काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा सरकारले बीमा क्षेत्रलाई उल्लेख्य रुपमा समेटको छ । यस वर्षको बजेटले बीमा क्षेत्रलाई प्रोत्साहन गरेको देखिएको छ । यस पटकको बजेटमा बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरुका विषयलाई प्रभावकारी तथा सकारात्मक रुपमा समेटेको छ । प्रस्तुत बजेटमा बीमा क्षेत्रसँग सम्बन्धित १४ वटा बुँदा समेटिएका छन्।
यस्ता छन् बीमामा समेटिएका विषयहरु
- राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणमा निष्काशन गर्ने ।
- कृषि र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउदैँ लैजाने ।
- कृषि बीमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि रू २ अर्ब १० करोड विनियोजन ।
- स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनःसंरचना गर्ने ।
- स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी तीन वर्षमा ९० प्रतिशत नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार । खर्चमा उल्लेख्य कटौती हुने ।
- स्वास्थ्य बीमा कार्यक्रमका लागि रू १५ अर्ब बजेट विनियोजन ।
- कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दाबी प्रणाली थप प्रभावकारी बनाउने ।
- नेपाली बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था मिलाउने।
- दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गर्ने। जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था मिलाउने ।
- लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्क रू १० लाख पुर्याइने ।
- कर्मचारी सञ्चय कोष नागरिक लगानी कोष निक्षेप तथा कर्जा सुरक्षण कोष स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले सञ्चालन गर्ने सुरक्षण कार्यक्रमको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था मिलाउने।
- सहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रुपमा बीमा गर्ने व्यवस्था गर्ने।
- विपद् पश्चातको क्षतिपूर्ति, राहत र पुनर्निर्माणका लागि बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरणको विस्तार गर्ने।
- आवासीय भवनको बीमा बापत अधिकतम दश हजार रूपैयाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था मिलाइने ।












