काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरण मामिलामा विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेसँगै नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा पनि स्वतः निलम्बनमा परेका छन्।
सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरण विभागले गठन गरेको अनुसन्धान टोलीले तयार गरेको प्रतिवेदनका आधारमा विशेष अदालतमा अभियोगपत्र दायर गरेसँगै थापा नेपाल रिको सीईओबाट निलम्बित भएका हुन्। पाल्पाको तानसेन नगरपालिका–१३ स्थायी निवासी थापा हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ मा बसोबास गर्दै आएका छन्।
कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २२ बमोजिम तथा मुलुकी फैजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दायर गरेको छ।
तत्कालीन सरकारले थापालाई २०८१ जेठको दोस्रो साता नेपाल रिको सीईओमा नियुक्त गरेको थियो।
यसअघि सरकारी वकिलको कार्यालयले धितोपत्र बजारमा संगठित रुपमा गैरकानुनी गतिविधि गरी सर्वसाधारण लगानीकर्तालाई ठगी गरेको अभियोगमा थापासहित बीमा क्षेत्रमा आबद्ध ८१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरिसकेको छ।












