IME Life New

व्यापक आर्थिक चुनौतीका रूपमा देखा पर्दै बीमालेख निष्कृयता र समर्पण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको नेपालको जीवन बीमा क्षेत्रमा बीमालेख निष्कृय र समर्पणलाई प्रभाव पार्ने सामाजिक आर्थिक कारकहरूको विश्लेषण विषयक अध्ययन प्रतिवेदनले बीमा बजारमा देखिएको एउटा ठूलो संकटलाई उजागर गरेको छ।

प्रतिवेदन अनुसार नेपालको जीवन बीमा उद्योगमा बीमितहरूले समयमै बीमाशुल्क तिर्न नसकेर बीमालेखहरू निष्कृय हुनु र अवधि नपुग्दै आर्थिक आवश्यकता वा अन्य कारणले बीमालेख रद्द गरी पैसा झिक्नु सामान्य घटनाभन्दा माथि उठेर एक व्यापक आर्थिक चुनौती बनेको छ।

Esewa
Crest

आर्थिक वर्ष २०८०।८१ को तथ्याङ्कलाई हेर्दा ३४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी मूल्यका ११ लाख ५८ हजारभन्दा धेरै जीवन बीमालेखहरू नवीकरण नभई निष्कृय अवस्थामा पुगेका थिए । गत अार्थिक वर्ष २०८१।८२ मा निष्क्रिय बीमालेखको आकार बढेर ३६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

यसैगरी, एक वर्षको अवधिमा १ लाख १३ हजार ९ सय ७६ वटा बीमालेखहरू समर्पण  गरिएको छ। जसबाट १४ अर्ब ५० करोड रुपैयाँ बीमा प्रणालीबाट बाहिरिएको छ। बीमालेख निष्कृय हुनु भनेको निरन्तरता दिन नसक्दा बीमा सुरक्षा स्थगित हुनु हो । समर्पण भनेको बीचमै बीमा बन्द गरेर रकम फिर्ता लिनु हो, जसले बीमितको दीर्घकालीन आर्थिक सुरक्षा खोस्नुका साथै बीमा कम्पनीहरूको वित्तीय स्थायित्वमा समेत गम्भीर असर पुर्‍याएको छ।

प्रतिवेदनले बीमालेखहरू किन समयमै नवीकरण हुँदैनन् र बीमितहरू किन पोलिसी समर्पण गर्न बाध्य हुन्छन् भन्ने सन्दर्भमा बहुआयामिक कारणहरू औंल्याएको छ। यसमा बीमितको व्यक्तिगत वित्तीय संकट, देशको सुस्त आर्थिक अवस्था, चर्को महँगी (मुद्रास्फीति), आम्दानीमा आएको अस्थिरता र वैदेशिक रोजगारी वा बसाइँसराइ प्रमुख कारणका रूपमा देखिएका छन्।

बहुउत्तर दिने क्रममा ७८.९ प्रतिशत बीमितले आर्थिक कठिनाइ (जस्तै रोजगारी गुम्नु वा आय घट्नु) लाई मुख्य कारण मानेका छन् । ६१.२ प्रतिशतले आकस्मिक रूपमा आइपर्ने घरायसी खर्च, औषधोपचार वा छोराछोरीको शिक्षाका लागि तुरुन्त नगद प्राप्त गर्न बीमा समर्पण गर्नुपरेको बताएका छन्।

यस प्रक्रियामा बीमित स्वयंले आफ्नो वास्तविक आय र दीर्घकालीन क्षमता नसोची महँगा बीमालेख खरिद गर्नु, अभिकर्ताहरूले वास्तविक वित्तीय क्षमताको मूल्यांकन नगरी व्यक्तिगत वा सामाजिक सम्बन्धका आधारमा (७६ प्रतिशत अभिकर्ताका अनुसार) दबाब दिएर बीमा गराउनु र बीमाबारे स्पष्ट बुझाइ वा वित्तीय साक्षरताको कमी हुनुले ठूलो भूमिका खेलेको छ। त्यसैगरी, बीमक कम्पनीहरूको कमजोर सेवा, दाबी भुक्तानीमा ढिलासुस्ती (६५.२ प्रतिशतको सहमति) र बैंक तथा सहकारीको तुलनामा कम बोनस दर आउनुले पनि बीमितहरूलाई निराश बनाएको छ।

नेपालको जीवन बीमा बजारमा बीमाबारे स्पष्ट बुझाइ बेगर नै बीमा गराउने प्रवृत्ति र यससँग जोडिएका तथ्याङ्कीय चित्रहरू निकै चिन्ताजनक रहेका छन्। अध्ययन प्रतिवेदन अनुसार मानिसहरूलाई बीमाको दीर्घकालीन लाभ, निष्कृय हुँदा हुने नोक्सानी तथा बीमालेखधितो राखेर कर्जा लिन सकिन्छ भन्नेबारे ज्ञान छैन। अनुसन्धानमा सहभागि गराइएका जस्तै ६४.२ प्रतिशतलाई बीमालेख कर्जाबारे थाहै नभएको जानकारी दिए।

यी कारणहरूले गर्दा थोरै आर्थिक समस्या पर्नेबित्तिकै उनीहरू महँगो मूल्य चुकाएर बीमा समर्पण गर्न पुग्छन्। नेपालमा करिब १२ लाख १० हजार देखि १२ लाख ५० हजारसम्म बीमालेखहरू निरन्तर निष्कृयको घेरामा रहने गरेका छन् । मासिक रूपमा हजारौंको संख्यामा बीमालेख समर्पण हुने गरेका छन्।

यी निष्कृय वा समर्पण हुने बीमालेखहरूमा अधिकांश ३ देखि ५ वर्षभित्रका र विशेष गरी बजारमा अस्थिर आम्दानी भएका युवा पेशाकर्मीहरू, साना व्यवसायीहरू तथा सुरुवाती चरणमै ठूलो बीमाशुल्क आकारका बीमालेख किनेका वर्गहरू बढी प्रभावित रहेको पाइएको छ। औसत समर्पण मूल्य र निष्कृय बीमाशुल्कको भारले समग्र बीमा क्षेत्रको दीर्घकालीन कोष र अर्थतन्त्रलाई नै प्रभावित पारेको छ।

बीमालेखहरूको बढ्दो निष्कृयता र समर्पण प्रवृत्तीलाई रोक्न तथा नियन्त्रण गर्न प्रतिवेदनले नीतिगत र व्यावहारिक सुधारका विभिन्न उपायहरू अघि सारेको छ। नियमनकारी निकाय बीमा प्राधिकरण र बीमा कम्पनीहरूले नयाँ बीमालेख जारी गर्नु अघि अनिवार्य रूपमा वित्तीय उपयुक्तता मूल्यांकन लागू गर्नुपर्ने, जसले ग्राहकको वास्तविक आम्दानी र तिर्ने क्षमता हेरेर मात्र बीमा बेचिनेछ।

यसका साथै, बीमितहरूका लागि बीमाशुल्क तिर्न सहज हुने गरी लचिलो उत्पादन संरचना जस्तै बीमाशुल्क मिनाहा अवधि वा आंशिक भुक्तानी विकल्प डिजाइन गर्नुपर्ने, अभिकर्ताहरूको गलत रूपमा बीमा बेच्ने  प्रवृत्तिलाई नियन्त्रण गर्न कडा कानूनी र तालिमको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।

शाखा तहमा नै ग्राहक संरक्षण तथा पुनरुत्थान इकाइ स्थापना गरेर जोखिममा रहेका बीमालेखहरूको निगरानी गर्ने, डिजिटल माध्यमबाट सजिलो नवीकरण प्रक्रिया अपनाउने तथा स्थानीय समुदायमा व्यापक बीमा साक्षरता अभियान सञ्चालन गरेमा मात्र बीमालेख निष्कृय र समर्पण हुने विकृतिलाई प्रभावकारी रूपमा रोक्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS