काठमाडौं । कुमारी बैंकको लाभांश आजसम्म कायम शेयरधनीले मात्र पाउने भएका छन् । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि भोलि कात्तिक ८ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयधरनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनश शेयर र २ दशमलव ६७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने भएको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले कात्तिक १६ गते साधारण सभा गर्ने जनाएको छ । सभा बिहान ११ः ३० बजे कम्पनीको नक्सालस्थित कार्यालयमा हुने छ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै यस बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति तथा एक्विजिशन गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।