GBIME
IME Life

जीवन बीमा आवश्यकताको पहिचान र छनौट: मन्जु थापाको लेख

SPIL
NIC ASIA new
Sanima Reliance

जीवन बीमा चाहना सबैको हुन सक्छ तर जीवन बीमा आवश्यकता नै हुनको लागि मुख्य दुई कुरा हुनु पर्दछ । पहिलो बीमा गर्न चाहने व्यक्तिको आर्जन हुनु पर्दछ । दोश्रो बीमा गर्न चाहने व्यक्तिले देखभाल गर्नु पर्ने आश्रित रहेको तथा निज नरहेको अवस्थामा आश्रितको आर्थिक रुपमा बिचल्ली हुने अवस्था रहेको । यदि कुनै पनि व्यक्तिको आर्जन छ साथै देखभाल गर्नु पर्ने आश्रित छन् भने त्यस्ता व्यक्तिले जीवन बीमा गराउनु पर्दछ । किनकी मानवजिवन जोखिम रहित छैन ।

भवितव्य घटना घटेर परिवारमा आय आर्जन गर्ने व्यक्ति नरहेको अवस्थामा पनि आश्रितको पालनपोषण तथा शिक्षा सुनिश्चित गर्ने काम जीवन बीमाले गर्दछ । आश्रितहरुको जिविकोपार्जनको सुनिश्चितता अन्य माध्यमहरु पनि छन् । जस्तैः घर जग्गा खरिद, बैंक खातामा रकम जम्मा गरिदिने ईत्यादि । तर घर जग्गामा लगानी गर्न तथा आवश्यकता पुरा हुने गरी बैंकमा रकम जम्मा गर्न मोटो रकमको आवश्यकता पर्छ जुन अधिकांशसंग हुदैन । तर जीवन बीमा गर्यो भने पहिलो किस्ताको रुपमा सानो रकम भुक्तानी गरेको मिति र समय देखि ठुलो रकमको जोखिम वहन हुन्छ । जीवन बीमाको विशेषता भनेको कम लगानीमै ठुलो रकम बराबरको रक्षावरण दिने पनि हो ।

SKYWELL
Crest

यदि कुनै व्यक्ति आय आर्जन गर्दछ साथै उसका आश्रितहरु पनि छन् । जीवन बीमा त्यस्तो व्यक्तिको आवश्यकता भयो । अब प्रश्न आउछ, जीवन बीमा कति रकमको गर्ने ? कस्तो प्रकारको जीवन बीमा गर्ने ? जीवन बीमा गर्नुको मुख्य दुई उद्देश्य हुन्छन् । पहिलो भवितव्य मृत्यु भएमा आश्रितको आर्थिक स्थितिको रक्षावरण गर्नु र दोश्रो लगानीमा उचित प्रतिफल प्राप्त गर्नु हो । यी उद्देश्यहरु प्रभावकारी रुपमा प्राप्त गर्न केही बुझ्नु पर्ने कुराहरु बुझी तथा प्रकृया पुरयाई जीवन बीमा गर्नुपर्छ । प्रभावकारी जीवन बीमा खरिद प्रकृया पारिवारिक उत्तरदायित्वको निर्धारणबाट शुरु भइ बीमाको छनौटमा गएर सकिन्छ ।

उत्तरदायित्वको मुल्यांकन
मानव जीवन अमुल्य छ तर मानवको काधमा रहेको उत्तरदायित्वको वित्तिय मुल्यांकन गर्न सकिन्छ । यदि कसैको परिवारमा एउटै व्यक्ति आय आर्जन गर्ने छ भने आय आर्जन गर्ने व्यक्तिको अनुपस्थितिमा परिवार कति समय पछि सामान्य अवस्थामा आउछ तथा कति रकमको आवश्यकता पर्दछ अनुमान लगाउनु पर्छ । यदि नाबालक छोरा छोरी छन् भने उनीहरु कम्तिमा पनि बालिग हुने बेलासम्मको लालन पालन तथा शिक्षा दीक्षा खर्च पुग्ने गरी वित्तिय उत्तरदायित्व निर्धारण गर्नु पर्दछ । साथै आफु नरहदा पनि निरन्तर रहने आय छ भने त्यो आयलाई कुल वित्तिय उत्तरदायित्वबाट घटाई उत्तरदायित्व निर्धारण गर्नु पर्दछ । त्यसैगरी आर्जन नगर्ने पति या पत्नीको लागि सुरक्षाको व्यवस्था गर्न खोजेको हो भने कम्तिमा औसत आयुसम्म जीवन यापन गर्न पुग्ने सम्मको कुल वित्तिय उत्तरदायित्व निर्धारण गरी त्यसबाट आफु नरहदा पनि निरन्तर रहने आय छ भने त्यो आयलाई कुल वित्तिय उत्तरदायित्वबाट घटाई उत्तरदायित्व निर्धारण गर्नु पर्दछ ।

त्यसैगरी वृद्ध अभिवावकको सुरक्षाको लागि बीमा गर्न खोजेको हो भने पनि कम्तिमा औसत उमेरसम्म जीवनयापन गर्न पुग्ने गरी कुल उत्तरदायित्वको निर्धारण गरी त्यसबाट आफु नरहदा पनि निरन्तर रहने आय छ भने त्यो आयलाई कुल वित्तिय उत्तरदायित्वबाट घटाई उत्तरदायित्व निर्धारण गर्नु पर्दछ । यसरी निर्धारण गरेको रकम बराबरको जीवन बीमा गर्नु पर्दछ । तर याद गर्नु पर्ने कुरा के हो भने बीमा गर्न चाहने व्यक्ति जीबित रहदा कमाउन सक्ने रकम भन्दा बढीको बीमा गराउनु हुदैन । यदि बीमित जिबित रहेर आर्जन गर्ने भन्दा बढी रकमको बीमा गरेमा बिमित जिबित रहनु भन्दा मर्दा वित्तिय लाभ हुने हुनाले बीमितको ज्यान खतरामा पर्दछ ।

बीमा रकमको लागि हत्या हुने गरेको थुप्रै उदाहरणहरु नेपालमै पनि छन् । तसर्थ कुनै जीवन बीमा गर्न चाहने व्यक्तिले आफु जीबित रहदा कमाउने भन्दा बढी रकमको जीवन बीमा गर्नु हुदैन । गणना गरिएको उत्तरदायित्वको जीबित रहेर कमाउने रकमको सिमा भित्र रही बीमाङ्क रकमको निर्धारण गर्नु पर्दछ ।

आर्थिक क्षमताको विश्लेषण
बीमा भविष्यमा भवितब्य आइपरेमा आर्थिक रुपमा स्थिर हुनका लागि गरिने प्रणाली हो । यदि कम रकमको बीमा गर्यो भने बीमा गर्नुको उद्देश्य पुरा हुदैन भने वढी रकमको बीमा गर्यो भने आर्थिक क्षमताले नभ्याएर बीमाको किस्ता तिर्न हम्मेहम्मे पर्छ । तसर्थ बीमा छनौट गर्नु भन्दा पहिले बीमा लिन चाहने व्यक्तिले आफ्नो आर्थिक क्षमताको विश्लेषण गर्नु पर्छ ।

सामान्यता वार्षिक आयको ५ देखि १० प्रतिशत रकम बीमा शुल्कको लागि छुट्टाउनु उपयुक्त र सहज हुन्छ । यदि कुनै व्यक्तिको वार्षिक आय ६ लाख छ भने बीमाको लागि ३० देखि ६० हजारसम्म बीमाशुल्क तिर्ने गरी बीमाको व्यवस्था गर्नु पर्दछ । मानौ बीमा गर्न चाहने व्यक्तिको पारिवारिक दायित्वको मुल्यांकन गर्दा ७ लाखको बीमा गर्नु पर्ने भयो । यदि मुनाफामा सरिक हुने १० वर्षे सामान्य सावधिक बीमा लिने हो भने २५ वर्षको व्यक्तिको लागि वार्षिक बीमा किस्ता करिब रु.७४,२०० तिर्नु पर्छ । सो रकम बराबर वार्षिक बचत छैन भने बीमा रकम यथावत राखी बीमा अवधि बढाएमा बीमाको किस्ता रकम कम पर्न जान्छ । सोही व्यक्तिले ३० वर्षे बीमा लियो भने बार्षिक करिब रु.२०,३७० तिर्नु पर्ने हुन्छ । बिर्सनै नहुने कुरा के हो भने बीमा गर्दा सकेसम्म लामो अवधिको लिनुपर्छ । यसको दुई फाइदा छन् । लामो अवधिको बीमाले बीमाशुल्कको किस्तालाई सानो बनाउछ । छोटो अवधिको बीमामा भन्दा लामो अवधिको बीमामा बोनसदर बढी हुन्छ ।

बीमालेखको छनौट
अन्य उपभोग्य वस्तुहरु जस्तै बीमा बजारमा थरी थरीको बीमाहरु उपलव्ध छन् ती बीमाहरु आफुलाई आवश्यक परेको नगद उपलब्धताको आधारमा छनौट गर्न सकिन्छ ।

क) यदि कसैको आम्दानी निश्चित छैन भने अग्रीम भुक्तानी बीमालेख लिनु उपयुक्त हुन्छ । अग्रिम भुक्तानी बीमालेख भनेको बीमा परिपक्व हुनु भन्दा पहिले बीमा रकमको केही अंश बीमा कम्पनीले बीमितलाई फिर्ता गर्ने बीमा योजना हो । बजारमा बीमा रकमको केही अंश आवधिक रुपमा फिर्ता गर्ने देखि वार्षिक फिर्ता गर्ने बीमालेखहरु छन् । २५ वर्षको व्यक्तिको लागि वार्षिक रुपमा रकम फिर्ता गर्ने २० वर्षे ७ लाख बीमा लिने हो भने वार्षिक बीमाशुल्क करिब रु. ५१,९४० हुन्छ । साथै वार्षिक बीमा रकमको ५ प्रतिशत अर्थात रु. ३५,००० फिर्ता हुन्छ ।

हिसाबमिलान गरी वार्षिक लगभग रु. १६,९४० तिरेर ७ लाख बराबरको २० वर्षे जीवन बीमा लिन सकिन्छ । अग्रिम भुक्तानी बीमालेखमा बीमा अवधि समाप्त नहुदै बीमितको मृत्यु भएमा अग्रिम रुपमा भुक्तानी भएको रकम कट्टा नगरी पुरै बीमा रकम तथा आर्जित बोनस रकम भुक्तानी गरिन्छ । यसरी हामीले अलिकति पनि बुद्धि पुर्यायौ भने कम लगानीमै परिवारको आर्थिक स्थितिको वचाव तथा उचित प्रतिफल दुबै प्राप्त गर्न सकिन्छ ।

ख) कुनै व्यक्तिको आयश्रोत तथा बचत निश्चित छ । बीमाशुल्क भुक्तानी गर्न असहज हुदैन जस्तो लाग्छ भने त्यस्ता व्यक्तिहरुको लागि सुद्ध सावधिक बीमा उपयुक्त हुन्छ । २५ वर्षको व्यक्तिले ३० वर्षे मुनाफामा सरिक हुने ७ लाख बीमाङ्कको सावधिक बीमा लिने हो भने बार्षिक लगभग रु. २०,३७० बीमाशुल्क वार्षिक तिर्नु पर्छ ।

ग) यदि कुनै व्यक्तिको सुरक्षा दिनु पर्ने पारिवारिक उत्तरदायित्व त छ तर हालको अवस्थामा बचत निकै न्युन छ भने त्यस्ता व्यक्तिहरुको लागि म्यादी जीवन बीमा उपयुक्त हुन्छ । म्यादी बीमा भनेको बीमा अवधिमा बीमितको मृत्यु भएमा मात्र बीमा रकम भुक्तानी गर्ने बीमा हो । यसमा बचत तथा प्रतिफलको व्यवस्था हुदैन । त्यसैले यो बीमा निकै सस्तो हुन्छ । २५ वर्षको व्यक्तिले २० वर्षे ७ लाखको म्यादी जीवन बीमाको लागि वार्षिक करिब रु.१,५१९ तिर्नु पर्ने हुन्छ । कम बचत भएका व्यक्तिहरु यो यस्तो प्रकारको बीमा लिन सक्दछन् ।

घ) बीमा कम्पनीले पनि बजारमा लगानी गरी बीमितलाई प्रतिफल दिने हो । कसैसंग लगानीको राम्रो अवसर छ भने त्यस्ता व्यक्तिहरुको लागि पनि म्यादी बीमा उपयुक्त हुन्छ । म्यादी बीमा भनेको बीमा अवधिमा बीमितको मृत्यु भएमा मात्र बीमा रकम भुक्तानी गर्ने बीमा हो । त्यसैले यो निकै सस्तो हुन्छ । त्यस्ता व्यक्तिहरुले बीमाशुल्क तिरेर बांकी रहेको बचत रकमलाई अन्य क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल लिन पनि सक्दछन् ।

ङ ) कुनै व्यक्तिलाई आफ्नो बृद्धावस्था पनि सुरक्षित बनाउन मन लाग्ला । वृद्धावस्थामा पनि केही सुरक्षण पाउने गरी पनि बीमा गर्न सकिन्छ । बजारमा प्रचलित सावधिक आजिवन बीमाले यो आवश्यकता पुरा गर्छ । बजारमा यस्ता बीमालेखहरु छन् जसले बीमा अवधि समाप्तिमा बीमा रकम तथा बोनस रकम भुक्तानी गर्छ भने बीमित जीवित रहेको अवस्थामा बीमितको उमेर ७० वर्ष,७५ वर्ष,८० वर्ष, ८५ वर्ष तथा ९० वर्ष पुग्दा बीमा रकमको २० प्रतिशतका दरले रकम भुक्तानी गर्दै जान्छ । २५ वर्षको व्यक्तिले २० वर्षे ७ लाखको जीवन बीमाको लागि वार्षिक करिब रु.२४,४७२ तिर्नु पर्ने हुन्छ । यसरी एउटै बीमाले परिवारको सुरक्षण, लगानीमा प्रतिफल तथा वृद्धावस्थालाई पनि केही सहज बनाउन सकिन्छ ।

च ) कसैसंग एकमुष्ट ठुलो रकम छ र बार्षिक रुपमा बीमा नविकरण गर्ने झंझट लिन चाहदैन भने त्यस्तो व्यक्तिको लागि एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरु उपयुक्त हुन्छ । २५ वर्षको व्यक्तिले ३० वर्षे ७ लाखको मुनाफामा सरिक हुने जीवनबीमाको लागि एकमुष्ट लगभग रु. २,९९,८८० भुक्तानी गर्नु पर्ने हुन्छ ।

यसरी कुनै पनि बीमा लिन चाहने व्यक्तिले आफ्नो परिवारिक उत्तरदायित्व आधारमा आर्थिक क्षमताको विश्लेषण गरी आवश्यक नगद उपलब्धता अनुसारको जीवन बीमा छनौट गरी जीवन बीमा लिएर जीवन बीमाको सम्पुर्ण फाइदा लिन सक्छ ।

(थापा नेपाल पुनर्बीमा कम्पनीको मुख्य प्रबन्धक हुन् । लेख लेखकको व्यक्तिगत विचार हो यसले कुनै संस्थाको प्रतिनिधित्व गर्दैन ।)

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS