काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आआइपीओ आज बुधबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले बुधबार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने जनाएको हो ।
कम्पनीले साउन ४ गतेदेखि साउन ८ गतेसम्म सर्बसाधारणलाई आइपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारण समुह तर्फको २३ लाख ८९ हजार ५०० कित्ता मध्ये ५ प्रतिशत अर्थात एक लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले रामेछाप जिल्लामा २८।१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रतिमेगावट लागत २२ करोड ६७ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।