काठमाडौं । नेपाल सरकारले बीमा समितिको सञ्चालक समितिमा आन्तरिक राजश्व विभागका महानिर्देशक सह सचिव शोभाकान्त पौडेल र बीमितहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सन्तोष रिजाललाई नियुक्त गरेको छ ।
गत मंसिर १६ गतेको मन्त्रिपरिषदको बैठकले पौडेल र रिजाललाई नियुक्त गरेको हो । मन्त्रालयले नारायण प्रसाद सापकोटाको ठाउँमा शोभाकान्तर पौडेल र किरण कुमार श्रेष्ठको ठाउँमा सन्तोष रिजाललाई नियुक्त गरेको हो । किरण कुमार श्रेष्ठले गत असोजमा नै बीमा समितिको सञ्चालक पदबाट राजिनामा दिएका थिए । उनले मन्त्रालयमा राजिनामा दिएर बाहिरिए सँगै समितिको पुर्ण बोर्ड बैठक बस्न सकेको थिए ।
त्यस्तै भन्सार विभागका महानिर्देशक सहसचिव सापकोटाले समितिलाई समय दिन सकिरहेका थिएनन् । कार्यव्यस्थता देखाउदै उनि प्रायः सबै बैठकमा पुर्ण समय बस्दैन थिए । अर्को तर्फ बीमा समितिले गरेका कतिपय निर्णयमा उनले असहमति जनाउन थाले पछि मन्त्रालयले उनलाई फिर्ता बोलाएर राजश्व विभागका पौडेललाई पठाएको हो ।
दुई जनाको नियुक्ति सँगै बीमा समितिको बोर्ड पुर्ण भएको छ । बीमा ऐन अनुसार बीमा समितिको अध्यक्ष कार्यकारी हुने व्यवस्था छ । त्यस्तै अन्य सञ्चालकहरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुशिल कोइराला, बीमा विज्ञको रुपमा कपिलदेव ओली रहेका छन् ।
बोर्ड पुर्ण भए सँगै बीमा समितिले लामो समयदेखि रोकिएर राखेका कतिपय योजनालाई अगाडी बढाउन सक्ने देखिन्छ । माइक्रोइन्स्योरेन्स कम्पनीको लाइसेन्स दिनेदेखि लिएर जीवन तथा निर्जीवन बीमा कम्पनीहरुकै लाइसेन्स खुला गर्ने विषय अड्किएर बसेको छ ।