काठमाडौं । यो साता बीमा क्षेत्रमा विभिन्न गतिविधिहरु भए । यस साता बीमा व्यवसायको लागि निकै महत्वपूर्ण रह्यो । जीवन बीमा कम्पनीहरुले एक लाख ५० हजार रुपैयाँसम्म आयकर छुटको माग, ७ महिनामा बीमा व्यवसाय ३२ प्रतिशतको बृद्धि, विभिन्न कम्पनीको साधारण सभाको मिति तयदेखि नयाँ पोलिसी जारी, मृत्यु दाबी भुक्तानी लगायतका विषयले प्राथमिकता पाए ।
जीवन बीमा क्षेत्रमा भएका गतिविधि
आगामी आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रममा सुझाव दिने क्रममा जीवन बीमा कम्पनीहरुले जीवन बीमा गर्ने व्यक्तिलाई वार्षिक एक लाख ५० हजार रुपैयाँ आयकर छुट दिने व्यवस्थाको माग गरेका छन् । त्यस्तै, अर्थमन्त्रालय अन्तर्गतको आर्थिक नीति विश्लेषण महाशाखाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको समग्र बीमा व्यवसाय ३२ दशमलव २ प्रतिशतले बृद्धि भएको देखिएका छ ।
यता, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीको १ लाख ४० हजार ५ सय १० कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको हो । कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ को अनुपात कायम भएको छ ।
त्यसैगरी , राष्ट्रिय बीमा कम्पनीले नयाँ बीमालेख सार्वजनिक गरेको छ । कम्पनीले विद्यार्थीहरुलाई मध्यनजर गर्दै ‘विद्यार्थी सुरक्षा बीमालेख’ ल्याएको हो । कम्पनीले काठमाडौं उपत्यका भित्रका विभिन्न क्याम्पसका ८०४ जना भन्दा धेरैलाई बीमा गराएर कार्यान्वयनमा ल्याएको हो ।
नेको इन्स्योरेन्स कम्पनीले सञ्चालक पदमा विनयरमण पौडेललाई नियुक्त गरेको छ । कम्पनीको संस्थापक शेयरधनी राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पदमा पौडेललाई पदबहाली गरेको कम्पनीले जनाएको छ । यसै साता महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ ।
दाबी भुक्तानी
यस साता सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाले मृतककी श्रीमती गोमा कुमारी चिदीलाई दाबी भुक्तानी वापतको पाँच लाख ७२ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ । त्यस्तै, एशियन लाइफ इन्स्स्योरेनस कम्पनीको जावलाखेल शाखाले मृतककको श्रीमती नक्कली महर्जनलाई मृत्यु बीमा दाबी वापत ५ लाख ३० हजार रुपैयाँ र मासिक शैक्षिक सुविधा अन्तर्गत ३ महिनाको बच्चा बालिग नहुन्जेलसम्म ९ हजार रुपैयाँ चेक निजको परिवारलाई प्रदान गरेको छ ।
यसै साता रिलायबल नेपाल लाइफले चिज कुमार श्रेष्ठको परिवारलाई ६ लाख ४० हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुर्घटना वापत भेरी नगरपालिका ३ स्याला निबासी ईन्द्र कुमारी खत्रीलाई मृत्यु दाबी भुक्तानी वापतको २० लाख ९० हजारको चेक हस्तान्तरण गरेको छ ।
साधरणन सभाको मिति तय
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औं वार्षिक साधारण सभा चैत २३ गते गर्ने भएको छ । उक्त सभा प्रिमियर भवन, नक्साल, काठमाडौंमा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको छ । सभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७२औं वार्षिक साधारण सभा चैत २७ गते गर्ने भएको छ । कम्पनीको चैत ५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा एयरपोर्ट होटेल, सिनामङ्गल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

















