काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज बिहीबार साँझ ५ः०३ बजेसम्ममा १ अर्ब २२ करोड ६४ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । जसका अनुसार १० लाख ६७ हजार १८० जनाले १ करोड २२ लाख ६४ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो । त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि ५० हजार कित्ता सम्ममा लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले भदौ ५ गतेसम्ममा मात्रै आवेदन खुल्नेछ ।
कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ ।