काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी र महालक्ष्मी विकास बैंक लिमिटेडको साधारण सभा आज चैत १३ गते हुँदैछ । नेपाल दूरसञ्चार कम्पनीको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफा रकमबाट शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्ने पनि रहेको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
त्यस्तै, महालक्ष्मी विकास बैंकको सभा आफ्नै रजिष्टर्ड कार्यालय, दरबारमार्ग, काठमाडौंमा बिहान १० बजे गर्ने जनाएको छ । सभा भर्चुअल माध्यमबाट गर्ने बैंकले जानकारी दिएको छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपूँजीको ८ दशमलव ८० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
सभामा कम्पनीको शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, सहायक कम्पनी स्थापना गरी विभिन्न थप सेवा प्रवाह गर्न सक्ने गरी नियमावलीमा संशोधन गर्ने प्रस्ताव रहेको छ ।
बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि चैत ३ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । त्यसैले चैत २ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।