काठमाडौं । दिगो बैंकिङ अन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी) बीच सम्झौता भएको छ ।
नबिल बैंक र पिआईएससले चैत महिनामा “युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने” विषयमा संचालित दुई दिने कार्यशालाको आयोजना गरेको थियो । नबिल बैंकको तर्फबाट नायब महाप्रबन्धक–आदर्श बजगाईं र (पिआईएससी नेपाल) का कार्यकारी निर्देशक प्रवीण खनालले युवा उद्यमशीलतालाई मद्दत र प्रवर्द्धन गर्ने उक्त प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए ।
युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्न आयोजित उक्त कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी, इच्छुक उद्यमी लगायतले उद्यमशीलता विकासका लागि आफ्नो विचार र अवधारणा नोट प्रस्तुत गरेका थिए । उत्कृष्ट अवधारणा पिआईएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजक संस्थाले बताएको छ । उक्त कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरुलाई नबिल बैंकले आवश्यक परेमा बैंकको नीतिको अधिनमा रही विभिन्न बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ ।
उक्त कार्यशालामा बोल्दै नबिल बैंकका नायव महाप्रबन्धक आदर्श बजगाईंले युवा उद्यमशीलता मार्फत आर्थिक बृद्धि तथा दिगो विकाशका लक्ष्यहरु हसिल गर्नुपर्ने बताए । साथै उनले बैंकमा दिगो बैंकिङ्ग सम्बन्धी छुट्टै विभागले यस सम्बन्धमा काम गर्दै आइरहेको जानकारी दिए । नबिल दिगो बैंकिङले उद्यमशीलता सम्बन्धी तालिम तथा वित्तीय साक्षरता सम्बन्धी काम गर्दै आउनुका साथै महिला, किसान र युवाहरूका लागि नबिल किसान कर्जा र उद्यमशील कर्जा प्रदान गर्दै आएको छ । साथै, युवा उद्यमशीलता प्रवर्द्धनका लागि आयोजित यस्तो कार्यशालालाई सहयोग गर्न पाउदा खुसि लागेको समेत नायव महाप्रबन्धक बजगाईले बताए ।
कार्यक्रममा बोल्दै आयोजक संस्थाका कार्यकारी निर्देशक प्रवीण खनालले “बजार कहिल्यै मर्दैन – उद्यमशीलता कहिल्यै मर्दैन“ भन्दै राष्ट्र निर्माणका लागि युवा उद्यमशीलता महत्वपूर्ण रहेकोमा जोड दिए । साथै, नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले राष्ट्रको आर्थिक उन्नतिमा महिलाद्धारा संचालित व्यवसाय/उद्यमलाई प्रवद्र्धन गुनपर्ने बताइन् ।