जीवन बीमाको इतिहास र महत्व : निनाम कुलुङ ‘मंंगले’

निनाम कुलुङ ‘मंंगले’
आजको आधुनिक युगमा बीमा (निर्जीवन र जीवन बीमा दुवै) बीमा कम्पनीहरुले देश विकासमा महत्वपूर्ण भूमिका खेलीरहेको छ भन्ने कुरो सरकार, अर्थशास्त्रीहरु, बुद्घिजीवीहरु, आर्थिक क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरु, उद्योगीहरु, व्यवसायीहरु, व्यापारीहरु, बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरु, बैंकरहरु, बीमा व्यवसायीहरुले राम्रैसँग बुझेका छन् । केही मानिसहरु नेपालका बीमा कम्पनीहरु खासगरी जीवन बीमा कम्पनीहरुले ‘बैंकिङ टाइप’को बीमा मात्रै गर्ने गरेको, बीमाको मर्मअनुसार सम्पूर्ण जोखिम बहन गर्ने खालको पोलिसी ल्याउन नसकेको भनी आलोचना गर्ने गर्छन् । यस विषयमा बीमा कम्पनीका सञ्चालकहरु र बीमा विज्ञहरुले बहस र छलफल चलाउनुपर्ने देखिन्छ ।

जे होस्, जीवन बीमा भनेको अनिवार्य बचत पनि हो । किनभने, कोही पनि व्यक्तिले जीबन बीमा गरीसकेपछि उसलाई जीबन बीमा कम्पनीहरुले तोकेको सर्त र करारनामा र अवधि अनुसार निश्चित अवधिभन्दा अघि भुक्तानी दिँदैन । त्यस्तै तोकिएको समयभित्र बीमितले प्रिमियम नतिरेमा उसले प्रिमियम नतिरेको समय–अवधिको बीचमा केही भएमा कम्पनीले सो समयमा जोखिम बहन गर्दैन । त्यसैले जो कोही बीमितले बीमा गर्नुअघि आपूmले कति रकम तिर्न सक्छु ? कति रकमको बीमा गर्दा राम्रो होला ? भनेर आफैले धेरैपटक सोचेर मात्रै बीमा गर्दा राम्रो हुन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको जीबन बीमा गरीसकेपछि बीमितले जहिले पनि कम्तिमा २–३ दिनअघि नै आफुले तिर्नुपर्ने प्रिमियम तिर्दा राम्रो हुन्छ ।

खासमा जीवन बीमा गर्दा अनिवार्य बचत गर्ने बानी पनि बस्छ । कसैले जीवन बीमाको महत्व बुझेर आजैदेखि आफ्नो क्षमताले भ्याएको वा भनौं जेजति सकेको अनिवार्य बचत गरेको रकमले उसको जीवनको कुनै पनि मोडमा आई पर्ने सानातिना आर्थिक समस्यालाई पनि सम्बोधन गर्छ । तर, कसरी ? जस्तै कुनै पनि बीमितले जीवन बीमा (बचत) गरेको लगभग ३ वा ४ वर्षपछि उसले बिना धितो आफुले ३–४ वर्षसम्ममा गरेको बचतको (सरेन्डर भ्यालु) को ९० प्रतिशतसम्म (कम्पनी हेरेर किनभने, नाफा आर्जन गर्नमा छलाङ मार्न नसकेका कम्पनीहरुले ३५, ४५, ५५, ६५, ७५, ८० प्रतिशतसम्म मात्रै दिन सक्छ) ऋण लिन पाउँछ । यसमा कम्पनीले ९ देखि ११–१२ प्रतिशत ब्याज लिन्छ । यसले जीवनमा अकस्मात आइपर्ने सानोतिनो आर्थिक समस्यालाई टार्न मद्यत नै गर्छ । निश्चित अवधि सकिएपछि तोकिएको बोनस दरसहित आप्mनो सम्पूर्ण रकम फिर्ता पाउने त छँदैछ ।

विश्वमा कहिलेदेखि जीबन बीमाको सुरुवात भयो ? गुगल सर्चमा हेर्दा विश्वमा जीबन बीमाको सुरुवात सर्वप्रथम सन् १६९३ मा बेलायती नागरिक एडमण्ड हेलीले जीबन बीमाका लागि टेबल (चार्ट) तयार पारेर सुरु गरेको देखिन्छ । तर, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ‘अभिकर्ता निर्देशिका’मा भने, सन् १५८३ जुन महिनामै विलियम गिब्बोन नामक व्यक्तिले पहिलोपटक एक वर्षे जीवन बीमा सुरु गरेको भनी उल्लेख गरिएको छ । गुगलका अनुसार सन् १७६२ मा बेलायतकै नागरिक एडवर्ड रोव मोरर्सले ‘सोसाइटी फर एक्वीटेबल एस्सुरान्स अन लिभ्स एन्ड सर्भाइभलसीप नामक ’जीबन बीमा कम्पनी खोलेका थिए । भनिन्छ, उनले सकेसम्म बैज्ञानिक तरिकाले जीबन बीमाको फ्रेमवर्क तयार पारेका थिए ।

जे होस्, पश्चिमा देशहरुमा १८औं शताब्दीदेखि नै बीमा व्यवसाय फस्टाउन थालेको देखिन्छ । १९ औं शताब्दीमा त युरोप, अमेरिका लगायत विश्वका विकशित देशमा औद्योगिक क्रान्तिसँगै बीमाको महत्व पनि बढ्दै गयो । त्यसैले ती देशहरुमा निर्जीवन बीमासँगै जीवन बीमाको महत्व पनि बढ्दै गयो । त्यसैले युरोप, अमेरिका लगायत विश्वका अधिकांश देशहरुमा निर्जीवन र जीवन बीमाको महत्व व्यापक भएको छ । कतिपय देशहरुमा निर्जीवन र जीवन बीमा अनिवार्य नै गरिएको छ ।
नेपालमाचाहिँ जीवन बीमा कहिले सुरु भयो त ? यस बारेमा पनि छोटकरीमा केही बुझौं । नेपालमा नन लाइफ इन्स्योरेन्स कम्पनी सन् १९४७ मै स्थापना भएको देखिन्छ । त्यो बेला ‘नेपाल माल चलानी तथा बीमा कम्पनी’को नाममा बीमा कम्पनी स्थापना भएको थियो । सो बीमा कम्पनी नन लाईफ बीमा कम्पनी थियो । अर्थात् सो कम्पनीले मान्छेको बीमा गर्दैन थियो । सन् १९५९ मा त्यही कम्पनीलाई ‘नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड’को रुपमा स्थापना गरियो । सन् १९९१ देखि उक्त बीमा कम्पनी ‘नेपाल इन्स्योरेन्स कम्पनी’को नाममा चालु रहेको छ ।

सन् १९६७ नेपालमा अर्को बीमा कम्पनी ‘राष्ट्रिय बीमा कम्पनी’प्राइभेट कम्पनीको रुपमा स्थापना भयो । सन् १९६८ मा राष्ट्रिय बीमा ऐन जारी भएपछि ‘राष्ट्रिय बीमा कम्पनी’ ‘राष्ट्रिय बीमा संस्थान’का रुपमा रुपान्तरित भयो । सुरुमा ‘राष्ट्रिय बीमा संस्थान’ले पनि नन लाइफ इन्स्योरेन्सकै काम मात्रै गर्यो । सन् १९७३ देखि बल्ल ‘राष्ट्रिय बीमा संस्थान’ले लाइफ इन्स्योरेन्सको कारोबार पनि सुरु गर्यो भने हाल नेपालमा लगभग १९ वटा लाईफ इन्स्योरेन्स कम्पनी र लगभग २० वटा नन–लाईफ इन्स्योरेन्स गरी लगभग ३९ वटा बीमा कम्पनीहरु कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार