काठमाडौं ।आर्थिक वर्ष ७७/ ७८ को चौथो त्रैमासको वित्तीय विवरण निस्काशन गर्ने क्रम जारी रहेकोमा यो समाचार तयार पार्दा सम्म ४ विकास बैंकले चौथो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेका छन् । वित्तीय विवरण प्रकाशन गर्नेमा महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोसी डेभलप्मेण्ट बैंक रहेका छन् । एनएफआरएस प्रणाली अनुसार विकास बैंकहरुले खुद नाफा सँगै वितरण योग्य मुनाफा प्रकाशन गर्ने गरेका छन् ।
चार विकास बैंक मध्य सबै भन्दा धेरै वितरण योग्य मुनाफा गरिमा विकास बैंकको रहेको छ । गरिमा विकाससँग वितरण योग्य मुनाफा ६० करोड ५७ लाख रहेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकसँग ५६ करोड ३८ लाख, कामना सेवा विकास बैंकसँग ४३ करोड ४५ लाख र सप्तकोसी डेभलप्मेण्ट बैंक सँग ७ करोड ४४ लाख वार्षिक वितरण योग्य मुनाफा रहेको छ ।
कम्पनीको वार्षिक वितरण योग्य मुनाफालाई हाल कायम रहेको शेयर संख्याले भाग गर्दा तीन विकास बैंक महालक्ष्मी, गरिमा र कामना सेवाको प्रति शेयर वितरण योग्य मुनाफा समान १६ प्रतिशत रहेको छ भने सप्तकोसी डेभलप्मेण्टको ८ रुपैयाँ ९३ पैसा छ ।
प्रति शेयर वितरण योग्य मुनाफालाई लाभांश दिने क्षमता वा वितरण योग्य प्रति शेयर आम्दानीको रुपमा पनि बजारमा प्रयोग हुने केही शब्द हुन्।