काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को १० महिना (साउन-वैशाख)सम्म करिब साढे ५६ रुपैयाँ नाफा कमाएका छन्।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको वैशाखसम्म ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ नाफा कमाएका हुन्। अघिल्लो वर्ष २०८१।८२ को वैशाखसम्म वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १८.१६ प्रतिशतले बढेको छ।
तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अग्रस्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म १३ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ७ वटाको घटेको छ।
समीक्षा अवधिसम्म नबिल बैंकले ६ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा ३६.८६ प्रतिशतले बढेको छ।
यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। समीक्षा अवधिसम्म बैंकले ५ अर्ब १९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ३.०७ प्रतिशतले घटेको छ।
तेस्रो धेरै नाफा कमाउनेमा कुमारी बैंक रहेको छ। बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४८ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ८३३.१० प्रतिशतले बढेको छ। वाणिज्य बैंकहरुमा यो वृद्धिदर सर्वाधिक हो।
त्यस्तै समीक्षा अवधिसम्म नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब ८० करोड ३२ लाख रुपैयाँ र एभरेष्ट बैंकले ३ अर्ब ७० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म नेपाल इन्भेस्टमेन्ट मेगाले ५ अर्ब २ करोड ८ लाख रुपैयाँ र एभेष्टले ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा नेपाल इन्भेस्टमेन्ट मेगाको नाफा क्रमशः २४.२५ प्रतिशत र एभरेष्टको ५.१८ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एसिया बैंक रहेको छ। यो बैंकले ३३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
कुन बैंकले कति कमाए नाफा ?













