काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गते विशेष साधारण सभा बोलाएका छन् । यी दुई लघुवित्तले मर्जर प्रस्ताव पारित गर्नका लागि सभा बोलाएका हुन् ।
समाज लघुवित्तले जानकी फेमली होटल एण्ड लज, मलंगवा, सर्लाहीमा दिउँसो २ बजे र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले होटल नेमान, लहान, सिरहामा दिउँसो २ बजे सभा बोलाएको हो ।
सभाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्बन्धि प्रस्ताव पारित गर्नेछ । मर्जर पश्चात कम्पनीको नाम स्वस्तिक समाज लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गर्ने विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ । दुई कम्पनीबिच सहमति भएको १ बराबर १ शेयर आदानप्रदान रेसियोलार्ई पनि सभाले स्वीकृति प्रदान गर्ने जनाएको छ ।
मर्जर पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड र चुक्तापूँजी ४ करोड कायम गर्ने र नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्वस्तिक लघुवित्तको संस्थापक शेयरधनीहरुले राखेको कल इन एडभान्समा रहेको २ करोड ६५ लाख ५० हजार रकमलाई स्वस्तिक लघुवित्तको संस्थापक शेयरमा गाभेर जम्मा चुक्तापूँजी ६ करोड २६ लाख ५० हजार कायम गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सभामा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन तथा परिमार्जन गर्नका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले पारित गर्ने जनाएको छ ।