काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आज पुस ११ गते चौथो वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति सहित एजेण्डाहरु तय गरेको हो । कम्पनीले साधारणसभामा सञ्चालसमितिबाट यस अगाडी ५ दशमलव २६३२ प्रतिशत नगद लाभांशलाई साधारणसभामा पेश गर्ने भएको छ ।
सभाले संचालक समितिमा साधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सामान्य प्रस्ताव रहेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्नेछ ।
सभामा कम्पनीको नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ । कम्पनीको नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम ७ लाख ५० हजार रुपैयाँ कम्पनी ऐन अनुसार अनुमोदन गर्न प्रस्ताव रहेको छ ।
साधारणसभा प्रयोजनका लागि मंसिर २६ गते एकदिन बुक क्लोज गर्ने भएको छ । मंसिर २५ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनका साथै साधारणसभामा भाग लिन पाउने छन् ।