काठमाडाैं । विश्वव्यापी आर्थिक मन्दीकाे चपेटामा पर्दै गएकाे मुलुककाे अर्थतन्त्र उकास्नका लागी नीतिगत तहमा भएका प्रयासले अपेक्षित नतिजा दिन सकेकाे छैन । बढ्दाे व्यापार घाटा, संगठितरूपमा भइरहेकाे वित्तीय अपराध(सुन तस्करी काण्ड समेत) लगायतका कारणले विदेशी मुद्रा सञ्चितीमा दबाब परेकाे छ।
बढ्दाे महँगीसँगै आम्दानीकाे श्राेत खुम्चिएकाले सर्वसाधारणकाे बचत क्षमतामा ह्रास आएकाे छ। नियमित श्राेतबाट हुने आम्दानी खुम्चिए पछि पैसा जाेहाे गर्ने हर संभव उपायकाे खाेजीमा लाग्न सर्वसाधारण बाध्य हुनु परेकाे छ। आर्थिक मन्दीले धाेकाधडी, छलछाम, चेक बाउन्स, खराब कर्जाकाे दबाब बढाएकाे छ।
मन्दीकाे असर बीमा दाबीमा देखा पर्न थालेकाे छ। वित्तीय अपराधमा बैंकका कर्मचारीकाे संलग्नताकाे घट्ना पनि ह्वात्तै बढेकाे छ। बैंकका बचतकर्ता वा ऋणीकाे खाताबाट कराेड रूपैयाँसम्म पनि बैंकका कर्मचारीहरूकाे मिलेमताेमा नै गायब पारिएकाे छ। छाेटाे समयमै यस्ताे घटनाहरू श्रृंखलाबद्धरूपमा उजागर भइरहेका छन् ।
बीमा क्षेत्रका जानकारहरूकाे भनाईमा आर्थिक मन्दीले जीवन बीमा व्यवसायमा पार्ने विभिन्न नकारात्मक प्रभावमध्ये फर्जी दाबी वा नियाेजित हत्या गरेर दाबी हात पार्ने प्रवृत्ती पनि एउटा मुख्य प्रभाव मध्येकाे हाे । मन्दीका कारण जीवन बीमा व्यापारकाे बिस्तारमा सुस्तता आएकाे छ। नयाँ बीमालेख बिक्री नैराश्य ढंगले घटेकाे छ । पुराना बीमालेखकाे नविकरण दर खुम्चिन थालेकाे छ। बीमालेख समर्पण गरेर पैसा झिक्न खाेज्ने बढेका छन् । बीमालेखकाे धिताेमा कर्जा लिने बढेका छन् । कर्जा रकम चुक्ता नगरेका कारण बीमालेख जफत समेत बढ्न थालेकाे छ।
परिवारका सदस्यकाे हत्या गरेरै भएपनि बीमाकाे रकम हात पार्ने प्रवृत्ती मधेशका जिल्लाहरुमा तुलनात्मकरुपमा बढी पाइएकाे छ। अझ स्पष्ट भन्नुपर्दा जीवन बीमावापतकाे रकम दाबी गर्नका लागी नियाेजितरुपमा श्रीमान्, श्रीमति, छाेराछाेरीकाे हत्या गर्ने प्रवृत्ती सातप्रदेशमध्ये मधेश प्रदेशमा तुलनात्मकरूपमा बढी पाइएकाे छ।
राैतहटमा नाबालककाे हत्या, सप्तरीमा करेन्ट लगाएर श्रीमानकाे हत्या, बारामा श्रीमतिकाे हत्याका घटनाले मधेश प्रदेशमा जाेखिमांकन (अण्डराइटिङ) काे क्रममा जीवन बीमा कम्पनीहरू अलि बढी चनाखाे हुनुपर्ने तथ्य स्थापित गरेकाे छ। यी तीनवटै प्रतिनिधिमूलक घटनामा परिवारकाे कुनै एक सदस्यले अर्काे सदस्यकाे बीमा गराई दिएर जीवन बीमाकाे रकम हात पार्नका लागी सुनियाेजितरुपमा हत्या गरिदिएकाे प्रहरी अनुसन्धानले बताउँछ ।
जीवन बीमक संघका अध्यक्ष पाेषक राज पाैडेल भन्छन्,जब आर्थिक संकट हुन्छ,तब कामधन्दा खुम्चिन्छ, ऋण तिर्न सक्ने, पैसाकाे व्यवहार चलाउन सक्ने अवस्था कमजाेर हुन्छ र अन्ततः समाजमा वित्तीय अपराधका घट्ना बढ्छ।
व्यापार बढाउनका लागी पचास लाखदेखि एक कराेड रुपैयाँसम्मकाे ठूला बीमांककाे बीमालेख बिक्रीमा ध्यान केन्द्रित हुँदा पनि बीमाभित्र अपराधलाई प्रश्रय मिलेकाे देखिन्छ। बीमित वा प्रस्तावले बाहिरी आवरणमा देखाएकाे भन्दा पनि वास्तविक वित्तीय अवस्था कस्ताे छ भन्नेमा चासाे राख्ने हाे भने ठूला बीमांककाे जीवन बीमामा बीमितकाे अनाहकमा मारिने संभावनालाई टार्न संभव हुनसक्छ। सीमित संख्यामै बिक्री गरेपनि ठूलाे बीमांककाे बीमालेखबाट बीमाशुल्कवापत ठूलाे रकम आम्दानी हुने भएकाले अभिकर्ता, शाखाका कर्मचारी, अण्डराइटिङ विभाग र उच्च व्यवस्थापन समेत यस्ताे प्रस्तावकाे जाेखिम मूल्यांकन गर्दा केही संवेदनशील विषयलाई नजर अन्दाज गर्न तयार भइदिन्छन् ।
बाराकाे घटनाले मृत्यु दाबी भुक्तानीमा प्रहरीकाे घटना मुचुल्का र अस्पतालकाे अनुसन्धान प्रतिवेदन समेत शंकास्पद मान्नुपर्ने पाठ जीवन बीमकलाई सिकाएकाे छ। जिल्ला प्रहरी कार्यालयसँग चार पटकसम्म पनि साेधपुछ गर्दा दुर्घटना भनिएकाे विषयमा अहिले प्रहरी कार्यालयले नै हत्याकाे आशंकामा अनुसन्धान शुरू गरेकाे छ। याे घटनामा बीमा दाबीकाे रकम बाँडफाँडमा कुरा नमिलेकाे हुनसक्छ, एकजना अनुभवी अभिकर्ता भन्छन्, मृतक महिलाकाे माइती पक्षसँग साेधपुछ गर्दा हत्याकाे शंका नभएकाे भन्नेले नै अहिले बीमा दाबीकाे रकम भुक्तानी पछि एक्कासी आएर हत्याकाे जाहेरी दिएकाे छ।