काठमाडौं । चिलिमे त्रिशुली प्रशारण लाइन निर्माणकाे काम आगामी पुस मसान्तभित्र सम्पन्न गरिसक्नका लागी नेपाल विद्युत प्राधिकरणले समय सीमा निर्धारण गरिदिएकाे छ। अबकाे चार महिनाभित्र निर्माण कम्पनीले त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण कार्य पुरा गरी सक्नुपर्नेछ।
त्रिशूली नदी र सहायक खोलामा निर्माण भइरहेका र भविष्यमा निर्माण हुनसक्ने जलविद्युत् आयोजनाले उत्पादन गर्ने जलविद्युत् उर्जा राष्ट्रिय प्रशारण लाईनमा प्रवाह गर्नका लागी प्राधिकरणले चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना निर्माण कार्य गराइ रहेकाे छ ।
आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीमा २२०,१३२ र ३३ केभी क्षमताकाे क्रमशः चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण कार्य भइरहेकाे छ । यसबाहेक चिलिमे-त्रिशूली थ्री बी हब २८ किलोमिटर लामाे २२० केभी क्षमताकाे डबल सर्किट प्रसारण लाइन समेत निर्माण भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले स्थलगत अध्ययन पछि पुस महिनासम्मकाे समय सीमा निर्धारण गर्ने निर्णय गरेकाे हाे ।
प्रसारण लाइन निर्माणकाे काम समयमै पुरा हुन नसके निर्माणाधीन १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्युत् खेर जाने जाेखिम छ।
कुल २८ किलोमिटर प्रसारण लाइनका लागी याेजना अनुसारकाे ७६ वटा टावरमध्ये ५६ वटाको मात्र जग तयार भएकाे छ । बाँकी टावरको जग हाल्ने तयारी चलिरहेकाे छ । ४८ वटा टावर ठड्याउने काम सम्पन्न गरेर जम्मा १० किलोमिटर प्रशारण लाइन निर्माण गरेकाे छ । आयोजनाको समग्र निर्माण प्रगति ९० प्रतिशत रहेपनि भाैगाेलिक अवस्थित र कठिन भूगाेलका कारण टावर निर्माणकाे कार्य चार महिनाकाे बाँकी अवधिभित्र पुरा हुन चुनाैती रहेकाे बताइएकाे छ ।
तीन करोड ९० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी रहेकाे छ। परियाेजनाकाे लागी जर्मन विकास बैंक र युरोपियन इन्भेष्टमेण्ट बैंकले सहुलितपूर्ण ऋण लगानी गरेकाे छ ।