काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आइपीओ आज पहिलो दिनमा नै मागभन्दा बढी २१.९३ गुणा आवेदन परेको छ । आइपीओमा आज साँझ ५ बजेसम्ममा ५ लाख ८९ हजार ८ सय १२ जना आवेदकबाट ७९ लाख ७२ हजार ८ सय २० कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
संस्थाले एक सय रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको छ भने बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
उक्त आइपीओमा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपिओमा असार २१ गतेसम्म आवेदन दिन सकिनेछ ।
संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।