काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले पुस ८ गते २१ औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/ ७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नेछ । साथै कम्पनीले गत आर्थिक वर्षको नाफा आफ्ना शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको कुल ११ दशमलव ५ प्रतिशत लाभांशलाई समेत पारित गर्नेछ ।
बैंकले हाल कायम चुक्ता पूँजीको आधारमा ८ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर २४ गते बुक क्लोजको मिति तय गरेको छ । बुक क्लोजको आधारमा मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।