IME Life New

मंसिरमा बैंकरले सोचेको भन्दा आधा मात्रै गयो कर्जा !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। चालु आर्थिक वर्षको मंसिरमा वाणिज्य बैंकहरुले जम्मा ४२ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका छन्।

चाडपर्व सकिएपछि कर्जा विस्तार करिब ८० अर्ब हाराहारी विस्तार गर्ने अपेक्षा गरिएकोमा त्यसको आधा मात्रै कर्जा विस्तार हुन सकेको बैंकरहरुले बताएका छन्। जुन अर्थतन्त्रका लागि तथा समग्र बैंकिङ क्षेत्रका लागि चुनौतीको विषय भनेको उनीहरुको भनाइ छ।

Esewa
Crest

चालु वर्ष साउनमा २ अर्ब, भदौमा ५३ अर्ब र असोजमा ५६ अर्ब कर्जा प्रवाह भएकामा कात्तिकमा कर्जा २ अर्बले खुम्चिन पुगेको थियो। कर्जाको ब्याजदर निरन्तर घट्दै आइरहेको र चाडपर्व सकिएको हुँदा मंसिरमा माग निक्कै बढ्ने अपेक्षा गरिएकोमा कर्जा विस्तार हुन नसक्नु चुनौतीको विषय बनेको छ।

सञ्चालनमा रहेका २० मध्ये १४ बैंकले मंसिरमा व्यवसाय केही बढाउँदा ६ बैंकको भने खुम्चिएको छ। मंसिरमा एभरेष्ट बैंकले सबैभन्दा धेरै ७ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यो बैंकले चालु आर्थिक वर्ष पछिल्लो ५ महिनामा साढे १८ अर्ब रुपैयाँ भन्दा लगानी गर्न सकेको छैन।

यस्तै राष्ट्रिय वाणिज्य बैंकहरुले ६ अर्ब ५३ करोड रुपैयाँ, एनएमबि बैंकले ५ अर्ब ७९ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ५ अर्ब ६७ करोड रुपैयाँ र प्राइम कमर्सियल बैंकले ४ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। हिमालयन बैंकले मंसिरमा सबैभन्दा कम जम्मा ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सिटिजन्स, कुमारी, माछापुच्छ्रे, एनआईसी एसिया, प्रभु र स्टान्डर्ड चाटर्ड बैंकको कर्जा लगानी खुम्चिएको छ।

मंसिर महिनामा एनआईसी एसिया बैंकको कर्जा सबैभन्दा धेरै ४ अर्ब २४ करोड रुपैयाँले खुम्चिएको छ। चालु आर्थिक वर्ष पछिल्लो ५ महिनामा यो बैंकको व्यवसाय २७ अर्ब ९७ करोड रुपैयाँले घटिसकेको छ।

मंसिरमा वाणिज्य बैंकहरुमा ३३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। त्यसमध्ये ६४.४८ प्रतिशत निक्षेप राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको हो। राष्ट्रिय वाणिज्य बैंकमा मंसिरमा २१ अर्ब ४८ करोड रुपैयाँ निक्षेप थपिएको छ।

मंसिरमा १२ बैंकमा निक्षेप थपिँदा ८ बैंकमा भने खुम्चिएको छ। नेपाल बैंकमा ११ अर्ब ३१ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ९ अर्ब ३३ करोड रुपैयाँ र नबिल बैंकमा ७ अर्ब ६५ करोड रुपैयाँ निक्षेप थपिएको छ।

मंसिरमा एनआईसी एसिया बैंकमा सबैभन्दा धेरै ११ अर्ब ४३ करोड रुपैयाँ निक्षेप घटेको छ। कृषि विकास बैंक, हिमालयन, कुमारी, माछापुच्छ्रे, नेपाल एसबीआई, एनएमबि र स्टान्डर्ड चाटर्ड बैंकको निक्षेप पनि खुम्चिएको छ।

बैंकहरुले कर्जा विस्तारका लागि विभिन्न योजना तथा स्किमहरु सार्वजनिक गरिरहेका छन्। ब्याजदर घटिरहनु सहुलियत दरमा कर्जा पाउनु तथा लगानी योग्य रकम प्रशस्त रहँदा पनि बैंक तथा वित्तीय संस्थाको कर्जामा माग नै नहुनु दुःखद् भएको बैंकरहरु बताउँछन्।

पछिल्ला महिनाहरुमा कर्जा असुलीतर्फ बैंकहरुले ध्यान दिँदा कर्जाको विस्तार गर्नेतर्फ जोड नदिएको कतिपयको तर्क छ। कर्जा असुलीमा निकै ठूलो समस्या देखिएपछि अहिले बैंकको सम्पूर्ण ध्यान त्यसतर्फ लागेको उनीहरु बताउँछन्।

केही दिनअघि एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले कर्जा असुली नेपालको बैंकिङ क्षेत्रको निकै ठूलो चुनौतीका रुपमा देखापरेको बताएका थिए।

अहिले निजी क्षेत्रले कर्जाको माग नै गर्न नसकेको अवस्था छ। उत्पादनसमेत कटौती गरेर बस्नुपर्दा कर्जाको आवश्यकता नै महसुस नभएको निजी क्षेत्रले बताउँदै आएको छ। सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर उनीहरुको मनोबल बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनतर्फ जोड दिनुपर्ने जानकारहरुले बताउँदै आएका छन्। तर, तत्कालै त्यसो गरिनुपर्नेमा सरकारले चासो नदिएको निजी क्षेत्रको गुनासो छ। निजी क्षेत्रले सरकारको अस्थिर नीतिका कारण लगानीकर्ताको मनोबल खस्किएको बताउँदै आएको छ।

सरकारले अर्थतन्त्र सुधार्नका लागि भन्दै उच्चस्तरीय आयोगसमेत गठन गरेर अध्ययन गरिरहेको छ। तर, अध्ययन प्रतिवेदन आउन समय लाग्ने भएकाले तत्कालै सुधार्नका लागि केही काम गरिहाल्नुपर्नेमा निजी क्षेत्रले जोड दिँदै आएको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा निजी क्षेत्रमा जाने कर्जा साढे १२ प्रतिशतले वृद्धि गर्ने राष्ट्र बैंकको लक्ष्य छ। तर, लक्ष्यको निकै न्यून मात्रै कर्जा प्रवाह भइरहेको अहिलेको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS