काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले माघ २२ गते, बिहीबारबाट एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र धमाधम बिक्री गरिरहेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ ।
सेवा विकास बैंक डिबेन्चर २०८७’ नाम गरेको ऋणपत्र निष्कासन गर्न कार्तिक ३ गते सोमबार निवेदन पेश गरेकोमा बोर्डले बैंकलाई माघ २ गते, शुक्रबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।