका हुन्छन् भन्ने पुष्टी गरेको छ।

यद्यपि, केही बेईमान व्यक्तिले बीमा धोखाधडी गर्ने अनेक उपायहरु अपनाउने गरेका छन् । धोकाधडीपूर्ण बीमा दाबीले बीमक र बीमितका साथै शेयरधनी र बीमकको कर्मचारीसम्मलाई नकारात्मक प्रभाव पार्छ।

बीमामा धोकाधडीको स्वरुपः

१.बीमालेखको प्रस्तावकै चरणमा धोकाधडीः

बीमाको प्रस्तावकै चरणमा हुने धोकाधडीमा बीमालेखको प्रस्ताव फारम भर्ने समयमा नै बीमितले कुनै विवरण ढाँट्ने वा लुकाउने काम गर्छ। प्रस्तावकले आफ्नो वा बीमा गर्रन लागिएको विषय वस्तुसँग निहित जोखिमहरुको बारेमा जानकारी लुकाउँछ। जीवन बीमाको हकमा स्वास्थ्य अवस्थाबारे ढाँट्ने, बीमायोग्य हित नभए पनि बीमायोग्य हित कायम रहेको फर्जी प्रमाण पेश गर्ने(सर्जन विकको हत्याको घटनामा बीमा दाबी रकम हात पारेकी महिलासँग उनको कहिल्यै बिहे नै भएको थिएन तर विवाह दर्ता प्रमाण पत्र तयार पारिएको थियो ),उमेरसँग सम्बन्धित प्रमाण ढाँट्ने, जोखिमपूर्ण काममा लागेको छ भने त्यस्तो कामको जानकारी लुकाउने लगायतका विवरण बीमा प्रस्ताव फारम भर्ने समयमा ढाँट्ने काम हुन्।

यसबाहेक निर्जीवन बीमामा बीमा गर्न लागिएको विषयवस्तुको खरिद मूल्य वा वास्तविक मूल्य ढाँट्ने, भौतिक वस्तुको अवस्थाबारे झूठो जानकारी दिने, बिग्रिएको वा म्याद गुज्रिएका वस्तुको बीमा गर्ने लगायतका काम प्रस्तावका चरणमा हुने धोकाधडी हुन् ।

 २. बीमा दाबीका क्रममा धोकाधडीः

बीमाको प्रस्तावकै चरणमा हुने धोकाधडीबाहेक बीमा दाबीका समयमा गरिने ठगी चाहिँ ठगीको दोश्रो चरण हो । यसमा विशेषगरी दीर्घ रोगका कारण मृत्यु भएपनि कालगतीले मृत्यु भएको, मृत्यु हुनु अघि स्वास्थ्य संस्थाहरुमा उपचार गराइएको भए पनि दीर्घरोगबारे खुलासा हुने डरले उपचारका कागजप्रमाण लुकाउने काम पनि जीवन बीमामा दाबीका क्रममा हुने धोकाधडीका नियमित दोहोरिने प्रकरणहरु हुन् ।

३. जालसाजीः

जालसाजी तब हुन्छ जब कसैले (सामान्यतया परिवारका सदस्यहरू) जीवन बीमालेख परिवर्तन गर्छ वा जालसाजी गर्छ। यसमा बीमितको जानकारी बिना लाभार्थी परिवर्तन गर्ने कार्य, उदाहरणका लागि बाँकेका सर्जन बिकको बीमामा उनीसँग कुनै साइनो नै नभएको यूवतीलाई उनको श्रीमतिको हैसियतमा बीमालेखमा लाभार्थीको सूचीमा समावेश गराइएको थियो । यसैगरी मृत्यु लाभ बढाउने, उदाहरणका लागि बारामा नाथु देवानले आफ्नो श्रीमति हजरा खातुनको हत्या गराएको घटना दुर्घटना मृत्यु लाभ वापत बीमा‌ंकको तीन गुणा रकम पाउने नियतले भएको थियो ।

निर्जीवन बीमामा बीमितले बीमा गरिएको विषयवस्तुमा आफैंले क्षति पुर्याएर बीमा दाबीवापतको रकम हात पार्ने दाउँ पनि जालसाजीको उदाहरण हो । उदाहरणका लागि निरन्तर केही वर्ष देखि घाटामा सञ्चालन भइरहेको कुनै उद्योगमा आगलागीको घटना हुने र पछि उद्योग पुनः सञ्चालनमा नल्याउने घटनाहरु बीमा धोकाधडीकै एक अ‌ंश हो।चौधरी समूह अन्तर्गतको मेगा उल(वीरगंज) र पशुपति विष्कुट(सुनसरी) मा भीषण आगलागीको घटना यी दुबै उद्योगहरु लगातार घाटामा गएपछि भएका थिए । यसैगरी केडिया समूहको लगानी रहेको भक्तपुरमा अवस्थित यती कार्पेट उद्योगमा आगलागी पछि भक्तपुरको उद्योग सधै‌ंका लागि बन्द गरिएको थियो। यद्दपी यी सद्योगमा भएका आगलागीका घटनापछिको अनुसन्धान प्रतिवेदनहरु सार्वजनिक जानकारीमा ल्याइएका छैनन् ।

४‍. नक्कली बीमालेख र बीमाशुल्क रसिदः

बीमितसँग बीमाशुल्क वापतको रकम लिएर नक्कली बीमालेख वा बीमाशुल्क रसिद दिने काम पनि बीमा अन्तर्गत हुने ठगी वा धोकाधडीपूर्ण कामको उदाहरण हो । विशेषगरी नाम चलेका अभिकर्ता, बीमा कम्पनीकै कर्मचारी वा चिनजानका मान्छेले बीमितलाई विश्वासमा लिएर बीमाशुल्क वापतको पैसा नगदै लिने तर बीमा कम्पनीलाई भुक्तानी नगरि दिने घटना जीवन बीमा कम्पनीहरुमा दैनिक जसो प्रकाशमा आउने गरेको छ। पछिल्लो समयमा डिजिटल माध्यमको प्रयोगमार्फत् बीमितलाई एसएमएसमार्फत् जानकारी दिने, मोबाइल वालेट वा मोबाइल एप्स र बीमकको वेबसाइट मार्फत् बीमालेखबारे बीमितलाई सबै जानकारी उपलब्ध गराउने अभ्यास बढ्दै जाँदा यस्ता ठगीका घटना नियन्त्रणमा सकारात्मक प्रभाव पर्दै गएको छ।

नक्कली बीमालेख हात पर्ने वा बीमाशुल्क भुक्तानी नै नभई नक्कली बीमाशुल्क दिइएका बीमितहरु बीमालेख अन्तर्गतका सबै सुविधाहरुबाट वञ्चित हुन पुग्छन् । त्यसैले बीमितले आफ्नो हातमा बीमालखे परि सकेपछि बीमा कम्पनीको प्रधान कार्यालयमा टेलिफोनमार्फत् भएपनि आफूले खरिद गरेको बीमालेख सक्कली वा नक्कली हो भन्ने यकीन गर्नुपर्छ। यसबाहेक अरु कसैमार्फत् बीमाशुल्क किस्ता (प्रिमियम) भुक्तानी गर्दा बीमाशुल्कको किस्ता रकम बुझाएको रसिद हात परि सकेपछि रसिद सक्कली हो वा नक्कली हो भन्ने बारेमा बीमकको प्रधान कार्यालयमा टेलिफोन गरेर यकीन जानकारी लिन सकियो भने ठगीने संभावना कम हुन्छ।

५. पहिचान चोरीः

पहिचान चोरी तब हुन्छ जब एक व्यक्तिको व्यक्तिगत पहिचानसँग जोडिएका प्रमाण र जानकारीहरुको दुरुपयोग गरेर कसैले आफूलाई त्यस्तो व्यक्तिका रुपमा उभ्याउँछ। ठगले आफू वास्तविक बीमित नभए पनि बीमालेख अन्तर्गतका लाभहरुको हात पार्छ। विशेषगरी फर्जी प्रमाण जम्मा गरेर बीमितकै नाममा बै‌ंक खाता सञ्चालन गरेर बीमा दाबी रकम हात पार्ने, बीमालेख हराएको दाबी गरेर नक्कल प्रति हात पार्ने र पछि बीमा दाबीका लागि प्रयोगमा ल्याउने र बीमितको मृत्यु पछि आफू कानूनी हकवाला भएको झूठो दाबी गर्दै बीमा रकम दाबी गर्ने काम पहिचान चोरी अन्तर्गत हुने धोकाधडीपूर्ण कार्य हुन् ।

बीमामा धोकाधडी भएको थाहा पाएपछि के हुन्छ?

जीवन बीमामा धोकाधडी पहिचानका लागि बीमा दाबी विज्ञहरुले अनेक उपायहरुको प्रयोग गर्छन् । यी अचूक उपायहरुको प्रयोगबाट बीमकले सामान्यतया सहजैरुपमा बीमाको प्रस्तावकै क्रममा ढाँटिएको वा दाबीका क्रममा ढाँटिएको भन्ने पत्ता लगाउँछन् । बीमामा ठगी वा धोकाधडी भएको प्रमाणित भएको अवस्थामा बीमकले कुनै पनि किसिमको दायीत्व व्यहोर्नुपर्दैन अर्थात् दायीत्व व्यहोर्नका लागि कानूनले समेत बाध्य बनाउन सक्दैन । बीमामा धोकाधडी भएको प्रमाणित भएको अवस्थामा बीमकको तर्फबाट यस्ता कदमहरु चाल्न सकिन्छः

अवस्था१- बीमालेखको दाबी अस्वीकृत:

धोकाधडी भएको पत्ता लागेको अवस्थामा खोजीमा, बीमकले बीमा दाबीलाई अस्वीकृत गरि दिन सक्छ। परम सदविश्वासको सिद्धान्तको उलंंघन भएको पुष्टी गर्ने प्रमाण नै यसका लागि पर्याप्त हुन्छ। यस्तो अवस्थामा बीमित वा निजको लाभार्थीले बीमालेख अन्तर्गतको कुनै पनि दाबीमा कानूनी हक स्थापित गर्न सक्दैनन् ।

अवस्था २- जीवन बीमालेख खारेजी:

बीमा कम्पनीले बीमालेखको प्रस्तावका समयमा बीमालेखको जोखिम निर्धारणमा तात्विक प्रभाव पार्ने जानकारी लुकाइएको पत्ता लगाएको अवस्थामा बीमकले जुनसुकै बेला बीमालेख रद्द गरि दिनसक्छ। यस्तो अवस्थामा बीमालेख रद्द गरिएको जानकारी दिने बाहेक बीमकको कुनै कानूनी दायीत्व हुँदैन। बीमकले बढीमा बीमितबाट प्राप्त बीमाशुल्क फिर्ता सम्म गरिदिनसक्छ।

अवस्था ३- फौजदारी कसूर प्रमाणित भएको अवस्थामा:

केही अवस्थामा, जीवन बीमा धोकाधडीमा फौजदारी अपराध पनि जोडिएको हुन सक्छ। यदि फौजदारी कसूर गरिएको ठहर भएमा बीमा दाबीबाट लाभ लिनेलाई नगद जरिवाना, जेल वा दुबै सजाय पनि हुन सक्छ।

अवस्था ४- देवानी मुद्दा मामिला:

बीमित वा बीमा दाबीकर्ताले गरेको धोका वा ठगीका कारण बीमकले कुनै आर्थिक नोक्सानी व्यहोर्नु परेको छ भने त्यसको क्षतिपूर्तीको लागि बीमकले कानूनी उपचारको बाटो रोज्न सक्छ। यस अन्तर्गत पहिलो चरणमा नेपाल बीमा प्राधिकरणमा मुद्दा दायर गर्ने र त्यहाँबाट समेत चित्त बुझ्दो निर्णय नभएको अवस्थामा सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिने ।

बीमा ठगीबाट कसरी जोगिने ?
बीमामा धोकाधडीबाट आफू जोगिनका लागि तपाईंले अपनाउन सक्ने सावधानीहरुः
  • जीवन बीमालेख खरिद गर्नु अघि आफूलाई प्राप्त जानकारीहरुबारे ढुक्क हुनुहोस्, बीमा अभिकर्ताले दिएको जानकारीमा मात्र निर्भर नभएर पहिले नै बीमा गराई सकेका परिवारजन  आफन्त र साथीभाईका साथै बीमा कम्पनीको कार्यालयका कर्मचारीलाई समेत आफूले गर्न लागेको बीमाका विशेषता र शर्तहरुबारे सोधपुछ गर्नुहोस् ।
  • बीमालेख प्रस्ताव फारममा उल्लेख गर्नु भएको जानकारी बारे सावधान रहनुहोस् । सत्य तथ्य मात्र प्रस्ताव फारममा उल्लेख गर्नुहोस्। बीमकद्वारा बीमालेख उपलब्ध गराउनु अघि नै अण्डरराइटिङ (जोखिमाङ्कन) पत्र माग्नुहोस् र त्यसमा उल्लेखित आफूसँग सम्बन्धित वा बीमाको विषयवस्तुसँग सम्बन्धित विवरणहरू सुक्ष्मरुपमा जाँच गर्नुहोस् र सही भए नभएको यकीन गर्नुहोस् । गलत छ भने सच्याउन लगाउनुहोस् ।
  • आफ्नो बीमालेखबारे चासो राख्नुहोस्: तपाईंको बीमालेखमा इच्छ्याइएको व्यक्ति वा लाभार्थीमा परिवर्तन गरिएको, आफूलाई सम्पर्क गर्ने माेबाइल नम्बर, इमेल आइडी वा व्यक्तिगत ठेगाना लगायतका विवरणहरु परिवर्तन भएका कुनै शंकास्पद गतिविधि भएको जस्तो लाग्यो भने, तुरुन्तै आफ्नो अभिकर्ता वा बीमकलाई सम्पर्क गरेर जानकारी गराउनुहोस् । आफ्नो बीमालेखको विवरणहरु तपाईले बीमकको आधिकारिक वेबसाइटमार्फत् प्राप्त गर्न सक्नुहुन्छ। वा बीमा कम्पनीको कार्यालयमा सम्पर्क गरेर टेलिफोनमार्फत् जानकारी माग गर्न सक्नुहुन्छ।
  • अचेल बीमाशुल्क भुक्तानीको सुविधा मोबाइल बै‌ंकिङ र डिजिटल वालेटहरुमा समेत उपलब्ध छ। यसले सहज बनाएको छ भने डिजिटलमाध्यमबाट ठगिने जोखिम पनि बढाएको छ। त्यसैले बीमाशुल्क भुक्तानी गर्न वा व्यक्तिगत वा गोप्य जानकारी साझा गर्नको लागि अप्रमाणित स्रोतहरूबाट मोबाइलमा प्राप्त हुने कुनै पनि म्यासेज, विवरण वा लिङ्कमा क्लिक नगर्नुहोस्। तुरुन्त बीमा कम्पनीमा जानकारी गराउनुहोस् ।
  • बीमा कम्पनीको तर्फबाट सुलभ ब्याज दरमा ऋण दिइने प्रस्ताव, तपाईले खरिद गरेको बीमालेखको बोनश रकम भुक्तानी दिने प्रस्ताव वा बीमालेखमा उल्लेख भए अनुसारको अतिरिक्त लाभ भुक्तानीका लागि तपाईको मोबाइलमा प्राप्त हुने कोड वा तपाईको व्यक्तिगत विवरण माग गरिएको कुनै म्यासेज,फोन कल वा इमेल प्राप्त भएको छ भने सावधान रहनुहोस् । भ्रममा नपर्नुहोस् ।
  • तपाईंको संवेदनशील र गोपनीय विवरणहरू साथै ग्राहक पहिचान फारममा उल्लेखित विवरणहरु अपरिचित व्यक्तिलाई नदिनुहोस्।

बीमामा हुने धोकाधडीले बीमित र समग्र बीमा कम्पनीलाई प्रभावित तुल्याउँछ। फर्जी दाबीले अनावश्यक वित्तीय भार बढाउँदा बीमा कम्पनीको खर्च वा नोक्सानी बढेर बासलातमा नाफा घट्ने वा घाटाको अ‌ंक बढ्ने हुनजान्छ। यो बाहेक जीवन बीमा कम्पनीका बीमितले पाउने बीमालेख बोनशको रकम समेत थोरै मात्र हुन्छ । शेयरधनीले प्राप्त गर्ने लाभ‌ा‌ंश पनि कटौती भएर जान्छ। बीमामार्फत् हुने धोकाधडी नियन्त्रण गर्नका लागि बीमा कम्पनीहरुले आफ्नो तर्फबाट निरन्तर प्रयास जारी राखेका हुन्छन् । बीमितको हैसियतमा तपाईले बीमामा हुने ठगीबारे जानकारी लिएर सचेत रहनुपर्छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS