काठमाडौं । भारतको मुम्बईमा एउटा बीमा दाबीको मुद्दा बाहिर आएको छ। जिल्ला उपभोक्ता विवाद निवारण आयोगले एउटा बीमा कम्पनीलाई अग्नि बीमाको भारु ८ करोड बढी दाबी भुक्तानी गर्न आदेश दिएको घटना बाहिर आएको हो।
स्विस कम्पनी भिक्टोरिनक्स इन्डिया प्राइभेटको कस्टम्स बन्डेड गोदाम आगलागीमा नष्ट भएको ७ वर्षपछि उपभोक्ता अदालतले बीमा कम्पनीलाई ठूलो झट्का दिएको छ। आयोगले बीमा कम्पनी न्यु इन्डिया एस्योरेन्सलाई कम्पनीको अग्नि बीमा दाबी गलत तरिकाले अस्वीकार गरेकोमा भारु ८.०६ करोडभन्दा बढी तिर्न आदेश दिएको हो।
समाचार एजेन्सीको रिपोर्टअनुसार सेप्टेम्बर २ मा भएको आफ्नो आदेशमा आयोग (दक्षिण मुम्बई)ले कम्पनीको वास्तविक दाबी ‘केवल प्राविधिक आधारमा र उचित विचार बिना’ अस्वीकार गरिएको जनाएको छ।
बीमा कम्पनीविरुद्ध उजुरी दर्ता गर्ने कम्पनी स्विट्जरल्यान्डको भिक्टोरिनक्स एजीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। कम्पनीले आफ्नो मूल कम्पनीद्वारा भारतमा उत्पादित यात्रा झोला, चक्कु, विलासी घडी, कटलरी र अन्य उपभोक्ता उत्पादन निर्यात, आयात र वितरण गर्दछ। कम्पनीले न्यु इन्डिया एस्योरेन्सबाट ‘स्ट्यान्डर्ड फायर एन्ड स्पेसल परिल्स पोलिसी’ लिएको थियो।
‘कुनै पनि ठोस असहमति वा ठगी गर्ने उद्देश्य बिना प्रक्रियागत नियमहरुको पालना नगरेकोमा आधारित बीमा कम्पनीको दाबी अस्वीकार गर्नु कानुनी रुपमा मान्य थिएन’, मुम्बई उपभोक्ता आयोग प्यानलले भन्यो, ‘बीमा कम्पनी अनुचित व्यापारिक अभ्यासमा संलग्न थियो र उजुरीकर्ता भिक्टोरिनक्स इन्डियालाई सेवा प्रदान गर्न असफल भयो।’
कम्पनीको उजुरीअनुसार सन् २०१९ फेब्रुअरी १६ मा कम्पनीको कस्टम बन्डेड वेयरहाउसमा ठूलो आगलागी भएको थियो। जानकारीअनुसार यो एउटा सुरक्षित सरकार–अनुपालन भण्डारण सुविधा हो, जहाँ आयातित सामानहरु भण्डारण गरिन्छ।
उजुरीकर्ताका अनुसार गोदाम कर्मचारीहरुले आगो निभाउन तुरुन्तै र आवश्यक कदम चालेका थिए। यद्यपि, आगो झन् भयावह बन्दै गएपछि जवाहरलाल नेहरु पोर्ट ट्रस्ट (जेएनपीटी)को अग्निशमन सेवालाई बोलाइएको थियो। उजुरीमा भनिएको छ, ‘सबै प्रयासहरुका बाबजुद आगोको तीव्रताले त्यहाँ भण्डारण गरिएका सामानहरुमा व्यापक क्षति पुर्यायो।’
उजुरीमा बीमा कम्पनीले नियुक्त गरेको सर्भेयरले कुल क्षति भार ८ करोड ६ लाख ४९ हजार ५७३ अनुमान गरेको थियो। यद्यपि, बीमा कम्पनीले सन् २०२१ जनवरीमा दाबी अस्वीकार गर्यो। कम्पनीले केही आन्तरिक सम्झौता र बीजकहरु पेस नगरी खण्ड ६(आई) उल्लंघन गरिएको तर्क गर्यो।
आयोगले ई–मेल रेकर्डहरु जाँच गर्यो। जसले पत्ता लगायो कि भिक्टोरिनक्सले सर्भेयरका प्रश्नहरुको जवाफ दिन बारम्बार अनुरोध गरिएका कागजातहरु प्रदान गर्यो र भर्चुअल सम्मेलनहरुमा पनि भाग लियो। प्यानलले अवलोकन गर्यो कि सर्भेयरले साइटमा निरीक्षण र बीमितले पेस गरेका विभिन्न कागजातहरुका आधारमा क्षतिको गणना र मूल्यांकन गरे।
प्यानलले भन्यो, ‘आगोबाट भएको क्षति र क्षतिको मूल्यांकन गरिसकेपछि तथा कुनै पनि पक्षले कुनै आपत्ति नजनाएको खण्डमा पोलिसीको खण्ड ६(ख) उद्धृत गरेर दाबी अस्वीकार गर्नु हाम्रो विचारमा गलत र कानुनी रुपमा अयोग्य थियो।’
प्यानलले बीमा कम्पनीले ‘कुनै ठोस वा उचित कारण बिना, केवल प्राविधिक आधारमा’ दाबी अस्वीकार गरेको निष्कर्ष निकालेको छ। त्यसकारण उजुरीकर्ता भारु ८ करोड ६ लाख ४९ हजार ५७३ को बीमा दाबीको हकदार छन्। प्यानलले न्यु इन्डिया एस्योरेन्सलाई उजुरी दर्ता गरेको मितिदेखि ९ प्रतिशत ब्याज तिर्न आदेश पनि दिएको छ।
यसका साथै बीमा कम्पनीलाई ४५ दिनभित्र मानसिक उत्पीडनका लागि भारु ५० हजार र कानुनी खर्चका लागि भारु ५० तिर्न आदेश दिइएको छ।












