काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीको वार्षिक तलब सुविधा ७१ प्रतिशतले बढेको छ । लोहनीले गत आर्थिक वर्ष २०७८/७९ मा एक करोड ३४ लाख रुपैयाँ बराबरको तलब सुविधा बुझेका हुन् । उनले यस भन्दा अघिल्लो आर्थिक वर्षमा ७८ लाख ४० हजार रुपैयाँ तलब सुविधा बुझेका थिए । उनले पहिलो कार्यकाल पुरा गर्ने क्रममा प्राप्त गरेको उपदान लगायतका सेवा सुविधाले पनि उनले बुझेको रकम धेरै देखिएको हो ।
कम्पनीले आज ५ औ वार्षिक साधारणसभा आयोजना गरेको छ । कम्पनीले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार ३४ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यस आधारमा कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ छ । कम्पनीले प्रिमियममा आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डले स्वीकृति दिने वित्तीकै कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्नेछ ।


















