काठमाडौं । बरुण हाइड्रोपावरको शेयर कारोबार फुकुवा भएसँगै आइतवारदेखि कारोबार सुचारु हुने भएको छ । गत सोमवारदेखि रोक्का रहेको हाइड्रोपावरको शेयर कारोबार सुचारु हुने भएको हो ।
नेप्सेले लाभांश सम्बन्धि सूचना सूचीकरण विनियमावली बमोजिम उपलब्ध नगराएको भन्दै कारोबार रोक्का गरेको थियो । नेप्सेले तीन दिनभित्र कारण सहितको स्पष्टिकरण पेश गर्न निर्देशन दिदैं कारोबार रोक्का गरेको थियो ।
बरुण हाइड्रोले मंसिर ३० गते मंगलवार नेप्सेमा स्पष्टिकरण पठाउँदै सूचना प्रवाह सम्बन्धि कानून थाहा नभएको र आगामी दिनमा यस्तो गल्ति नहुने प्रतिवद्धता व्यक्त गरेकाले नेप्सेले कारोबार फुकुवा गर्ने निर्णय गरेको जनाएको छ ।