काठमाडौं । एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको चारवटा कम्पनीको ६ लाख २७ हजार २० सय कित्ता संस्थापक सेयरमा लिलामी आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
आज कार्यालय अवधिभित्र यो लिलामीमा आवेदन दिन सकिनेछ । बैंकले पुस १९ गतेबाट नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफको १ लाख ९० हजार ३७४, एसियन लाइफको १ लाख ३० हजार २९० कित्ता र नेशनल लाइफको १ लाख ३ हजार ९ सय ७६ कित्ता शेयर लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले नागरिक लगानी कोषको शेयरमा न्यूनतम १७ सय १५, सूर्या लाइफको सेयरमा न्यूनतम ३३७, एसियनको सेयरमा न्यूनतम ४६९ रुपैयाँ र नेशनल लाइफमा न्यूनतम ५५० भाउ राखेर आवेदन दिन सक्नेछन् ।
चार वटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।