काठमाडौं । बीमा समितिले कम्पनीहरुलाई पूँजी बृद्धि योजना ल्याउन दिएको एक महिनाको समय सकिन अव १० दिन मात्रै बाँकी छ । अधिकांश बीमा कम्पनीहरुले सम्भाव्यता अध्ययन बिना नै हचुवामा क्यापिटल प्लान बनाउन थालेका छन् । यस्तो कदम न त बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताको हितमा छ न त बीमितको नै ।
समितिले दिएको एक महिनालाई बीमा कम्पनीले सदुपयोग गर्ने भन्दा पनि हचुवामै अहिलेको पूँजीलाई गुणा गरेर यति प्रतिशत हकप्रद निष्काशन गर्ने भन्दै योजना बनाएका छन् । विद्यमान बीमा कम्पनीहरु मध्ये नेपाल लाइफको चुक्ता पूँजी बीमा समितिले तय गरेको न्युनतम भन्दा धेरै माथि छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्स कम्पनी बाहेक सम्पुर्ण कम्पनीलाई न्युनतम पूँजी जुटाउन धेरै कसरत गर्नु पर्ने देखिन्छ ।
तीन करोड जनसंख्या भएको नेपाल जस्तो सानो मुलुकमा १९ जीवन र २० जीवन बीमा कम्पनी छन् । जवकी एक अर्ब ३८ करोड जनसंख्या भएको छिमेकी मुलुक भारतमा २४ वटा जीवन र ३४ वटा निर्जीवन सहित जम्मा ५८ वटा मात्रै बीमा कम्पनी छन् । यसले पनि नेपालमा बीमा कम्पनीको संख्या चाहिने भन्दा कति धेरै छ भन्ने कुरालाई स्पष्ट पार्दछ ।
कम्पनीको संख्या बढ्दैमा व्यवसाय बढ्ने होइन । बरु यसले समग्रमा बीमा कम्पनीको सञ्चालन खर्च बढाउछ । आजका दिनमा एउटा कम्पनी सञ्चालन गर्न कम्तिमा पनि २०० सय वटा शाखा कार्यालय खोल्नु पर्ने बाध्यता छ । सामान्य व्यवसाय गरेको कम्पनीले सञ्चालन खर्च समेत धान्न सक्ने अवस्था छैन । अर्को तर्फ अझै पनि बीमा कम्पनीले आधुनिक प्रविधिलाई भित्र्याउन सकिरहेका छैनन् । किनकी उनिहरु सँग त्यो लेभलको क्षमता नै छैन । यसले कम्पनीको सञ्चालन खर्चलाई मात्रै बढाउछ । सञ्चालन खर्च बढ्नु भनेको सबैभन्दा पहिला बीमितको प्रतिफल र दोस्रोमा शेयरधनीको प्रतिफल घट्नु हो ।
हाम्रोमा जोखिम हेर्ने खासै राम्रा सूचकहरु छैनन् । जसले गर्दा नियामकीय पूँजीलाई नै आधार मानिन्छ । नियामकले औषतमा एक किसिमको आधारभुत पूँजी तय गरिदिएका हुन्छन् । यस्तो पूँजी कुनै कम्पनीका लागि अति नै कम हुन्छ भने कतिपयको लागि धेरै हुन जान्छ । यस्तो अवस्थामा कम्पनीमा अधिक पूँजी थुपारिन गई शेयरधनीहरुले प्रतिफल पाउन सक्दैनन् ।
बीमा समितिले यसै वर्ष जोखिममा आधारित पूँजी सम्बन्धी अवधारणा भित्र्यायो । यो अन्तर्राष्ट्रिय अभ्यास हो । नेपाली बीमा कम्पनीमा यो निर्देशिका अपरिहार्य पनि थियो । तर समितिले जोखिममा आधारित पूँजीलाई उछिनेर नियामकीय पूँजी बढायो । छिमेकी मुलुक भारतमै बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ छ । पूँजी धेरै हुँदैमा कम्पनी राम्रो हुन्छ भन्ने होइन । तर हाम्रोमा चुक्ता पूँजी बाहेक अन्य यस्तो कुनै प्रणाली छैन जसले अन्य सूचकहरु मार्फत जोखिमलाई व्यवस्थापन गर्ने पूँजी निर्माण होस् । यो भन्नुको मतलब आजका दिनमा बीमा कम्पनीहरु सँग चुक्ता पूँजी र केहि जगेडा कोष बाहेक अन्य कुनै पनि पूँजी सञ्चित छैन ।
अधिकांशले जोखिममा आधारित पूँजीमा व्यवसायको जोखिमलाई मात्रै हेरिरहेका छन् । व्यवसाय जति बढ्यो त्यसैको आधारमा पूँजी कायम गर्ने भन्ने मात्रै देखिन्छ । तर सञ्चालन जोखिम छुट्टै छ । कन्ट्रि रिस्क छुट्टै छ, अन्य कुराहरुको जोखिम छ । जीवन बीमामा नगदको कारोबार अत्याधिक हुने भएकाले अप्रेसनल रिस्क नै धेरै छ । यि सबैलाई आधार मान्ने हो भने कतिपय बीमा कम्पनीको पूँजी बीमा समितिले तय गरेको भन्दा पनि बढि आवश्यक पर्ने देखिन्छ।
हाम्रोमा कम्पनी स्थापना गर्दा कम्पनी चलाउने भन्दा पनि आइपिओ ल्याए पछि दोस्रो बजारमा एउटा मूल्य निर्धारण हुन्छ र त्यसैले पुगिहाल्छ भन्ने खालको छ । कम्पनी राम्रो सँग सञ्चालन भए पनि नभए पनि बीमा कम्पनीको शेयर मूल्य माथि गइहाल्छ भन्ने मानसिकता अत्याधिक छ । यहि मानसिकताले कम्पनीमा लगानी गरेका लगानीकर्ताहरु अहिले सबैभन्दा धेरै पेनिक देखिन्छन् ।
आजकादिन सम्ममा पनि बीमा कम्पनीको ध्यान कसको प्रिमियम संकलन कति भन्ने तर्फ मात्रै केन्द्रित छ । यस बाहेक कम्पनीले लगानी तथा प्रतिफलको पाटोलाई हेर्न सकेको छैन । मार्केटिङ गर्ने कर्मचारीको भरमा टिकिरहेका कम्पनीहरुको अवको ध्यान लगानी व्यवस्थापन तर्फ हुनु पर्ने देखिन्छ । जुन आजका दिनमा सून्य जस्तै छ । जसले गर्दा बीमितको चाहना अनुरुप उनिहरुले प्रतिफल पाउन सक्ने सुनिश्चिता छैन । यहि सुनिश्चिताका लागि पनि पूँजी बढाएर कम्पनीको हरेक कुरालाई सवल र सक्षम बनाउनु पर्ने बाध्यता छ ।
त्यसैले अहिलेकै अवस्थामा बीमा कम्पनीको पूँजी बढाउनु आवश्यक थियो । भविष्यका लागि बीमा कम्पनीमा जुन किसिमको पूँजी आवश्यक पर्दैछ त्यसका लागि अहिलेदेखिनै बढाउनु पर्ने आवश्यकता छ । तर बीमा समितिले एकाएक ठुलो परिणाममा पूँजी बढाउने निर्णय गर्दा धेरै कम्पनीहरुलाई गाह्रो परेको देखिन्छ । यसले मर्जमा जोड दिन्छ ।
पाँच वर्ष अगाडी जुन क्यापिटल लिएर कम्पनी आएका थिए उनिहरुले अवको एक वर्षमा दोब्बरले पूँजी बढाउनु पर्ने बाध्यता छ । अहिलेसम्मको अवस्थामा उनिहरुले कम्पनीबाट एक रुपैयाँ पनि प्रतिफल पाउन सकेका छैनन् । बीमा समितिले तोकिएको पूँजी हकप्रद मार्फत जुटाउने हो भने अवको ५ वर्षसम्म पनि उनिहरुले एक रुपैयाँ प्रतिफल पाउने अवस्था रहदैन । यहि हिसावले बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताले राम्रो प्रतिफल पाउन कम्तिमा १० वर्ष कुर्नु पर्ने हुन सक्छ ।
यस्तो अवस्थामा लगानीकर्ताले पूँजी थप्ने कि नथप्ने ? यदि लगानीकर्ताले आगामी वर्षमा राम्रो प्रतिफल चाहने हो भने उनिहरु सँग मर्जरको विकल्प छैन । यदि मर्जरमा गयो भने अहिलेकै क्यापिटलले प्रतिफल दिन सक्छ ।
तर नेपालको सन्दर्भमा मर्जर पक्कै पनि सहज विषय होइन । हाम्रोमा यस्ता व्यवसायिक घराना छन् जसलाई आफ्नो कम्पनीले जतिसुकै प्रतिफल दिओस् मतलब छैन । उनिहरुलाई यो मेरो कम्पनी हो भन्नु परेको छ । यहि मोहले पनि बीमा कम्पनीमा मर्जर ठुलो बाधक बन्न सक्छ । अझै पनि यस्ता समुह छन् जसले नयाँ कम्पनीको लागि बीमा समितिमा आह्वान गरिरहेका छन् । उनिहरुलाई कम्पनीले भोलिका दिनमा प्रतिफल दिन सक्छ सक्दैन भन्ने तर्फ मतबल छैन
जवसम्म कम्पनी संस्थापकले सञ्चालन गर्ने होइन विज्ञ र स्वतन्त्र सञ्चालकहरुले सञ्चालन गर्ने हो भन्ने भावनाको विकास हुँदैन तवसम्म जिर्ण कम्पनीको लागि मरिहत्ते गर्ने परिपाटी रहिरहनेछ । त्यसैले नियामकले यस्ता कुराहरुलाई पनि मध्यनजर गर्दै वाध्यात्मक मर्जरको अवस्था सिर्जना गर्न सक्नु पर्छ । त्यसका लागि अहिलेको समय सबैभन्दा उपयुक्त हुन सक्छ ।
जवसम्म साना साना कम्पनी बजारमा रहन्छन् तवसम्म उनिहरुले ठुलो ठुलो जोखिम बहन गर्न सक्दैनन् । उनिहरु साना साना पोलिसीमा झुम्मिएर बस्छन् र ५/१० लाखको दाबी भुक्तानीका फाइल तलमाथि गरेर बस्छन् । यदि कम्पनीहरु ठुला भए भने उनिहरुले व्यवसायको दायरा बढाउने छन् ।
अर्को तर्फ मर्जर नियामक र बीमा कम्पनीले क्यापिटल पुर्याउनकै लागि मात्रै मर्जर गर्नु हुँदैन । सिनर्जी दिने हिसावले पूँजी बृद्धि योजना ल्याउन सक्नु पर्छ । वास्तवमै कम्पनीलाई बलियो बनाउने व्यवसाय विस्तार गर्ने खर्च घटाउने नियत हो भने यसले भोलिका दिनमा राम्रो नतिजा दिन सक्छ ।
धेरै वटा कम्पनी भएर एक हजार वटा शाखा खोल्ने भन्दा पनि एउटा ठुलो कम्पनीले एक हजार वटा शाखा सञ्चालन गर्न सक्नु धेरै राम्रो हुन्छ । बीमा जोखिम बहन गर्ने क्षेत्र भएको हुँदा कम्पनीको आधार जति ठुलो भयो यसको जोखिम लिन सक्ने क्षमता पनि त्यति धेरै हुन्छ । यसले बीमितका साथ साथै शेयरधनीहरुको प्रतिफललाई पनि बढाउन मद्दत गर्छ ।