IME Life New

एशियन लाइफको लगानी रहेको माउण्टेन ग्लोरीको कारोबार बढेपनि अझै घाटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स साझेदार रहेको माउण्टेन ग्लोरी लिमिटेड अन्तर्गतको चार तारे स्तरको रिसोर्ट अझै पनि घाटामा चलेको छ। रिसोर्ट सञ्चालनको ६ वर्षमा क्रमशः कारोबार अंकमा सुधार देखिए पनि होटलको ब्याज सहितको सञ्चालन खर्चका कारण निरन्तर घाटा भएको हो।

दीर्घकालीन लगानी आवश्यक पर्ने होटल रिसोर्टको शुरूवाती लगानी, कर्जा र ब्याज खर्चको चर्को भार हुन्छ। यसबाहेक शुरूवाती समयमा होटलले पूर्ण क्षमतामा कारोबार गर्न नसक्ने भएकाले पनि ठूला लगानीका होटल नाफा कमाउने अवस्था आउन सामान्यतया आठदेखि दश वर्षको समय लाग्न सक्छ।

Esewa
Crest

सन् २०१८ देखि सञ्चालनमा आएको यो कम्पनीको रिसोर्टले कोरोना महामारी पछि कारोबारमा क्रमशः सुधार गर्दै आएको छ। आव २०७६।७७ मा २ करोड ३० लाख, २०७७।७८ मा २ करोड २० लाख, २०७८।७९ मा ५ करोड ६० लाख रूपैयाँ र आव २०७९।८० मा ६ करोड १० लाख रूपैयाँ कमाएको थियो। गत आवमा यसले कारोबार आयमा २४.५९ प्रतिशतले वृद्धि हासिल गर्दै कुल ७ करोड ६० लाख रूपैयाँ आम्दानी गर्न सफल भएको छ।

आव २०८०।८१ को कारोबार आयको आधारमा यो रिसोर्टको प्रति कोठा दैनिक औसत आम्दानी ३ हजार २५३ रूपैयाँ रह्यो। ६४ वटा कोठा रहेको यो रिसोर्टले अघिल्लो आवमा प्रति कोठा दैनिक औसत आम्दानी २ हजार ६११ रूपैयाँ रहेको थियो ।

कारोबार अंकमा सुधार भएपनि यो होटलले सञ्चालन खर्चको तुलनामा पर्याप्त व्यापार गर्न नसक्दा नाफा घाटा सन्तुलनको अवस्थामा पुग्न सकेको छैन । कारोबार अंक बढेसँगै यसको घाटाको अंक पनि बढेको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले जारी गरेको प्रेस विज्ञप्ती अनुसार कर र ह्रासकट्टी अघिको यसको मुनाफा आव २०७८।७९ मा ९० लाख रूपैयाँ रहेकोमा आव २०७९।८० मा बढेर १ करोड ५० लाख रूपैयाँ पुगेको छ।

अघिल्लो आवमा घाटाको अंक बढे पनि गत आव २०८०।८१ मा कारोबारमा सुधार गर्दै ७ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको छ। कारोबारमार्फत यति रकम कमाउँदा पनि अझै यो होटल घाटाको अवस्थाबाट बाहिरिन निस्किन सकेको छैन ।

आइपिओका लागि पायो यस्तो रेटिङः

माउण्टेन ग्लोरी लिमिटेडले साधारण शेयर निष्काशनका लागि डब्बल बी माइनस रेटिङ पाएको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालका अनुसार यस्तो रेटिङ प्राप्त शेयर जारीकर्ता कम्पनीले पूर्व निर्धारित समयमा वित्तीय दायीत्व पुरा गर्ने सम्बन्धमा मध्यमस्तरको जोखिम हुन्छ।

माउण्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणमा रू १०० अंकित दरमा ४० लाख कित्ता जारी गरेर ४० करोड रूपैयाँ थप पूँजी जुटाउने तयारी गरेको छ। शेयर निष्काशनका लागि गत माघ १२ गते लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक समेत नियुक्त गरि सकेको छ। एक अर्ब ५० करोड रूपैयाँ रहेको माउण्टेन ग्लोरी लिमिटेडमा एशियन लाइफको ४० प्रतिशत शेयर स्वामित्व रहेको छ।

ऋण भारसँगै घट्यो ब्याज खर्चः

इन्फोमेरिक्सका अनुसार आर्थिक वर्ष २०७८।७९ को असार मसान्तसम्ममा ६६ करोड ८० लाख रूपैयाँ ऋण रहेको यो कम्पनीले आव २०७९।८० को अन्त्यसम्ममा ऋण १९ करोड ९० लाख रूपैयाँमा झारेको छ। कम्पनीले दीर्घकालीन कर्जावापतको रकमलाइ कर्जा अवधि पुरा हुनु अगावै भुक्तानी गरेर कर्जा भार घटाएको हो। कर्जा चुक्ताका लागि होटलले शेयरपूँजी वापतको रकम प्रयोग गरेको छ ।

यसको चुक्ता पूँजी २०७८।७९ मा ५५ करोड २० लाख रूपैयाँ रहेकोमा आव २०७९।८० मा १ अर्ब १० करोड रूपैयाँ पुगेको छ। शेयर पूँजी थपिएर कर्जाको भार कटाैती हुँदा यो कम्पनीको गियरिङ लेभल ३.८२ गुणाबाट ०.३४ गुणामा झरेको छ। ब्याज बहन अनुपात र ऋण चुक्ता सक्षमता अनुपात अझै पनि नकारात्मक अवस्थामै छ। आइपिओ मार्फत थप चुक्ता पूँजी वृद्धिबाट ऋण चुक्ता गरेको अवस्थामा यो सूचकांकमा सुधार आउने अपेक्षा गरिएको इन्फोमेरिक्स नेपालले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

माउण्टेन ग्लोरी लिमिटेड अन्तर्गत पोखराको दोभिल्लामा माउण्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालनमा छ । लेक साइडबाट आठ किलो मिटर दूरीमा अवस्थित यो रिसोर्ट ७० रोपनी क्षेत्रफलमा फैलिएको छ। रिसोर्टले गत असार महिनामा पर्यटन विभागबाट डिलक्स रिसोर्टको मान्यता समेत पाएको छ।

प्रारम्भमा पोखराका उद्यमी ध्रुव थापा सहित आठ जनाको लगानीमा स्थापित माउण्टेन ग्लोरी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष सुनिल भक्त श्रेष्ठ हुन् । सञ्चालक समितिमा एशियन लाइफका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठलगायतका सदस्य रहेको इन्फोमेरिक्सले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS