IME Life New
GBIME

जीवन बीमामा समर्पण मूल्य के हो ? कसरी हुन्छ गणना ?

SPIL
Global College
Nepal Life

जीवन बीमा योजना (म्यादी लगायतका जोखिममात्र बहन गर्ने बीमालेख बाहेक)हरुमा बीमालेख समर्पण गर्ने सुविधा हुन्छ। बीमितले कारणवश बीमा बीमा चालु राख्न नचाहेको खण्डमा बीमालेख समपर्ण गरेर समर्पणमूल्य प्राप्त गर्न सक्छ। विशेषगरी जीवन बीमालेखहरु ३ किस्ता बीमाशुल्क भुक्तानी गरिसकेपछि र बीमा सुरु भएको ३ वर्ष पूरा भइसकेपछि (अर्थात् तेस्रो किस्ता तिरेको १ वर्षपछि ) समपर्ण गर्न पाइन्छ।

बीमालेख समर्पण गर्न मिल्छ र तिरेको बीमाशुल्कभन्दा केही थोरै रकम समर्पणमूल्य पाइन्छ भन्ने बुझाइ कतिपय बीमितको रहेको हुन्छ। अझ कतिपए बीमितले आफूले तिरेको रकमको केही हिस्सा कटाएर बीमा कम्पनीले समर्पण मूल्य दिन्छ भन्ने बुझेको पाइन्छ। तर, के वास्तवमै तिरेको रकम कट्टा गरी समपर्णमूल्य गणना हुने हो त ? के समर्पणमूल्य सधैँ आफूले तिरेको बीमाशुल्कभन्दा कम हुन्छ त? आउनुहोस् आज बीमालेखको समर्पण मूल्य गणना विधिबारे बुझौँः

Crest

बीमांक र बोनस

जीवन बीमा एउटा यस्तो करार हो, जसअन्तर्गत बीमक (बीमा कम्पनी) ले बीमित (बीमालेख खरिद गरेको व्यक्ति)लाई विशेष अवस्थाहरुमा बीमांक र बोनसलगायतका रकम प्रदान गर्दछ । उदाहरणका लागि सावधिक जीवन बीमा लिऔँ। सवाधिक जीवन बीमा योजना नेपाली बीमा बजारमा सबैभन्दा बढी बिक्री हुने बीमा योजना हो। जसअन्तर्गत बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमांक रकमका साथै त्यस अवधिसम्म आर्जित बोनस वा बीमा अवधिको अन्त्यमा बीमित जीवित रहेमा बीमांक रकमका साथै बीमा अवधिभरमा आर्जित बोनस प्रदान गर्दछ।

बीमांक रकम भनेको बीमितले गरेको मूल बीमा रकम हो भने आर्जित बोनस भनेको बीमितले तिरेको बीमाशुल्कबापत बीमितलाई प्रदान हुने रकम हो। यसलाई बैंकको ब्याज जसरी बुझ्न सकिन्छ तर बैंकको ब्याजदर र बीमाको बोनसदरमा दुई मूलभूत भिन्नता रहन्छ । पहिलो भनेको बैंकको ब्याजदर निर्धारण बैंकिङ प्रणालीको तरलताअनुसार हुने गर्दछ। जुन बचतको सुरुमा नै निर्धारण भइसकेको हुन्छ। तर, बीमाको बोनसदर बीमकले गरेको नाफाअनुसार निर्धारण हुन्छ। बीमाको बोनस पूर्वनिर्धारित हुँदैन र बीमकको नाफाअनुसार प्रत्येक वर्ष हेरफेर हुन सक्छ। तर, साधारणतया बोनस स्थिर नै रहन्छ र घटबढ भएको खण्डमा पनि निकै काम अंकले घटबढ हुन्छ। अर्को भिन्नता भनेको गणना हुने आधार रकमको हो । बैंकको ब्याजदार ग्राहकले जम्मा गरेको रकममा गणना हुन्छ भने बीमाको बोनस बीमितले तिरेको बीमाशुल्कमा नभई बीमांक रकममा गणना हुन्छ र बीमा अवधिको अन्त्यमा मात्र प्राप्त हुन्छ ।

कसरी आर्जित हुन्छ बोनस ?

मानौँ एक बीमितको १५ वर्ष अवधिको १० लाख बीमांक भएको सावधिक बीमालेख छ। उक्त बीमालेखको बीमकले ६० प्रतिहजार बोनसदर निर्धारण गरेको छ। बीमितले बीमाको पहिलो किस्ता बीमाशुल्क तिरेबापत वर्षको अन्त्यमा बीमांक रकमको ६० प्रतिहजार अर्थात बीमांक रकमको ६ प्रतिशत (६० प्रतिहजार भनेको ६ प्रति १०० हुने भएकोले) आर्जन गर्दछ। जुन ६/१००० ८१०,००,०००= ६० हजार हुन्छ । यस्तै २ वर्ष बीमाशुल्क तिरे २ वर्षको अन्त्यमा १ लाख २० हजार ३ वर्ष बीमाशुल्क तिरे तिन वर्षको अन्त्यमा १ लाख ८० हजार गर्दै १५ वर्ष तिरे बीमा अवधिको अन्त्यमा जम्मा ९ लाख रुपैयाँ बोनस आर्जन हुन्छ ।

यही हिसाबले पहिलो किस्ता बीमाशुल्क तिरेर वर्षको अन्तिममा दोस्रो किस्ता तिर्न नपाउँदै बीमितको मृत्यु भएमा बीमांकको १० लाख र आर्जित बोनस ६० हजार गरी जम्मा १० लाख ६० हजार, दोस्रो वर्षको अन्तिममा मृत्यु भए बीमांकको १० लाख र आर्जित बोनस १ लाख २० हजार गरी ११ लाख २० हजार बीमितले पाउँदै गर्दा बीमा अवधिसम्म बीमित जीवित रहेमा बीमांकको १० लाख र आर्जित बोनस ९ लाख गरी कुल १९ लाख रुपैयाँ बीमितलाई प्राप्त हुन्छ।

यस उदाहरणमा सहाजताका लागि हामीले वर्षको अन्त्यको कुरा गयौँ तर बीमितको मृत्यु जुनसुकै बेला पनि हुन सक्छ र समर्पण पनि जुनसुकै बेला हुन सक्छ। तसर्थ, बोनस मूल्य महिनाको हिसाबले गणना गरिन्छ। जस्तो तेस्रो किस्ता तिरेको ६ महिनामा बीमितको मृत्यु भएको अवस्थामा २ वर्ष ६ महिनाको बोनस आर्जन हुन्छ । अगाडिको २ वर्षको ६० हजारको दरले १ लाख २० हजार र पछिल्लो ६ महिनाको ३० हजार गरी १ लाख ५० हजार बोनस आर्जन हुन्छ । बीमांकको १० लाख र आर्जित बोनस १ लाख ५० हजार गरी ११ लाख ५० हजार रुपैयाँ प्राप्त हुन्छ। सोही गरी वर्षको बीचमा बीमा समपर्ण गर्दा पनि त्यही महिनासम्मको बोनस आर्जन भएको हुन्छ।

चुक्ता बीमांक

चुक्ता बीमांक भनेको बीमितले तिरेको बीमाशुल्कअनुसारको बीमांक हो। अघिकै उदाहरणमा १० लाख बीमांकको बीमाका लागि १५ वर्षसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । अर्थात् बीमितले सर्तअनुसार समयमै बीमाशुल्क तिरेको छ भने बीमा चालु अवस्थामा रहन्छ र मृत्युमा १० लाख बीमांक र बोनस प्राप्त हुन्छ। तर, यदि बीमितले बीच्चैमा बीमाशुल्क भुक्तानी गर्न छोड्छ भने बीमालेख चुक्ता बीमालेखमा परिणत हुन्छ। उक्त उदाहरणमा यदि ४ वटा किस्ता बीमाशुल्क तिरेर बीमितले थप बीमाशुल्क भुक्तानी नगर्दा बीमितको बीमांक पनि १५ भागको ४ भागमात्र रहन्छ या नि कि बीमांक रकम घटेर ४/१५८१०,००,००० = रु. २,६६,६६६.६७ रहन जान्छ। कुनै पनि बीमालेख चुक्ता बीमालेखमा परिणत हुन कम्तीमा पूरा २ वर्षको बीमाशुल्क भुक्तानी गरेको हुन पर्छ । यस्तो नभएको अवस्थामा बीमालेख व्यतीत हुन्छ र बीमितले भविष्यमा कुनै पनि सुविधा प्राप्त गर्दैन।

चुक्ता मूल्य

चुक्ता बीमांकमा आर्जित बोनस जोडेपछि प्राप्त हुने रकमलाई चुक्ता मूल्य भनिन्छ। माथिकै उदाहरणमा ४ वटा बीमाशुल्क तिरिसकेको हुँदा पाँचौँ किस्ता तिर्ने बेलासम्म ४ वर्षको बोनस आर्जित भएको हुन्छ। जुन भनेको वर्षको ६० हजारको दरले ४ वर्षको २ लाख ४० हजार हुन्छ। यसरी चुक्ता बीमांकको रु. २ लाख ६६ हजार ६६६.६७ र आर्जित बोनसको २ लाख ४० हजारले चुक्ता मूल्य रु. ५ लाख ६ हजार ६६६.६७ हुन जान्छ । के यही हो त समपर्णमा पाउने रकम। एकछिन पर्खनुस् अझ मुख्य हिसाब त बाँकी नै छ।

समर्पण मूल्य

अब एक चोटी सवाधिक जीवन बीमाको भुक्तानी पाउने अवस्था सम्झनुस् त। कुन बेला पाइन्थ्यो त भुक्तानी ? कि मृत्युमा कि त बीमा अवधिको अन्त्यमा। चुक्ता भएको बीमालेखको पनि भुक्तानी पाउने अवस्था कि मृत्यु कि त अवधिको अन्त्यमा मात्र हो। तर, तपाइँलाई त अहिले समर्पण गर्न चाहनुहुन्छ र समर्पणमूल्य प्राप्त गर्न चाहनुहुन्छ। यस्तो अवस्थामा तपाइँलाई चुक्ता मूल्यको आजको मूल्य (प्रिजेन्ट भ्यालु) दिइन्छ। आजको मूल्यलाई यसरी बुझ्न सकिन्छ । जस्तो आज तपाइँसँग १०० रुपैयाँ छ र ६ प्रतिशत ब्याजदरमा बचत गर्नुभयो भने १ वर्षपछि त्यो रकम सञ्चित भएर १०६ रुपैयाँ हुन्छ। जसरी आजको १०० रुपैयाँ १ वर्षपछिको १०० x (१.०६) ले १०६ रुपैयाँ हो। त्यस्तै १ वर्षपछिको १०० रुपैयाँ भनेको आजको १००/(१.०६) = ९४.३३९६ रुपैयाँ हो । जसरी सञ्चित हुने रकमका लागि आधार रकमलाई एक जोड ब्याजदर (१+६/१००=१.०६) गुणान गरिन्छ, त्यसरी नै आजको मूल्य गणना गर्दा आधार रकमलाई एक जोड ब्याजदर (१+६/१००=१.०६) भाग गरिन्छ । सञ्चित गर्दा प्रयोग हुने दरलाई ब्याजदार भनिन्छ भने आजको मूल्यमा लेर्याउन प्रयोग हुने दरलाई दरलाई डिस्काउन्ट दर भनिन्छ । नेपाल बीमा प्राधिकरणले समपर्णमूल्य हिसाब गर्न ६ प्रतिशत डिसकाउन्ट दर तोकेको छ।

यसरी एकचोटी १.०६ ले भाग गर्दा १ वर्षको डिस्काउन्ट हुन्छ । समर्पणमूल्य गणना गर्न बीमा समाप्ति हुन जति वर्ष बाँकी हुन्छ, चुक्ता मूल्यलाई त्यति वर्षले डिस्काउन्ट गर्नुपर्छ। जसलाई सरेन्डर भ्याुल फ्याक्टर (एसभीएफ) पनि भनिन्छ। यसरी बीमा अवधि समाप्ति हुन जति समय बाँकी हुन्छ, चुक्ता मूल्यलाई त्यति चोटी नै (१.०६) ले भाग गरेर आउने मूल्य नै समर्पण मूल्य हो।

माथिको उदाहरणमा ४ किस्ता बीमाशुल्क भुक्तानी भएको र ४ वर्ष पूरा भइसकेको छ। बीमा अवधि सकिन अझै ११ वर्ष बाँकी रहेको छ । तसर्थ, चुक्ता मूल्य पाउने समय आउन अझ ११ वर्ष छ । उक्त मूल्यलाई आजको मूल्यमा ल्याउन १.०६ ले अझ ११ चोटी डिस्काउन्ट गर्नुपर्छ। अन्तः ५ लाख ६ हजार ६६६.६७ लाई ६ प्रतिशत डिस्काउन्ट दरले ११ वर्ष डिस्काउन्ट गर्दा आउने रकम नै समर्पणमूल्य हो। जुन ५ लाख ६ हजार ६६६.६७/(१.०६)६११= रु. २ लाख ६६ हजार ९०५.६७ हुन्छ।

उदाहरणको सारांश

बीमांक= रु. १०,००,०००

तिर्नुपर्ने किस्ता= १५

तिरेको किस्ता= ४

चुक्ता बीमांक= ४/१५ ८१०,००,००० = २,६६,६६६.६७

४ किस्ता बापत आर्जित बोनस= ६०/१०००८१०,००,००० ८४ = २४०,०००

चुक्ता रकम= २,६६,६६६.६७+२,४०,०००=५,०६,६६६.६७

बीमा समाप्ति हुन बाँकी अवधि: ११ वर्ष

समर्पण मूल्य= ५,०६,६६६.६७/(१.०६)६११ =रु. २६६,९०५.६७

हामीले उदाहरण सहज बनाउन पाचौँ किस्ता बीमाशुल्क तिर्ने बेला अर्थात बीमा वार्षिकउत्सवमासमर्पण मानेर यो हिसाब गर्यौं, जसले गर्दा ठ्याकै ११ वर्ष अवधि बाँकी रहयो । तर, साढे ४ वर्षमा समपर्ण हुन्छ भने बीमा अवधि समाप्त हुन साढ़े १० वर्ष बाँकी रहन्छ। जसले गर्दा मासिक डिस्काउन्ट समायोजन गर्न थप हिसाब गर्न पर्छ। जसका कारण समर्पण मूल्यमा थोरै फरक आउँछ ।

यसरी समर्पण मूल्य बीमितले तिरेको बीमाशुल्कको निश्चित प्रतिशतमा नभई बीमितले भविष्यमा प्राप्त गर्ने रकमको आजको मूल्यअनुसार निर्धारण गरिन्छ । बीमा अवधिको सुरुआतमा समर्पण गर्दा तिरेको बीमाशुल्कभन्दा समर्पण मूल्य कम हुन्छ भने बीमा अवधिको अन्त्यतिर उक्त समर्पण मूल्य बीमितले तिरेको बीमाशुल्कभन्दा बढी हुन्छ। बीमाशुल्क तिर्न छोडेको र समर्पण गरेको समयको फरकले पनि समर्पण मूल्यलाई असर गर्दछ । ४ वर्ष बीमाशुल्क तिरेर पाँचौँ वर्षमा समर्पण गर्दा कम मूल्य प्राप्त हुन्छ भने त्यही बीमालेख १० वर्षपछि समर्पण गर्दा बढी मूल्य प्राप्त हुन्छ।

अग्रिम भुक्तानी बीमालेखको हकमा भने बीमा अवधिको बीचमा रकम फिर्ता हुने हुँदा फिर्ता हुने रकम र फिर्ता हुन बाँकी समयअनुसारको गणना गर्न पर्ने हुन्छ। साथै, एकल बीमाशुल्कको हकमा भने ३ वर्षपछि बीमाशुल्कको ८० प्रतिशत र बोनस, ४ वर्षपछि बीमाशुल्कको ८५ प्रतिशत र बोनसका साथै ५ वा सो भन्दा बढी भएको अवस्थामा बीमाशुल्कको ९० प्रतिशत र बोनस प्रदान गरिन्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS