काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले आजदेखि निष्काशन गरेको आइपीओमा पहिलो दिनमै साढे २ लाख बढीको आवेदन परेको छ ।कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज ४ः४० बजेसम्म आइपीओमा २ लाख ८५ हजार आवेदकले ३ करोड ७० लाख कित्ताको लागि आबेदन दिएका छन् ।
बैंकले निष्काशन गरेकोआइपीओमा पहिलो दिनको दिउँसो ४ः४० बजेसम्ममा २ लाख ८५ हजार ३ सय १८ जना आवेदकबाट ३ अर्ब ७० करोड रुपैयाँ बराबरको ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताको लागि आबेदन परेको छ।
पहिलो दिनमा निफ्राको आइपीओमा परेको माग कुल निष्काशनको झन्डै आधा हो। बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्न लागेको हो।
जसमध्ये ० दशमलव २० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ ।
कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । उक्त आईपिओ छिटोमा माघ ६ गते बन्द हुनेछ भने ढिलोमा अर्थात सबै बिक्री नभएको अवस्थामा माघ १६ गते निष्काशन बन्द हुनेछ ।