IME Life New

सुनचाँदी धितो कर्जा विस्तारमा बढ्यो बैंकहरुको ध्यान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितोमा कर्जा विस्तारलाई आक्रामक बनाउन थालेका छन्।

अन्य क्षेत्रमा कर्जा विस्तार निराशाजनक अवस्थामा रहेको बेलामा बैंकिङ क्षेत्रले सुनचाँदी धितोमा कर्जा प्रवाह गर्न सुरक्षित ठानेका हुन्। केही वर्षयता सुनको मूल्य निरन्तर बढिरहेको छ। यही मूल्य वृद्धिले बैंकहरुको धितो मूल्यांकन क्षमतामा सकारात्मक असर पारेको बैंकरहरु बताउँछन्। सोही कारण अहिले सुन धितो कर्जा बैंकहरुका लागि आकर्षक विकल्प बनेको हो।

Esewa
Crest

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२।८३ को भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितोमा ८५ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। २०८१ असारसम्ममा सुनचाँदी धितोमा ५८ अर्ब ५९ करोड रुपैयाँ कर्जा दिएकोमा १ वर्षमा ४२.४० प्रतिशत बढेर २०८२ असारसम्ममा ८३ अर्ब २९ करोड रुपैयाँ पुगेको हो। चालु आर्थिक वर्षको पहिलो दुई महिनामै यो कर्जा ३.०२ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको समग्र कर्जा ८.४ प्रतिशतले वृद्धि भएको थियो। यस्तै चालु आर्थिक वर्षको दुई महिनामा कर्जा विस्तार ०.९ प्रतिशतमात्र छ।

बैंकहरुले सुन धितोमा कर्जा प्रवाह गर्न बजार मूल्यका आधारमा धितो मूल्यांकन गरी ग्राहक हेरेर ५०–७० प्रतिशतसम्म कर्जा लगानी गर्ने गरेका छन्। सुनको मूल्य वृद्धिसँगै धितोको मूल्यांकन बढ्दा बैंकहरुलाई कर्जा बढाउन सजिलो भएको हो। यही मूल्य वृद्धिले बैंकहरुलाई सुन धितो कर्जा विस्तारमा थप प्रोत्साहन दिएको छ।

मूल्यवृद्धिसँगै राष्ट्र बैंकले गत वर्ष असोजमा निर्देशन जारी गरी सुनचाँदी धितोमा एक जना ग्राहकलाई ५० लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह नगर्न सीमा तोकेको छ। सीमा निर्धारणपछि पनि कर्जा झनै वृद्धि भएको छ।

नेपालमा सुन परम्परागत रुपमा गहनाका रुपमा सीमित थियो। तर पछिल्लो दशकमा यसको भूमिका लगानीको मुख्य विकल्पका रुपमा अगाडि बढ्दै छ। पहिले सुन किनेको पसलमै सानो ऋण लिने चलन थियो। अहिले भने बैंक तथा वित्तीय संस्थामार्फत सुनधितो कर्जा लिन सजिलो र छिटो भएको छ। यही सहजताले सर्वसाधारणबीच यसको लोकप्रियता चुलिएको बैंकरहरु बताउँछन्।

सुन धितो कर्जा प्रायः उपभोग्य कर्जाका रुपमा प्रयोग हुन्छ। उपचार खर्च, सानो व्यापार पुँजी, घर मर्मत वा पारिवारिक खर्चका लागि हुने गरेको जानकारहरु बताउँछन्।

सुन धितो कर्जा सामान्यतः उपभोग्य कर्जा श्रेणीमा पर्छ। यसले आपत्कालीन आवश्यकतामा तत्काल रकम उपलब्ध गराउँछ। धेरै ग्राहकले उपचार, व्यापार पुँजी वा घरायसी खर्चका लागि छोटो अवधिको सुन धितो ऋण लिने गरेको पाइएको छ।

जानकारहरु सुनधितो कर्जा तत्कालीन नगद प्रवाहको विकल्प भए पनि यसले उत्पादनशील लगानीमा खास योगदान नपुर्याउने बताउँछन्।

यदि सुनको मूल्यमा अचानक गिरावट आयो भने बैंकहरुको धितो मूल्य घट्ने जोखिम समेत बढ्न सक्छ। तर, पछिल्लो समय सुनको मूल्य आकासिँदै गएकाले त्यसमा गरेको लगानीमा नोक्सानी व्यहोर्नुनपर्ने व्यवसायीहरु दाबी गर्छन्।

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २ हजार ९२० रुपैयाँ कायम भएको थियो।

अर्थतन्त्र सुस्त भएको, निजी क्षेत्रको लगानी घटेको र उपभोग्य कर्जासमेत सीमित भएको सन्दर्भमा सुन धितो कर्जाको आकर्षण अझ बढ्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS